काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढी सामान्य वर्षाजन्य बाढी नभएको सरकारी अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको हो ।
केन्द्रले तयार गरेको ‘एसेस्मेन्ट रिपोर्ट २– रसुवा-भोटेकोसी फ्लड इभेन्ट, २०२६ (२०८३)’ ले बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा भएको हिम–चट्टानयुक्त पहिरो, त्यसले नदीमा बनाएको अस्थायी बाँध र पानी तथा गेग्रानको विस्फोटक बहाव भएको निष्कर्ष निकालेको छ । घटना ल्हेन्दे खोला–भोटेकोसी–त्रिशूली–नारायणी नदी प्रणालीमा फैलिएको थियो ।
नेपाल-चीन सीमाभन्दा करिब २२ किलोमिटर माथिल्लो क्षेत्रबाट सुरु भएको बाढी रसुवागढी, स्याफ्रुबेँसी, रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै देवघाट पुगेको थियो । बिहान ८:३७ बजे ५.२ म्याग्निच्युडको भूकम्पीय संकेत रेकर्ड भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रारम्भिक रूपमा यसलाई ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा रिपोर्ट गरिएको थियो तर थप विश्लेषणपछि अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उक्त सङ्केत हिमपहिरो तथा गेग्रान बहाबसँग सम्बन्धित भएको जनाएको थियो ।
घटनाको करिब तीन घण्टापछि अर्को ४.२ म्याग्निच्युडको भूकम्पीय संकेत समेत रेकर्ड भएको थियो उल्लेख छ । त्यस्तो सङ्केत दोहोरिएको नदेखिएकाले ठिक स्थान निर्धारण गर्न नसकिएको र प्रारम्भिक पहिरोकै स्थानसँग सम्बन्धित मानेर अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
स्याटेलाइट तस्बिरको अध्ययनले लाङटाङ–लिरुङ हिमालको उत्तरी भागमा करिब ५ हजार २०० मिटर उचाइमा झुण्डिएको हिमनदी भत्किएको देखाएको छ । त्यहाँबाट खसेको विशाल हिम–चट्टानको पिण्ड करिब ३ हजार ८०० मिटर उचाइमा रहेको गेग्रानले ढाकिएको हिमनदीमा बजारिएको थियो । त्यसपछि पानी, हिउँ, चट्टान र गेग्रान मिसिएर छ्वोचेन खोलामा बाढी बनेको र ल्हेन्दे खोला हुँदै नेपालतर्फ भोटेकोसीमा प्रवेश गरेको थियो ।
स्याटेलाइट विश्लेषणअनुसार करिब २ वर्ग किलोमिटर हिमनदी तथा चट्टानी भाग छुट्टिएको देखिएको छ । स्रोत क्षेत्र ४ हजारदेखि ५ हजार ६ सय मिटर उचाइबीचको अत्यन्तै भिरालो क्षेत्रमा रहेको र हिम–चट्टान करिब १ हजार २०० देखि २ हजार मिटर तल खस्दा ठूलो गतिको ऊर्जा उत्पन्न भएको अध्ययनले देखाएको छ ।
बाढी आउनुअघि वर्षा असामान्यरूपमा ठूलो भएको थिएन । १० गते बिहान ८:४५ बजेसम्मको ६ घण्टे स्याटेलाइट वर्षा अनुमानमा प्रभावित क्षेत्र वा आसपासमा १० मिलिमिटरभन्दा कम वर्षा रेकर्ड गरिएको थियो ।
क्यान्जिङ स्टेसनको तथ्यांकअनुसार बाढीको अघिल्लो २४ घण्टामा २७ मिलिमिटर वर्षा भएको थियो, जसमध्ये घटनाको दिन १२.६ मिलिमिटर परेको थियो । बाढी सुरु हुनुअघि ६ घण्टामा जम्मा १.५ मिलिमिटर वर्षा भएको र अधिकतम १० मिनेटको वर्षा तीव्रता ०.१४ मिलिमिटर मात्र थियो ।
भदौ ४ गतेदेखि १४ गतेसम्मको अवधिमा सबैभन्दा बढी १० मिनेटको वर्षा तीव्रता १.८३ मिलिमिटर थियो, जुन ६ गते परेको थियो । त्यसैले उक्त वर्षाले १० गतेको ठूलो बाढी निम्त्याएको आधार नभेटिएको अध्ययनमा उल्लेख छ ।
यद्यपि, लाङटाङस्थित क्यान्जिङ स्नो स्टेसनमा औसत दैनिक तापक्रम बढिरहेको देखिएको थियो । भदौ ८ गते अधिकतम औसत दैनिक तापक्रम ११.७८ डिग्री सेल्सियस पुगेको थियो । सामान्य वर्षा बाढीको मुख्य कारण नभए पनि पहिले नै अस्थिर हिम–चट्टानको पिण्डको सतह पग्लिने, पानी छिर्ने वा चिप्लोपन बढ्ने प्रक्रियाले प्रभाव पारेको हुन सक्ने बारे थप अध्ययन आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ ।
७ मिनेटमै २२ किलोमिटर
भोटेकोसी बाढीको सबैभन्दा असाधारण पक्ष यसको गति थियो । उत्पत्ति अर्थात् स्रोत क्षेत्रबाट नेपाल–चीन सीमास्थित रसुवागढीसम्मको करिब २२ किलोमिटर दूरी बाढीले झण्डै ७ मिनेटमा पार गरेको थियो । यसको औसत गति करिब १८८ किलोमिटर प्रतिघण्टा अनुमान गरिएको छ ।
सीमाबाट स्याफ्रुबेँसीसम्म १३.८ किलोमिटर दूरी करिब १० मिनेटमा र स्याफ्रुबेँसीदेखि बेत्रावतीसम्मको ३२.२ किलोमिटर दूरी करिब ३० मिनेटमा पार भएको थियो । यस्तै, बेत्रावतीदेखि मलेखुसम्मको करिब ५३.३ किलोमिटर दूरी पार गर्न करिब १ घण्टा ५० मिनेट लागेको थियो भने मलेखुदेखि मुग्लिनको करिब ४६.४ किलोमिटर दूरी दुई घण्टामा पार भएको थियो । मुग्लिनदेखि देवघाटसम्मको करिब ३३.३ किलोमिटर दूरी बाढीले करिब १ घण्टा १५ मिनेटमा पार गरेको थियो ।
नेपाल–चीन सीमाबाट देवघाटसम्मको कुल दूरी करिब २०१ किलोमिटर र यात्रा समय करिब ६ घण्टा ४२ मिनेट रहेको अध्ययनमा उल्लेख छ । समग्र औसत गति करिब ३० किलोमिटर प्रतिघण्टा थियो देखिएको छ ।
घटनाको चेतावनी
बाढीको वास्तविक समय घटनाक्रमले पनि यसको तीव्रता देखाउँछ । बिहान ८:३७ बजे भूकम्पीय संकेत रेकर्ड भयो । ८:५० बजे स्याफ्रुबेँसी स्टेसनले तथ्यांक पठाउन बन्द गर्यो । त्यसबेला अन्तिम जलस्तर १.६२ मिटर थियो, जबकि चेतावनी तह ६ र जोखिम तह ७ मिटर थियो ।
९ बजे चीनतर्फबाट ठूलो बाढी भोटेकोसीमा प्रवेश गरेको सूचना प्राप्त भयो । ९:०५ बजे बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रमा सूचना पुग्यो र ९:१५ बजे रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनमा प्रारम्भिक चेतावनी जारी गरियो ।
त्यसपछि १०:२८ बजे गल्छी, ११:२६ बजे फुर्के खोला/मलेखु, ११:४३ बजे त्यहाँको जोखिम तह पार, ११:५० बजे मलेखु बजार र दिउँसो १ बजे मुग्लिन हुँदै बाढी अघि बढेको अध्ययनले किटान गरेको छ । यस्तै, दिउँसो २:१४ बजे कालीखोला स्टेसनमा जलस्तर १२.१ मिटरको जोखिम तह पार गर्दै १२.३ मिटर पुग्यो । ३:२० बजे देवघाट क्षेत्रमा बाढीको लहर पुग्यो र ४ बजे ६.५७ मिटरको उच्चतम जलस्तर रेकर्ड गरिएको थियो । साँझ ६:३० बजे देवघाटको बहाव सामान्य भएको थियो ।
देवघाटमा बाढी आउनुअघि पानीको सामान्य सतह करिब ३.५–४ मिटर थियो । दिउँसो १:२० बजे प्रारम्भिक बाढी पुग्दा जलस्तर ४.७६ मिटर थियो । ४ बजे अधिकतम जलस्तर ६.५७ मिटर पुग्यो । जलमापनको रेटिङ कर्भका आधारमा अधिकतम बहाव करिब ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड अनुमान गरिएको थियो ।
६ लाख ७८ हजार एसएमएस
बाढीको सूचना प्राप्त भएपछि सिएचडब्लुआरआरको बाढी पूर्वानुमान महाशाखाले तत्काल आपत्कालीन चेतावनी प्रणाली सक्रिय गरेको थियो । नेपाल टेलिकम र एनसेलमार्फत ९:०५ देखि ९:१४ बजेसम्म ६ लाख ७८ हजार २९५ एसएमएस पठाइएको थियो । सञ्चारमाध्यम, सामाजिक सञ्जाल, एसएमएस, टेलिफोन र प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायसँगको समन्वयमार्फत तल्लो तटीय क्षेत्रलाई निरन्तर जानकारी दिइएको थियो ।
बाढीको मुख्य अवधिमा देवघाटबाट करिब ५ करोड ७४ लाख घनमिटर पानी बगेको र सामान्य बहावभन्दा अतिरिक्त पानीको मात्रा करिब १ करोड ९९ लाख ६० हजार घनमिटर, अर्थात् झण्डै २ करोड घनमिटर रहेको अध्ययनले देखाएको छ ।
बाढीले पूर्वसूचनाका लागि महत्त्वपूर्ण जलमापन पूर्वाधारसमेत ध्वस्त पारेको छ । रसुवागढी भोटेकोसी स्टेसनमा ८:४० बजे तथ्यांक रोकिँदा अन्तिम जलस्तर ३.८ मिटर थियो । त्यसपछि स्टेसन बग्यो । स्याफ्रुबेँसी स्टेसन ८:५० बजे १.६२ मिटरको जलस्तरमा बन्द भयो र त्यो पनि बाढीले बगायो । बेत्रावती स्टेसन ९:२० बजे ३.५५ मिटरको जलस्तरपछि सम्पर्कविहीन भयो । मलेखुको फुर्के स्टेसनले १०.४८ मिटर जलस्तर रेकर्ड गरेपछि स्टेसन र पुल नै बाढीले बगायो । लाङटाङ खोला र मलेखु खोलाका स्टेसनसमेत क्षतिग्रस्त भएका छन् ।
पुनः जोखिम
हिमपहिरोपछि माथिल्लो ल्हेन्दे क्षेत्रमा दुईवटा प्राकृतिक अवरोध ताल बनेका थिए । ल्हेन्दे र छ्वोचेन खोलाको संगमभन्दा करिब ३०० मिटर तल बनेको पहिलो तालको सतह क्षेत्रफल करिब १ लाख ६० हजार वर्गमिटर थियो । अगस्ट २८ देखि यसबाट प्राकृतिक रूपमा पानी बग्न थालेपछि यसको जोखिम क्रमशः घटेको छ ।
हिमपहिरो भएको क्षेत्रभन्दा तल बनेको दोस्रो तालको क्षेत्रफल करिब १ लाख ८० हजार वर्गमिटर थियो । यो ताल अगस्ट २९ मा ओभरफ्लो हुँदा भोटेकोसी–त्रिशूलीको तल्लो क्षेत्रमा पानीको सतह उल्लेख्य रूपमा बढेको थियो । प्राकृतिक अवरोध पुनः भत्किएमा थप बाढी आउन सक्ने जोखिम प्रतिवेदनले औँल्याएको छ ।
हिमाली भूगोल
अध्ययन क्षेत्र सक्रिय हिमाली भूगोलमा पर्छ । यहाँ ग्नाइस, सिस्ट, क्वार्टजाइट, ग्रानाइटोइड र ल्युकोग्रानाइटजस्ता चट्टान पाइन्छन्, जुन अत्यधिक चिरिएका र संरचनात्मकरूपमा कमजोर रहेको अध्ययनले औँल्याएको छन् । स्रोत क्षेत्र ४ हजारदेखि ५ हजार ६ सय मिटर उचाइबीचको अत्यन्तै भिरालो भूभागमा छ । लाङटाङ लिरुङ र त्साङ्बु रिको बीचमा रहेको ढलानबाट हिम–चट्टानको ठूलो पिण्ड खसेर करिब १ हजार २०० देखि २ हजार मिटर तल झरेको थियो ।
रसुवाको पहिरो जोखिम नक्साले समेत स्रोत क्षेत्रलाई उच्चदेखि अति उच्च पहिरो जोखिम क्षेत्रका रूपमा देखाएको छ । बाढीपछि नेपालमा पहिलोपटक नदीको प्रत्यक्ष दृश्य निगरानीका लागि सिसिटिभीमा आधारित वास्तविक समय निगरानी प्रणाली सुरु गरिएको छ ।
रसुवागढी सीमाक्षेत्रनजिकै टिमुरेमा नदीको सतहभन्दा करिब ७० मिटर माथि सिसिटिभी क्यामेरा जडान गरिएको छ । यसको प्रत्यक्ष दृश्य २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवासँग जोडिएको छ । यसबाट नदीको बहावमा अचानक आएको परिवर्तन, ठूला ढुंगा वा गेग्रान बग्न थालेको अवस्था, नदीमा अवरोध बनेको अवस्था तथा असामान्य पानीको सतह तत्कालै दृश्य रूपमा पहिचान गर्न सकिनेछ ।
सिसिटिभीले विद्यमान जलमापन तथा टेलिमेट्री प्रणालीलाई विस्थापित गर्ने होइन, जलस्तर, वर्षा, टेलिमेट्री, स्याटेलाइट र राडार तथ्यांकलाई प्रत्यक्ष दृश्य सूचनासँग जोडेर पूर्वसूचना प्रणाली बलियो बनाउने उद्देश्य राखेको छ ।
पूर्वानुमान शैली बदलिनुपर्ने
भोटेकोसी घटनाले हिमाली क्षेत्रमा अचानक आउने बाढीका लागि वर्षा मापनमा मात्र निर्भर पूर्वानुमान प्रणाली पर्याप्त नहुने देखाएको छ । प्रतिवेदनले स्वचालित जलमापन केन्द्रको आधुनिकीकरण, वास्तविक समय टेलिमेट्री, सिसिटिभी, स्याटेलाइट, राडार, जलविज्ञान तथा मौसमसम्बन्धी तथ्यांक र पूर्वानुमान मोडेललाई एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, पर्माफ्रोस्ट जमिन पग्लिने र पहाडी ढलान अस्थिर हुने प्रक्रियाले यस्ता जोखिम बढाउन सक्ने सम्भावनाबारे समेत विस्तृत अध्ययन आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । भोटेकोसी बाढीले एउटा महत्वपूर्ण पाठ दिएको छ—बाढी आउनुअघि पानी मात्रै बढ्दैन, हिमाल पनि चल्न सक्छ । त्यसैले नेपालका हिमाली नदीका लागि अब वर्षा, जलस्तर र मौसमको तथ्यांकसँगै हिमनदी, पहिरो, नदी अवरोध र प्रत्यक्ष दृश्य निगरानीलाई एउटै पूर्वसूचना प्रणालीमा जोड्नु अपरिहार्य देखिएको छ ।