काठमाडौँ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा गरेको मुनाफाबाट सेयरधनीहरूलाई १६.३५८ प्रतिशत नगद अर्थात् करिब २७ करोड रुपैयाँ लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको शनिबार सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
कम्पनीका अनुसार चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँको आधारमा कूल २६ करोड ९२ लाख १० हजार ७ सय रुपैयाँ बराबरको नगद लाभांश अनुमोदन भएको छ । सो लाभांश रकम आगामी असोजको पहिलो साताबाट वितरण गरिने कम्पनीका अध्यक्ष राजेश खड्काले जानकारी दिए ।
कम्पनीद्वारा प्रवर्द्धित २१.९३ मेगावाटको काबेली-३ क्यास्केड जलविद्युत आयोजनाले २०८२ साल भदौ ८ गतेदेखि व्यावसायिकरूपमा विद्युत उत्पादन सुरु गरेको थियो । ताप्लेजुङ जिल्लाको सिरीजङ्घा गाउँपालिका-५, पेदाङस्थित काबेली खोलामा निर्मित यो 'रन अफ द रिभर' आयोजनापछि थप लगानी विस्तार गर्न साधारण सेयर निष्काशनको प्रक्रिया समेत अगाडि बढाइएको कम्पनीका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले बताए ।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि ४१ करोड २५ लाख रुपैयाँ बराबरको ४१ लाख २५ हजार कित्ता सेयर (IPO) निष्कासन गरिने छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको जनाइएको छ ।
आयोजना सञ्चालनमा आएको १० महिना २४ दिनमा कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग भएको सम्झौता ऊर्जाको ९३.२९ प्रतिशत उत्पादन गर्न सफल भएको छ । प्राधिकरणसँगको वार्षिक १३.५८ करोड युनिट सम्झौतामध्ये यस अवधिमा ११.११ करोड युनिट (८१.८० प्रतिशत) उत्पादन भएको छ ।
प्राधिकरणको अमरपुर सबस्टेशन (१३२ केभी) मा ओभरलोडका कारण प्रसारण असुविधा हुँदा पूर्ण क्षमतामा विद्युत प्रवाह गर्न केही बाधा पुगेको जनाइएको छ । गत असारसम्म कम्पनीको जगेडा कोषमा ५४ करोड ४७ लाख ५२ हजार ६८९ रुपैयाँ रहेको छ ।
काबेली-३ क्यास्केडको सफलतापछि कम्पनीले ९.८५ मेगावाट क्षमताको काबेली-३ जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाएको छ । यस आयोजनाको सर्भे लाइसेन्स प्राप्त गरी आइइई प्रतिवेदन स्वीकृत भइसकेको छ भने विद्युत खरीद बिक्री सम्झौता (पिपिए) को पर्खाइमा रहेको छ ।