काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत्गृहबाट हुने जलवायु प्रदूषण नियन्त्रणसम्बन्धी सीमा हटाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार सोमबार यस्तो घोषणा हुने अपेक्षा गरिएको छ ।
यो परिवर्तनले पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले सन् २०२४ मा लागु गरेका नियमलाई उल्ट्याउनेछ । उक्त नियमले कोइला र ग्यासबाट चल्ने विद्युत्गृहलाई कार्बन उत्सर्जन लगभग पूर्णरूपमा हटाउनुपर्ने व्यवस्था गरेको थियो ।
अमेरिकी वातावरण संरक्षण एजेन्सी (इपिए) का प्रशासक ली जेल्डिनले ह्युस्टनमा हुने जी–२० ऊर्जा मन्त्रीस्तरीय बैठकका क्रममा नयाँ व्यवस्था घोषणा गर्ने अपेक्षा गरिएको छ । ब्लुमबर्ग न्युज र न्युयोर्क टाइम्सले आइतबार यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन् । यसै वर्ष इपिएले सन् २००९ मा गरिएको ‘एन्डेन्जरमेन्ट फाइन्डिङ’ अर्थात् हरितगृह ग्यासले जनस्वास्थ्य तथा जनकल्याणमा खतरा पुर्याउँछ भन्ने वैज्ञानिक निष्कर्षसमेत खारेज गरेको थियो ।
नयाँ व्यवस्थाअन्तर्गत विद्युत् गृहहरूले पारा, आर्सेनिकलगायत अन्य प्रदूषकसम्बन्धी केही मापदण्ड भने पालना गर्नुपर्नेछ । कोइला सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने इन्धन हो, जसले जलवायु परिवर्तनमा ठूलो योगदान पुर्याउँछ ।
ट्रम्पले मानव गतिविधिका कारण हुने जलवायु परिवर्तनलाई पटक–पटक ‘ठगी’ को संज्ञा दिँदै आएका छन् । उनी पुनः राष्ट्रपति बनेपछि जीवाश्म इन्धनको प्रयोग सीमित गर्ने थुप्रै वातावरणीय नियम हटाउने वा खुकुलो बनाउने दिशामा अघि बढेका छन् ।
कोइला र ग्यासबाट चल्ने विद्युत्गृहको कार्बन उत्सर्जनसम्बन्धी मापदण्ड खारेज गर्ने कदम ट्रम्प प्रशासनले औद्योगिक विकास र ऊर्जा उत्पादन विस्तारमा अनावश्यक अवरोध ठानेका वातावरणीय नियम हटाउने व्यापक रणनीतिको महत्त्वपूर्ण हिस्सा मानिएको छ ।
बाइडेन प्रशासनले ल्याएको विद्युत् गृहसम्बन्धी कार्बन उत्सर्जन नियमले सन् २०४७ सम्ममा करिब १ अर्ब मेट्रिक टन हरितगृह ग्यास उत्सर्जन घटाउने लक्ष्य राखेको थियो । जलवायु परिवर्तनविरुद्ध बाइडेन प्रशासनको प्रयासमा यो नियमलाई महत्त्वपूर्ण मानिएको थियो । अमेरिकाको कुल हरितगृह ग्यास प्रदूषणमा विद्युत् क्षेत्रको योगदान करिब एक चौथाइ रहेको छ ।