विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
समस्या छिचोलेरै अघि बढ्दै ‘जलविद्युत् विकास’

काठमाडौं । दशकौंदेखि ऊर्जा तथा जलविद्युतलाई आर्थिक समृद्धिको मेरुदण्ड भनिँदै आएको छ तर यसले ठोसरूपमा सार्थकता पाउन सकेको छैन । यद्यपि, प्रचुर सम्भावना बोकेको यस क्षेत्रको समुचित विकास हुन सके मात्र मुलुक अग्रगमनतर्फ जान सक्छ ।

पछिल्ला वर्षहरूमा वार्षिक करिब ६-७ सय मेगावाट विद्युत् प्रणालीमा जोडिँदै आएको हुँदा यसबाट अर्थतन्त्रका विविध क्षेत्रमा सकारात्मक सुधारका संकेत देखिन थालेका छन् । विद्युत् प्रणालीमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी थपिएपछि ऊर्जा विकासमा नयाँ आशाको सञ्चार भएको छ । उता, भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यतालाई समेत तामाकोसीले न्यूनिकरण गरेको छ ।

२०७८ सालमा राष्ट्रिय अर्थतन्त्रको गति सुस्त रहे पनि विद्युत् विकासले भने गति लिएको देखिन्छ; यो वर्ष साना-ठूला गरी करिब ७४२ मेगावाटका २२ आयोजनाको विद्युत् प्रणालीमा थपियो । जसमा, ७२९ मेगावाट (१९ वटा) जलविद्युत् र १३ मेगावाट (३ वटा) सौर्य आयोजना छन् ।

देशमा जलविद्युत् उत्पादन सुरु भएको करिब १११ वर्षमा विद्युत् जडित क्षमता करिब २४३० मेगावाट पुगेको छ; जसमध्ये, २२२७ मेगावाट जलविद्युत्, ६८.२ मेगावाट सौर्य विद्युत्, ५३.४ मेगावाट थर्मल, ६ मेगावाट को-जेनेरेसन (उखुको खोस्टाबाट उत्पादित) र ७५ मेगावाट विद्युत् अफ–ग्रिड (वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत उत्पादित, माइक्रो तथा मिनी हाइड्रो, सौर्य, वायु आदि) रहेको छ ।

निर्माणको क्रमका अनेकौं समस्याहरू छिचोल्दै चालू आर्थिक वर्ष २०७९/८० भित्र थप ८०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपण छ; जसमा प्राधिकरण तथा निजी क्षेत्रको योगदान रहनेछ । विद्युत् खरिद सम्झौता (पिपिए) भई निर्माणको अन्तिम चरणमा रहेका र विविध कारणले विद्युत् उत्पादन गर्न नसकेका आयोजनाहरू यस वर्ष प्रणालीमा जोडिने प्राधिकरणले जनाएको छ ।

यद्यपि, १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुन गाह्रो रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष गणेश कार्कीले बताए । २०७५ साल बैशाखमा जारी गरिएको श्वेतपत्र अनुसार नदी प्रवाही (आरओआर) आयोजनाको सीमा सकिएको भन्दै प्राधिकरणले झण्डै ४ वर्षदेखि पिपिए रोकेको छ ।

‘सरकारले विद्युत् उत्पादनको महत्वाकांक्षी लक्ष्य निर्धारण गर्छ तर ४ वर्षदेखि पिपिए रोकिएको छ,’ कार्कीले ऊर्जा खबरसँग भने, ‘सबै प्रक्रिया र मापदण्ड पूरा गरेर पिपिएका लागि आवेदन दिए पनि निजी क्षेत्रका दर्जनौं आयोजना प्राधिकरणमा थन्किएका छन् ।’ पिपिए नहुँदा ३-४ वर्षदेखि साढे ११ हजार मेगावाटका आयोजनाको अध्ययन अनुमतिपत्रको वार्षिक नवीकरण दस्तुर तिर्दै बस्नु परेको उनको भनाइ छ ।’

श्वेतपत्र अनुसार जलाशय ३०-३५, आंशिक-जलाशय (पि-आरओआर) २५-३०, आरओआर आयोजना ३०-३५ र अन्य वैकल्पिक स्रोतबाट ५-१० प्रतिशत पिपिए गर्ने सरकारको नीति छ । आरओआरले पाएको ३५ प्रतिशतको सीमा अर्थात् ५२५० मेगावाटका आयोजनाको पिपिए भइसकेको छ । यद्यपि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत मंसिरमा मिश्रित ऊर्जा उत्पादनको अनुपात हेरफेर गरेपछि आरओआरको पिपिए गर्ने बाटो खुलेको थियो तर प्राधिकरणले अहिलेसम्म यसमा कारबाही गरेको छैन ।

ऊर्जाको सम्मिश्रणमा फेरबदल गरी आरओआर आयोजनाको सीमा १० प्रतिशत अर्थात् १५०० मेगावाट बढाउने निर्णय भए पनि प्राधिकरणले बेवास्ता गरेको छ । पिपिए नभएकै कारण बैंक तथा वित्तीय संस्थाले जलविद्युत्मा लगानी गर्न हिच्किचाइरहेको कार्कीले बताए । पिपिए नहुँदा र बैंकहरूसँग लगानीयोग्य पूँजी (तरलता) अभावले लामो समयदेखि धेरै आयोजनाले वित्तीय स्रोत जुटाउन सकेका छैनन् ।

कार्कीका अनुसार निजी क्षेत्र तथा सरकारी निकायले देशका विभिन्न ठाउँमा पहिचान गरी अध्ययन पूरा गरेका ३१३१ मेगावाटका १४० आयोजना निर्माणको विभिन्न चरणमा छन् । यस्तै, सरकारले अध्ययन पूरा भएका १६९० मेगावाट बराबरका ८४ आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । हाल, २१,३५२ मेगावाट बराबरका ४३६ आयोजना अध्ययन भइरहेको कार्कीले जानकारी दिए ।
 
मंसिरसम्म अध्ययन तथा निर्माणमा रहेका आयोजनाहरू

क्र.सं.  विद्युत् स्रोत सङ्ख्या क्षमता (मेगावाट)
१.   जलविद्युत्   ८७६  ४६५३६.७४८
२.   सौर्य विद्युत्  ८६    १४१२.४३
३.   वायु विद्युत्   ३  
४.   उखुको खोस्टा  ४ २४
  जम्मा    ९६९   ४७९७८.१७८

स्राेतः विद्युत विकास विभाग

समस्या र चुनौती

जलविद्युत् आयोजनाहरू प्राकृतिक नदी प्रणालीमा निर्भर हुनु, वर्षायाममा उत्पादित बिजुली खेर जानु र सुख्खायाममा माग व्यवस्थापन गर्न नसक्नु, निर्माण चरणमा जग्गा प्राप्ति, वन क्षेत्र उपभोगको स्वीकृतिमा ढिलाई, मौजुदा प्रसारण तथा वितरण प्रणाली कमजोर हुनु मुख्य समस्या हुन् । विद्युत् उत्पादन चरणमा देखिने अनेक समस्याहरू छन् । ती नीतिगत, व्यवहारिक र कार्यान्वयन चरणका समस्या समाधान भए भने मात्र विद्युत् उत्पादनमा आकर्षण हुन सक्छ ।

वित्तिय व्यवस्थापन

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरूले जलविद्युत् आयोजनामा लगानी बढाउन सकेका छैनन् । आयोजनाहरूमा भइरहेका अनेकौं समस्या, निर्माण अवरोध, गुन्डागर्दी र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण लगानी बढ्न सकेको छैन ।

पहुँचमार्ग

विद्युत् आयोजना हिमाल, पहाडको कुना र विकट स्थानमा निर्माण हुने हुँदा सडकको पहुँचले ठूलो समस्या खठा गरिरहेको हुन्छ ।

पहिचान भएका आयाेजनाहरूमा अध्ययन तथा उत्पादन अनुमतिपत्र लिएकाहरूकाे विवरण

स्राेत ः विद्युत विकास विभाग

बाँध निर्माणस्थल, विद्युत्गृहस्थल, आवासलागयत पक्की संरचना बनाउनुपर्ने हुँदा स्काभेटर, डोजर, ट्रिपर जस्ता हेभी इक्विपमेन्ट लैजानुपर्ने हुन्छ । पहुँचमार्ग निर्माणमा स्थानीयले जग्गाको असीमित मुआब्जा माग्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूल जस्ता भौतिक संरचना बनाइदिन चर्को दबाब दिँदा यस्ता संरचना र मुअब्जा समस्या समाधान गर्न सरकार नै अग्रसर हुनुपर्ने ऊर्जा उत्पादकहरूको भनाइ छ ।


स्राेत ः विद्युत विकास विभाग

प्रसारण लाइन

पछिल्लो समय जलविद्युत् आयोजनाले प्रसारण लाइनको ठूलो समस्या भोगिरहेका छन् । सरकार र प्रवद्र्धक आफैंले बनाउने प्रसारण लाइन समयमा सम्पन्न नहुँदा विद्युत् खेर जाने लगायत समस्या छन् । विद्युत् आयोजना दुर्गम र विकट पहाडी क्षेत्रमा निर्माण हुन्छन् । साना आयोजनालाई १० किलोमिटरभन्दा लामो प्रसारण लाइन बनाउन ठूलो आर्थिक, प्राविधिक समस्या हुन्छ । राष्ट्रिय र सामुदायिक वनको रुख काट्ने, जग्गाको मुआब्जा, ऐतिहासिक, धार्मिक मठ, मन्दिर पर्ने हुन्छ । यी समस्या समाधान गर्न स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले विशेष पहल गर्नुपर्दछ । आफ्नो खेतबारीबाट प्रसारण लाइन निर्माण गर्दा पानी परेको बेला गाईवस्तु मर्छन, बाली र रुख विरुवा सुक्छन्, घर खेत भासिन्छ भन्ने भ्रम र गलत प्रचारले गर्दा पनि लाइन निर्माणमा बाधा भइरहेको छ ।

स्थानीय अवरोध

नेपालमा लगानीकर्ताले कुनै क्षेत्रमा लगानी गर्दा राजनीतिक दल, तिनका कार्यकर्ता, मजदुर, स्थानीयलगायतले अनेक माग गर्दै दुःख दिने गरेका छन् । पहुँचमार्गमा अवरोध, आयोजनाका उपकरणमा आगजनी, साइड कार्यालय तोडफोड, मजदुर हडताल गराउने, प्रवद्र्धक र व्यवस्थापनका कर्मचारीलाई धम्की दिने, कुटपीट गर्ने जस्ता हर्कत हुने गरेका छन् । गत मंसिर २४ गते मात्र, गोरखा र लमजुङको सीमामा चम्पावती हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको ७ मेगावाटको चेपे ‘ए’ मा स्थानीयले कार्यालय तोडफोड गरे । उपकरण तथा गाडीमा आगजनी गरे । जसबाट, कम्पनीलाई ३ करोड रुपैयाँ भन्दा बढीको क्षति हुन पुग्यो ।

(यो फिचर समाचार २०७९ साल पुस १ गते प्रकाशन भएको ऊर्जा खबर अर्धवार्षिक पत्रिकाको तेस्राे अंकबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३