विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ ३०, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

न् २०२३ मा संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनलाई मानव सभ्यताको सबैभन्दा ठूलो चुनौती भनेर फेरि सम्झायो । त्यसपछि संसारभरका देशहरू कोइला, पेट्रोलियमजस्ता जीवाश्म इन्धन छोडेर सूर्य, पानी, हावाजस्ता सफा ऊर्जातर्फ दौडिरहेका छन् । भारतले सन् २०७० सम्म नेट जिरो उत्सर्जनको लक्ष्य लिएको छ । बङ्गलादेशले आफ्नो उद्योग धान्न स्वच्छ उर्जाको आयात बढाउने योजना बनाइरहेको छ । विश्व बजारमा हरित ऊर्जाको माग दिनदिनै बढिरहेको छ ।

यस्तो वैश्विक अवसरको घडीमा नेपालसँग एउटा अनमोल उपहार छ– हिमालबाट बग्ने खोला-नदीहरू, अग्ला झरनाहरू, वर्षभरि बग्ने पानी र कम लागतमा विद्युत् उत्पादन गर्ने अद्भुत क्षमता । यो धन हाम्रो भाग्यमा छ तर यसलाई सदुपयोग गर्ने कि बगाउने, त्यो हाम्रो नीति र निर्णयले तय गर्छ ।
सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने सुनौलो सपना देखेको छ । योजना छ- केही विद्युत् स्वदेशमा प्रयोग गर्ने, बाँकी भारत र बङ्गलादेशजस्ता छिमेकी मुलुकमा बेच्ने । यदि यो सपना साकार भयो भने नेपालको अर्थतन्त्र नै फेरिन सक्छ । जलविद्युत् केवल बत्ती बाल्ने माध्यम मात्र रहनेछैन; यो हाम्रो उद्योग, रोजगारी, निर्यात, विदेशी मुद्रा र आर्थिक समृद्धिको मूल आधार बन्न सक्छ ।

यद्यपि, एउटा साधारण तर गम्भीर प्रश्न उठ्छ– के हामी अहिले जसरी हिँडिरहेका छौँ, त्यसरी नै हिँड्दा यो सपना पूरा हुन्छ ?

सरकारले एकातिर उर्जा विकासलाई राष्ट्रिय प्राथमिकता घोषणा गरेको छ भने अर्कोतिर विद्युत् खरिद सम्झौता (पिपिए) मा देखिएको अनिश्चातता, प्रसारण लाइन विकासको सुस्त गति, अनुमति प्रक्रियाको जटिलता तथा विभिन्न निकायबीच समन्वयको अभावले जलविद्युत् क्षेत्रको विकासलाई उल्लेखनिय रुपमा प्रभावित गरिरहेको छ ।

निजी क्षेत्रले अर्बौं रुपैयाँ जोखिममा राखेर सम्भाव्यता अध्ययन गर्छ । वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गर्छ । उत्पादन अनुमति लिन्छ । स्थानीय समुदायसँग सहकार्य गर्छ र वित्तीय व्यवस्थापनको तयारी गर्छ तर अन्तिम चरणमा पुगेर पिपिए अनिश्चित बन्दा वर्षौँको मेहनत र लगानी स्थिर अवस्थामा पुग्छ । पिपिए रोकिँदा आयोजना मात्र होइन, रोजगारी, लगानी र आर्थिक समृद्धिको भविष्य पनि रोकिन्छ ।

जलविद्युत् बाँध र टर्बाइन मात्रै हो ?

नेपालमा अझै पनि धेरैले जलविद्युत् आयोजनालाई एउटा इन्जिनियरिङ परियोजनाका रूपमा मात्र बुझ्ने गरेका छन् । तर वास्तविकता त्योभन्दा धेरै फराकिलो छ । एउटा सानोदेखि मझौला आयोजना (५० देखि २०० मेगावाट) निर्माण हुँदा हजारौं मानिसलाई काम मिल्छ । इन्जिनियर, भूगर्भविद्, वातावरणविद्, लेखापाल, प्रशासनिक कर्मचारी, सर्वेक्षक, अपरेटर, चालक, मिस्त्री, वेल्डर, सुरक्षाकर्मी र स्थानीय श्रमिक- सबैले काम पाउँछन् ।

यससँगै स्थानीय किसानले तरकारी, दूध, मासु, फलफूल तथा अन्य कृषि उत्पादनको बजार पाउँछन् । होटल, रेष्टुरेन्ट, यातायात, हार्डवेयर, निर्माण सामग्री, बैंकिङ सेवा, सञ्चार, स्वास्थ्य तथा शिक्षा क्षेत्र चलायमान हुन्छन् ।

नेपालका धेरै जलविद्युत् आयोजना पुगेका दुर्गम गाउँहरूमा पहिलो पटक मोटर बाटो पुगेको छ । पुल बनेका छन् । स्वास्थ्य चौकी र विद्यालयमा सुधार भएको छ। स्थानीय सरकारको राजस्व बढेको छ । निजी घरको मूल्य बढेको छ । साना व्यवसाय फस्टाएका छन् ।

अर्थात्, जलविद्युत् आयोजना भनेको एउटा स्थानीय आर्थिक प्रणालीको विकास हो । जब एउटा आयोजना नीतिगत कारणले पाँच वर्ष ढिला हुन्छ, त्यस क्षेत्रमा पाँच वर्ष रोजगारी ढिला हुन्छ। पाँच वर्ष स्थानीय व्यापार ढिला हुन्छ । पाँच वर्ष स्थानीय पूर्वाधार ढिला हुन्छ । यसको मूल्य सरकारी प्रतिवेदनमा देखिँदैन तर स्थानीय समुदायले हरेक दिन भोगिरहेको हुन्छ ।

पिपिए अनिश्चितताको जोखिम

कुनै पनि जलविद्युत् आयोजना निर्माणको आधार वित्तीय व्यवस्थापन हो । वित्तीय व्यवस्थापनको आधार पिपिए हो । पिपिए बिना कुनै पनि बैंकले अबौँ रुपैयाँ ऋण लगानी गर्दैन । त्यसैले, पिपिए कुनै प्रशासनिक प्रक्रिया मात्र होइन; यो सम्पूर्ण ऊर्जा अर्थतन्त्रको मेरुदण्ड हो ।

नेपालमा पछिल्ला वर्षहरूमा धेरै आयोजनाले आवश्यक अध्ययन, अनुमतिपत्र र वातावरणीय प्रक्रिया पूरा गरिसके पनि पिपिएको स्पष्ट निर्णय नहुँदा निर्माणमा जान सकेका छैनन् । सार्वजनिक तथ्याङ्क अनुसार हाल पिपिएको पर्खाइमा १६,४२५.७७ मेगावाट क्षमताका आयोजनाहरु छन् । आयोजनाको पिपिए नहुँदा लगानीकर्तालाई मात्र असर गर्दैन । यसले बैंकको ऋण प्रवाह रोक्छ। निर्माण कम्पनीको काम रोक्छ । उपकरण आपूर्तिकर्ताको बजार घटाउँछ । स्थानीय रोजगारी रोक्छ । अन्ततः यसले सरकारको भविष्यको कर, रोयल्टी र विदेशी मुद्रा आर्जनसमेत घटाउँछ । सरकारले पिपिएलाई समस्या होइन, आर्थिक विकासको उत्प्रेरकका रूपमा हेर्न आवश्यक छ । निर्णय नगर्नु कुनै नीति होइन तर अनिर्णय स्वयं सबैभन्दा महँगो नीति हो ।

प्रसारण लाइनबिना उत्पादन अधुरो

नेपालको ऊर्जा क्षेत्रमा अहिले सबैभन्दा ठूलो चुनौती उत्पादन क्षमता होइन, उत्पादनलाई बजारसम्म पुऱ्याउने क्षमता हो । हामीले विगत दुई दशकमा जलविद्युत् उत्पादनमा उल्लेखनीय प्रगति गरेका छौँ । निजी क्षेत्रको लगानी, प्राविधिक क्षमता र बैंकिङ क्षेत्रको सहभागिताले धेरै आयोजना निर्माण भएका छन् तर उत्पादन बढाउने गतिसँगै प्रसारण पूर्वाधार विस्तार हुन नसक्दा ऊर्जा विकासको एउटा महत्वपूर्ण कडी कमजोर बनेको छ ।

विद्युत् उत्पादन गर्ने आयोजना नदीको किनार, पहाडी भूभाग र दुर्गम क्षेत्रमा निर्माण हुन्छन् तर विद्युत् खपत हुने मुख्य बजारहरू काठमाडौं उपत्यका, औद्योगिक क्षेत्र तथा अन्तर्राष्ट्रिय सीमासँग जोडिएका क्षेत्रमा छन् । उत्पादन स्थलबाट बजारसम्म विद्युत् पुऱ्याउन उच्च क्षमताको प्रसारण सञ्जाल आवश्यक हुन्छ ।

प्रसारण लाइन समयमै बनेन भने आयोजना निर्माण सम्पन्न भए पनि विद्युत् बिक्री गर्न सकिँदैन । यसले लगानीकर्ताको आम्दानी प्रभावित गर्छ, बैंकको ऋण जोखिम बढाउँछ र समग्र ऊर्जा प्रणालीको विश्वसनीयता कमजोर बनाउँछ । विद्युत् क्षेत्रमा एउटा साधारण तर महत्वपूर्ण सिद्धान्त छ, उत्पादन क्षमता र प्रसारण क्षमता सँगसँगै विकास भए मात्र ऊर्जा प्रणाली सफल हुन्छ ।

नेपालमा लामो समयदेखि उत्पादन र प्रसारणलाई अलग-अलग योजनाका रूपमा हेरिँदै आएको छ । यसको परिणामस्वरूप कतिपय क्षेत्रमा उत्पादनको सम्भावना भएर पनि प्रसारण पूर्वाधार अभावमा आयोजना अघि बढाउन कठिन भएको छ । अबको नीतिले कति मेगावाट उत्पादन गर्ने ? भन्ने मात्र नभई उत्पादन भएको विद्युत् कसरी, कहाँ र कसलाई बेच्ने ? भन्ने विषयमा पनि व्यवस्था गर्नुपर्दछ । 

प्रसारण लाइनमा निजी क्षेत्र

नेपालको जलविद्युत् क्षेत्रको ठूलो उपलब्धि भनेको निजी क्षेत्रको प्रवेश हो । जब सरकारले मात्र आयोजना बनाउने पुरानो प्रणालीबाट बाहिर निस्केर निजी क्षेत्रलाई बोलायो, तब मात्र ऊर्जा क्षेत्रमा क्रान्तिकारी परिवर्तन आयो । आज निजी क्षेत्रसँग आयोजना बनाउने मात्र होइन, प्रसारण लाइन बनाउने वित्तीय र प्राविधिक क्षमता पनि छ तर प्रसारण लाइन निर्माण अझै पनि सरकारी निकायको चक्करमा अल्झिएको छ । अनुमति, जग्गा प्राप्ति, वनको स्वीकृति र विभिन्न प्रशासनिक प्रक्रियाले समय लिन्छ । यदि सरकारले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा स्पष्ट कानुनी आधार, नीतिगत सुनिश्चितता र सहजीकरण गरिदियो भने ऊर्जा क्षेत्रले नयाँ गति पाउँछ ।

सम्झौँ, तत्कालीन ऊर्जा मन्त्री शैलजा आचार्यले निजी क्षेत्रलाई जलविद्युत् विकासमा सहभागी गराउने ऐतिहासिक नीति ल्याउनुभयो, जसले ऊर्जा क्षेत्रमा युगान्तकारी परिवर्तन ल्यायो । आज पनि उहाँलाई त्यसैका लागि सम्मानका साथ सम्झिइन्छ । वर्तमान सरकारले निजी क्षेत्रलाई प्रसारण लाइनको विकास, निर्माण र सञ्चालनमा अर्थपर्ण सहभागी गराउने नीति अघि बढायो भने त्यो पनि अर्को ऐतिहासिक उपलब्धि हुनेछ । प्रसारण पूर्वाधार छिटो बन्ने, लगानी आउने, आयोजनाको विद्युत् समयमा बजार पुग्ने र अर्थतन्त्रलाई फाइदा पुग्नेछ ।

२८,५०० मेगावाटको परीक्षा

सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य केवल ऊर्जा क्षेत्रको लक्ष्य होइन; यो नेपालको आर्थिक रूपान्तरणको लक्ष्य हो । यस लक्ष्यमा ठूलो हिस्सा निर्यातमुखी रहेको छ । यसको अर्थ नेपालले आफ्नो जलविद्युत् उत्पादनलाई क्षेत्रीय ऊर्जा बजारसँग जोड्नुपर्ने हुन्छ तर लक्ष्य लिनु र हासिल गर्नुबीच ठूलो अन्तर हुन्छ । २८,५०० मेगावाट उत्पादन गर्न ठूलो मात्रामा लगानी आवश्यक हुन्छ । प्रसारण सञ्जाल विस्तार गर्नुपर्छ । बजार सुनिश्चित गर्नुपर्छ । पिपिए प्रणालीलाई पूर्वानुमानयोग्य बनाउनुपर्छ । अनुमति प्रक्रिया छिटो र पारदर्शी बनाउनुपर्छ ।

आज एउटा आयोजना पिपिए, प्रसारण लाइन वा अनुमति प्रक्रियामा वर्षौँ अल्झिन्छ भने भविष्यको ठूलो लक्ष्य स्वतः प्रभावित हुन्छ । राष्ट्रिय लक्ष्यहरू केवल भाषणबाट पूरा हुँदैनन् । त्यसका लागि दैनिक प्रशासनिक निर्णयमा गति, स्पष्टता र जवाफदेहिता आवश्यक हुन्छ ।

ऊर्जा निर्यातको अवसर

नेपाल लामो समयदेखि व्यापार घाटा, विदेशी मुद्राको चाप र आयातमा निर्भर अर्थतन्त्रले सताइरहेको छ । जलविद्युत् निर्यातले यस अवस्थामा ठूलो फेरबदल ल्याउन सक्छ । ऊर्जा निर्यातको अर्थ केवल पैसा कमाउनु मात्र होइन- यसले विदेशी मुद्रा आर्जन बढाउँछ, व्यापार घाटा घटाउँछ । औद्योगिक लगानी आकर्षित गर्छ र क्षेत्रीय सम्बन्ध बलियो बनाउँछ । नेपालले भारतसँग दीर्घकालीन ऊर्जा व्यापार विस्तार गर्दैछ । भारतको ठूलो ऊर्जा माग र सफा ऊर्जाप्रतिको प्रतिबद्धता हाम्रो लागि ठूलो अवसर हो । त्यस्तै, नेपाल-भारत-बङ्गलादेशबीचको विद्युत् व्यापारले हाम्रो जलविद्युत्‌लाई दक्षिण एशियाली बजारसँग जोड्ने सम्भावना छ । तर बजारको ढोका आफैं खुल्दैन । त्यहाँ पुग्न हामीलाई प्रतिस्पर्धी लागत, भरपर्दो उत्पादन, प्रसारण पूर्वाधार र दीर्घकालीन सम्झौताहरू चाहिन्छ । नेपालले समयमा आयोजना नबनाए भने अरू देशहरूले हाम्रो ठाउँ लिनेछन् । प्राकृतिक स्रोत हुनु मात्र पर्याप्त होइन- त्यसलाई पैसामा बदल्ने क्षमता चाहिन्छ ।

भारत र चीनसँग साझेदारी

नेपालको जलविद्युत् विकासको सफलता हाम्रा दुई ठूला छिमेकी भारत र चीन, सँगको सम्बन्धमा पनि निर्भर छ। भारत हाम्रो सबैभन्दा ठूलो सम्भावित विद्युत् बजार हो र चीन प्रविधि, लगानी र पूर्वाधार निर्माणको महत्वपूर्ण साझेदार हो। हामीले यी दुई देशसँग आपसी हित, पारदर्शिता र दीर्घकालीन दृष्टिकोणका आधारमा ऊर्जा सम्बन्ध बनाउनुपर्छ ।

यसका लागि हामीले पहिले आफ्नो घरमा नियम सफा बनाउनुपर्छ । छिमेकीसँगको सम्बन्धलाई ऊर्जा सुरक्षा र साझेदारीका रूपमा हेर्नुपर्छ, एकपक्षीय निर्भरताका रूपमा होइन। हामीले ऊर्जा कूटनीतिलाई हाम्रो परराष्ट्र नीतिको मूल स्तम्भ बनाउनुपर्छ जसले विश्वासको वातावरण बनाउन, लगानी आकर्षित गर्न र दीर्घकालीन समृद्धि हासिल गर्न मद्दत गर्छ ।

विश्व उदाहरण

भुटान- सानो देश, ठूलो सोचः भुटानले जलविद्युत्‌लाई आफ्नो आर्थिक रणनीतिको केन्द्रमा राख्यो । भारतसँगको सहकार्यमा ऊर्जा विकास गरेर उसले विदेशी मुद्रा र आर्थिक स्थायित्वको आधार बनायो । नेपालसँग भुटानभन्दा धेरै ठूलो सम्भावना छ, तर हामीलाई कार्यान्वयन क्षमता चाहिन्छ ।

नर्वे- प्राकृतिक स्रोतलाई समृद्धिमा बदल्ने उदाहरणः नर्वेसँग तेल र ग्यास थियो तर उसले त्यसबाट आएको आम्दानीलाई दीर्घकालीन जनकल्याण र आर्थिक स्थायित्वमा जोड्यो । हामीले पनि जलस्रोतलाई राष्ट्रिय सम्पत्तिका रूपमा व्यवस्थापन गर्नुपर्छ ।

भियतनाम– ऊर्जा र उद्योगको सम्बन्धः भियतनामले ऊर्जा विकासलाई औद्योगिक विकाससँग जोड्यो । सस्तो र भरपर्दो ऊर्जाले उद्योग, वैदेशिक लगानी र रोजगारी विस्तार गर्‍यो । हामीले पनि जलविद्युत्‌लाई केवल निर्यातको माध्यम मात्र होइन, स्वदेशी उद्योगको आधार बनाउनुपर्छ ।

सहजकर्ताका रुपमा सरकार

जलविद्युत् क्षेत्रमा सरकारको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। र त्यो भूमिका आयोजना आफैँ बनाउने वा निजी क्षेत्रलाई नियन्त्रण गर्ने मात्र हुनु हुँदैन । सरकारको मुख्य काम हुनुपर्छः स्पष्ट नीति बनाउने, समयमै निर्णय गर्ने, लगानी सुरक्षित गर्ने वातावरण बनाउने, निष्पक्ष नियमन गर्ने र बजारको सुनिश्चितता गर्ने ।

निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन, विकास साझेदार हो । निजी क्षेत्रले आफ्नो पूँजी, अनुभव र जोखिम लिएर योगदान गरिरहेको छ । अब सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बढाउन जरुरी छ ।

निर्णय गर्ने समय

नेपालसँग जलस्रोत छ । नेपालसँग दक्ष जनशक्ति छ । नेपालसँग लगानी गर्न उत्सुक निजी क्षेत्र छ । नेपालसँग विद्युत् किन्न चाहने छिमेकी बजार छ तर यी सबै अवसरलाई वास्तविक समृद्धिमा बदल्न एउटा कुरा आवश्यक छ- समयमै र सही निर्णय गर्ने राजनीतिक इच्छाशक्ति ।

पिपिए ढिला हुँदा एउटा आयोजना मात्र रोकिँदैन; हजारौँको रोजगारी रोकिन्छ । प्रसारण लाइन ढिला हुँदा एउटा तारको जालो बुनाइमा मात्र ढिलो हुँदैन; देशको विकासको गति ढिलो हुन्छ । लगानीकर्ताको विश्वास कमजोर हुँदा एउटा कम्पनी मात्र प्रभावित हुँदैन; सम्पूर्ण लगानी वातावरण प्रभावित हुन्छ ।
नेपालले विगतमा धेरै अवसर गुमाइसक्यो । अब जलविद्युत्‌को यो अवसर गुमाउने विलासिता हामीसँग छैन । विश्व सफा ऊर्जातर्फ दौडिरहेको छ । क्षेत्रीय बजार विस्तार भइरहेको छ । नेपालसँग इतिहासमै पहिलो पटक आफ्नो पानीलाई पैसामा बदल्ने वास्तविक मौका आएको छ ।

अब ठूलो भाषण होइन, आवश्यकता होः छिटो निर्णयको, स्पष्ट नीतिको, जिम्मेवार कार्यान्वयनको, सरकार र निजी क्षेत्रबीच विश्वासपूर्ण सहकार्यको र छिमेकी मुलुकहरूसँग बलियो ऊर्जा साझेदारीको ।

अबको बाटो

नेपालको जलविद्युत् क्षेत्र अहिले सम्भावना र चुनौतीको दोबाटोमा उभिएको छ । एकातिर विशाल जलस्रोत, बढ्दो क्षेत्रीय ऊर्जा माग र निजी क्षेत्रको अनुभव छ भने अर्कोतिर नीतिगत अनिश्चितता, प्रशासनिक ढिलाइ र पूर्वाधार विकासको असन्तुलन छ । नेपाल सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य साकार गर्न निम्न नीतिगत सुधारलाई प्राथमिकतामा राख्नुपर्छ ।

१. आयोजनाको पिपिए गरौँ: पिपिए लाई वार्षिक टालटुलको विषय होइन, दीर्घकालीन योजनाका रूपमा विकास गरौँ । उत्पादन धेरै भयो भने आयोजना रोक्ने होइन, निजी क्षेत्रलाई व्यापारमा सहभागी गराऊ, छिमेकी देशमा बेच, स्वदेशी उद्योग बढाऊ ।
२. प्रसारण लाइनमा निजी क्षेत्रलाई साझेदार बनाऔँ: निजी क्षेत्रलाई प्रसारण लाइन बनाउन दिऔँ, उनीहरूको अनुभव र पूँजी सदुपयोग गरौं, सरकारको बोझ घटाऔँ।
३. निजी क्षेत्रलाई साझेदार ठानौँ अनुमति माग्ने होइन, नीति निर्माणको साझेदार बनाऔँ । उनीहरूको लगानी सुरक्षित छ भन्ने विश्वास दिऔँ ।
४. अनुमति प्रक्रियामा एकद्वार प्रणाली बनाऔँ: सबै स्वीकृति एउटै झ्यालबाट दिऔँ । समयसीमा तोकौँ, जिम्मेवारी स्पष्ट पारौँ । लगानीकर्ताले फाइल बोकेर दौडनु नपरोस् ।
५. जलविद्युत्‌लाई रोजगारीसँग जोडौँ । प्रत्येक आयोजनासँग स्थानीय युवालाई सीप र रोजगारी दिने कार्यक्रम राखौँ ।
६. ऊर्जा निर्यातलाई राष्ट्रिय आर्थिक रणनीतिसँग जोडौँ भारत, बङ्गलादेशसँग दीर्घकालीन सम्झौता गरौँ, सीमापार प्रसारण लाइन बनाऔँ, निर्यातमुखी आयोजनालाई प्रोत्साहन दिऔँ, निजि क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराऔँ ।
७. स्वदेशमै उद्योग बढाऔंः विद्युत्ले उद्योग, विद्युतीय सवारी, आधुनिक कृषि र डिजिटल क्षेत्रलाई गति दिऔँ । विद्युत् निर्यात र स्वदेशी खपत दुवैलाई महत्त्व दिऔँ ।
८. छिमेकीसँग ऊर्जा साझेदारी बलियो बनाऔँ भारत र चीनसँग ऊर्जा व्यापार, प्रविधि हस्तान्तरण र संयुक्त पूर्वाधार विकासका सम्झौता गरौँ । हाम्रो जलसम्पत्ति क्षेत्रीय सहकार्यको आधार बनाऔँ ।
९. नीति स्थिर राखौँ । ५० वर्षको लगानी भएको क्षेत्रमा सरकार फेरिएर नीति फेर्ने प्रवृत्ति हटाऔँ । नियम स्थिर छ भन्ने विश्वास लगानीकर्तालाई दिऔँ । विद्युत् ऐन २०४९ मा भएको व्यवस्था अनुरुप विद्युत् उत्पादन अनुमतिपत्रको म्याद ५० वर्ष कायम रहने नीति बनाऔँ ।
१०. स्थानीय समुदायलाई साझेदार बनाऔँ । आयोजनाको फाइदा स्थानीय मानिसलाई पुग्ने वातावरण बनाऔँ । उनीहरू अवरोध होइन, आयोजनाका मालिक हुन् भन्ने बोध गराऔँ ।
११. ऊर्जा क्षेत्रका निर्णयलाई राष्ट्रिय आर्थिक एजेन्डा बनाऔँ । जलविद्युत् केवल ऊर्जा मन्त्रालयको विषय होइन- यो अर्थतन्त्र, रोजगारी, कूटनीति र राष्ट्रिय सुरक्षाको विषय हो । प्रधानमन्त्रीको तहबाट यसलाई राष्ट्रिय अभियान बनाऔँ ।

निष्कर्ष 

नेपालसँग पानी छ । जनशक्ति छ । लगानी गर्ने मानिस छन् । विद्युत् किन्ने बजार छ तर यी सबैलाई समृद्धिमा बदल्ने समयमै निर्णय गर्ने क्षमता मात्र हामीमा छ कि छैन, प्रश्न यही हो । आज पिपिए ढिलो हुँदा रोजगारी रोकिन्छ । प्रसारण लाइन ढिलो हुँदा विकासको गति सुस्त हुन्छ । लगानीकर्ताको विश्वास गुम्दा सम्पूर्ण अर्थतन्त्र मारमा पर्छ ।

नेपालले विगतमा धेरै अवसर गुमाएको छ। अब यो अवसर गुमाउने हामी सक्दैनौँ । विश्व सफा ऊर्जातर्फ दौडिरहेको छ, छिमेकी बजार खुलिरहेको छ र हामीसँग पानीको खजाना छ । अब आवश्यक छ- ठोस निर्णय, स्पष्ट नीति, जिम्मेवार कार्यान्वयन र सरकार-निजी क्षेत्र-छिमेकीबीच विश्वासपूर्ण सहकार्यको अभियान ।

जलविद्युत् विकास मेगावाटको खेल मात्र होइन यो युवालाई काम दिने अभियान हो, गाउँलाई समृद्ध बनाउने अभियान हो, विदेशी मुद्रा कमाउने अभियान हो र नेपालको आर्थिक स्वतन्त्रताको अभियान हो । अब सरकारले निर्णय गर्नुपर्छ नेपाल पानीको सम्भावनालाई समृद्धिमा बदल्ने राष्ट्र बन्ने कि नीतिगत ढिलाइले अवसर गुमाउने राष्ट्र बन्ने ? समयले जवाफ पर्खिरहेको छ ।

लेखक ऊर्जा उद्यमी हुन् । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३