लामोसाँघु (सिन्धुपाल्चोक) । भनिन्छ– सबै नागरिकले आ–आफ्नो जिम्मेवारी इमानदारपूर्वक निर्वाह गर्ने हो भने देश समृद्ध बन्न समय लाग्दैन । यही भनाइ चरितार्थ भएको सङ्केत देखिन्छ, सुनकोसी जलविद्युत् केन्द्रमा । यसमा खटिएका छन्, केन्द्र प्रमुख हरिश्चन्द्र धिताल । २०७९ साल पुस २५ गतेदेखि उनी केन्द्र प्रमुखको जिम्मेवारीमा आएपछि सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका पाङग्रेटारस्थित १०.५ मेगावाटको यस जलविद्युत् केन्द्रको स्वरूप नै बदलिएको छ । अझ भनौँ, यसको मुहार नै फेरिएको छ ।
‘केन्द्रको विद्युत्गृह परिसरमा तारबार र गेटसम्म पनि थिएन, पेनस्टक पाइपमा खिया लागेको र झार उम्रिएको थियो,’ विद्युत्गृहको नयाँ स्वरूप देखाउँदै धितालले भने, ‘पाहुनाघर थिएन, वरिपरिको सडक भत्केर धुलाम्मे थियो, केन्द्रको सौन्दर्यको विषय त कल्पना पनि गरिएको रहेनछ ।’ भारतलगायत अन्य देशमा जाँदा विद्युत्गृहको सौन्दर्य देख्दा लोभ लाग्ने र त्यस्तै बनाउन आफूले प्रयत्न गरेको उनी बताउँछन् ।
उनी आएपछि विद्युत्गृहमा तारबार र गेट हालेर सुरक्षित बनाइएको छ । केन्द्रको भ्रमण तथा अनुगमनमा आउने प्राधिकरण तथा अन्य निकायका अधिकारीका लागि उनले पाहुनाघर बनाए । विद्युत्गृह परिसरभित्र कार्यालय तथा कर्मचारी आवास व्यवस्थित गरे । विद्युत्गृह वा आवासतिर जाने सडक कालोपत्रे गरी दुवै किनारामा अनेक प्रजातिका विरुवा तथा फूलहरू रोपिएको छ । नजिकैको समीको रुख घेरेर चौतारो बनाइएको छ । जलविद्युत् केन्द्र परिसर पुग्ने जो कोहीलाई त्यो नयाँ अनुभूति र आकर्षण बन्न सक्छ । विद्युत्गृह अगाडि एक कुनामा बाबा विश्वकर्माको मन्दिर बनाइएको छ । ‘असोज १ गते विश्वकर्मा बाबाको पूजा भव्य गर्ने गरिएको छ,’ मन्दिर देखाउँदै उनले भने ।
विद्युत्गृह परिसरमा एउटा ‘ब्याडमिन्टन कोर्ट’ र शारीरिक व्यायमका सामान राख्ने तयारीसमेत भइरहेको उनी बताउँछन् । कर्मचारीहरू स्वस्थ भएमात्रै काममा जाँगर र स्फूर्ति आउने उनको धारणा छ । विद्युत्गृह परिसरभित्र उनले गर्मीमा विश्राम गर्ने तथा टहलिने गोलघर र चौतारा बनाउन लगाएका छन् । आवास परिसरमा फूलबारी (पार्क) दुबो र फूलहरू रोपिँदैछन् ।
वर्षौँदेखि घाँस उम्रेर जिर्णजस्ता देखिने ३ वटा पेनस्टक पाइप वरिपरिको झाडी सफा गरी रङ्रोगन गरेर टल्काएका छन् । ‘सुकुटे बिच’ हुँदै सुनकोसीको माथिल्लो भूभागमा रमाउन जाने पर्यटकले सुनकोसीपारिबाटै यो देखेर रोमाञ्चित हुन सक्छन्– आहा ! सुनकोसी जलविद्युत् केन्द्र । केन्द्रमा पुग्ने जो कोहीका दृष्टिमा प्राधिकरणका विद्युत् केन्द्रको व्यवस्थापन यति राम्रो हुँदोरहेछ भन्ने छाप परोस् भन्ने धितालको चाहना छ ।
केन्द्र प्रमुखको जिम्मेवारीमा आएपछि धितालले केन्द्रको सौदर्यीकरणमा मात्र होइन, विद्युत् उत्पादन संरचना र मेसिनरी पार्टपूर्जाको मर्मतसम्भार तथा परिवर्तनमा पनि उत्तिकै ध्यान दिएका छन् । उनले स्वीचयार्डमा रहेका झण्डै ५५ वर्ष पुराना ६६/११ केभिएका २ वटा ट्रान्सफर्मर फेरेका छन् । हाल सिन्धुपाल्चोक वितरण केन्द्रको ट्रान्फर्मरले काम नगरेकोले सुनकोसी विद्युत् केन्द्रकै स्विचयार्डको ट्रान्सफर्मरबाट जिल्लामा समेत विद्युत् वितरण गरिएको छ । विद्युत्गृहदेखि साढे ३ किलोमिटर माथिल्लो क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकास्थित बाँधक्षेत्रका संरचनाको मर्मत कार्य चलिरहेको छ ।
त्यस्तै, केन्द्रको स्वामित्वमा रहेको जग्गा धेरै भए पनि अतिक्रमणबाट जोगाउन उनले संघर्ष गरिरहनु परेको सुनाए । प्राधिकरणका विद्युत् केन्द्रहरूका लागि सुरुमा जग्गा छुट्टयाइए पनि त्यसको साँध–सिमाना यकिन गरी अतिक्रमणबाट जोगाउन केन्द्रीय कार्यालयले नै एउटा कार्यदल बनाएर काम गरिरहेको छ । त्यसमा आफूले सहयोग गरिरहेको पनि उनले सुनाए ।
हाल धिताल आयोजनाको बाँधक्षेत्र तथा विद्युत्गृह परिसरमा जथाभावी मिल्काइएका कवाडी सामान व्यवस्थित गर्न एउटा ‘कवाडखाना’ निर्माण गर्दैछन् । लिलाम हुन नसकेका कवाडी व्यवस्थित गरेपछि केन्द्रको सौन्दर्यमा अझ निखार आउने उनको विश्वास छ । यद्यपि, विद्युत्गृह भवनसहित परिसरका भवनका छाना–छानामा परेवाले गुँड लगाएर तल बिस्ट्याइदिँदा सरसामान तथा उपकरण चाँडै पुराना देखिने, बिग्रिने र सरसफाइमा समेत चुनौती थपिएको उनको गुनासो छ । परेवा शान्तिका प्रतिक भएकाले केही नगरी उनीहरूले गरेको फोहर सफा गर्नुको विकल्प नरहेको बताइरहँदा उनी शान्त थिए ।
‘मर्मतसम्भार, सरसफाइ र सौन्दर्यीकरणमा ध्यान नदिने हो भने ५३ वर्ष पुरानो यो आयोजना कसरी अझ सयौँ वर्ष जीवित रहला र,’ धिताल भन्छन्, ‘पहिला आफैँ जीवित रहन सके पो यसले सयौँ वर्षसम्म देशलाई आम्दानी दिन सक्छ ।’ केन्द्रले दिने आम्दानीको तुलनामा यसको मर्मतसम्भार र सौदर्यीकरणको रकम निकै सानो भएको उनको ठम्याइ छ ।
७० करोडसम्म आम्दानी
धितालका अनुसार सुख्खायाममा पनि केन्द्रको उत्पादन ५० प्रतिशत अर्थात् (५ मेगावाट) भन्दा तल घट्दैन । यस आधारमा अहिले सुख्खायाममा केन्द्रले झण्डै ५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । प्राधिकरणको उत्पादन निर्देशनालयअन्तर्गतको उत्पादन, सञ्चालन तथा सम्भार विभागबाट केन्द्रले प्राप्त गर्ने विद्युत् उत्पादनको लक्ष्यसमेत प्रत्येक महिना पूरा भइरहेको छ । सुख्खायाममा लक्ष्यभन्दा बढी नै ऊर्जा उत्पादन भएको केन्द्रको तथ्याङ्कले देखाउँछ । ‘मर्मत सम्भारकै कारण आयोजना बन्द भएको र उत्पादन कम भएको कुनै महिना छैन,’ उनले खुसी व्यक्त गरे ।
केन्द्रले उत्पादन गर्ने विद्युत्काे लागत हाल प्रतियुनिट १ रुपैयाँ पनि पर्दैन तर यसले सुख्खायाममा पनि दैनिक १२ देखि १३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छ । यसबाट प्राधिकरणले वार्षिक ६० देखि ७० करोड रुपैयाँसम्म कमाउँछ । आयोजनाको विद्युत् लामोसाँघु–भक्तपुर ६६ केभी प्रसारण लाइनमार्फत पाँचखाल र बुडोल हुँदै भक्तपुर सबस्टेशनसम्म पुर्याइएको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरसम्म यो विद्युत् खपत हुने गरेको छ ।
३ वर्षमै विद्युत् उत्पादन
सुनकोसी चीनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले निर्माण गरेको हो । पञ्चायत कालमा सरकारी स्वामित्वमा रहेका आयोजना कति छिटो र चुस्त गतिमा निर्माण हुँदा रहेछन् भन्ने यो एउटा उदारहण पनि हो । यसको शिलान्यास तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले २०२६ साल जेठ २६ गते सोमबारका दिन गरेका थिए । निर्माण २०२८ सालमै पूरा भई तत्कालीन राजा श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेवले २०२९ साल मंसिर ९ गते शुक्रबार उद्घाटन गरेको अभिलेख पाइन्छ ।
पछिल्लो समय प्राधिकरणद्वारा निर्मित कुलेखानी तेस्रो, चमेलिया वा यसका सहायक कम्पनीले निर्माण गरेका रसुवागढी, साञ्जेन, मध्यभोटेकोसी जस्ता आयोजना पूरा हुन दशकभन्दा बढी समय लागेको छ । यद्यपि, सूचना, सञ्चार, प्रविधि र सवारीसाधनको दृष्टिले निकै पछाडि रहेको समयमा अर्थात् ५३ वर्षअघि ३ वर्षमै यो आयोजना निर्माण हुनुले पूर्वाधार विकासमा पञ्चायती शासन व्यवस्थाको दृढता झल्किन्छ ।
२७ जना केन्द्र प्रमुख
सुनकोसी निर्माणका क्रममा ६ जनाले आयोजना प्रमुख भएर काम गरेको देखिन्छ । सञ्चालनमा आएपछि २१ जनाले प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । २७ जनाले नेतृत्व सम्हालिसके पनि यसका महत्वपूर्ण संरचनाको मर्मतसम्भार, ट्रान्फर्मर परिवर्तन र सौदर्यीकरणमा कमैको ध्यान गएको देखिन्छ । धितालले नै यसमा पहल लिएको प्रस्टिन्छ । हिजो यसतर्फ किन कसैको ध्यान गएन त ?
धिताल सुनाउँछन्, ‘हामीले नगरे कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ? मलाई आफ्नो जिम्मेवारी चुस्त–दुरुस्त पार्न मन लाग्छ । आफू कार्यरत ठाउँ सफा–सुग्घर, सुन्दर र सुरक्षित बनाउनु पर्छ अनि मात्र कार्य क्षमतामा वृद्धि हुन्छ भन्ने लाग्छ । मलाई यत्तिकै बस्न मनै लाग्दैन । जस्तो छ, त्यस्तैमा निर्वाह गर्न पनि मन लाग्दैन । यो हाम्रो काम, कर्तव्य र अधिकारको पनि कुरा हो । अधिकार पाउन कर्तव्य पनि पूरा गर्नुपर्छ भन्ने लाग्दछ ।’
यही जिम्मेवारीबोधका कारण पनि धिताल जहाँ पुग्छन्, ती जलविद्युत् केन्द्रको अवस्था र व्यवस्थामा धेरै सुधार र परिवर्तन देखिने गरेको छ । यसअघि काभ्रेको खोपासीस्थित २.४ मेगावाटको पनौती जलविद्युत् केन्द्रको प्रमुख हुँदा पनि उनले त्यहाँ यस्ता तमाम काम गरेर केन्द्रीय कार्यालय, कर्मचारीदेखि स्थानीयसम्मको मन जितेका थिए । उक्त जलविद्युत् केन्द्रको सञ्चालन र सुधारमा गरेको उत्कृष्ट कार्यको कदर गर्दै प्राधिकरणले उनलाई वार्षिकोत्सवका अवसरमा सम्मानसमेत गरेको थियो । उनको कार्यशैली र निकट हुने स्वभावका कारण केन्द्रमा कार्यरत ३५ कर्मचारी सन्तृष्ट देखिन्छन् । सबैले उनको सुधार कार्यको मुक्तकण्ठले प्रशंसा गरिरहेको देखिन्थ्यो ।
कास्कीमा रहेको २.५ मेगावाटको सेती–फेवा जलविद्युत् केन्द्र प्रमुख हुँदा पनि उनले त्यसलाई नयाँ स्वरूपमा बदलेर व्यवस्थित बनाएका थिए ।
सुनकोसी जलविद्युत् केन्द्र काठमाडौँबाट करिब साढे २ घण्टाको सडक दूरीमा अवस्थित छ । केन्द्रबाट यति नजिकको दूरी र सुगम ठाउँमा रहेको यस जलविद्युत् केन्द्रले नयाँ स्वरूप धारण नगर्नुपर्ने कुनै कारण देखिँदैन । यद्यपि, धितालको आगमनले यसले नयाँ सौन्दर्य धारण गरेको अनुभूत हुन्छ । जे होस्, एक नेतृत्वकर्ता इन्जिनियरको दृढ संकल्प, लगन र इमानदार प्रयासले यहाँको मुहार फेरिएको छ । देशभर प्राधिकरणका थुप्रै विद्युत् केन्द्रहरू छन्, यो सकारात्मक सुरुवात प्राधिकरणका देशैभरका विद्युत् केन्द्रका प्रमुखका लागि सिकाइ पनि हो । प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रका पनि थुप्रै विद्युत् केन्द्रहरू छन् । तिनका लागि पनि यो सिकाइको विषय हुन सक्छ । आशा गरौँ, आगामी दिनमा सबै विद्युत् केन्द्रको स्वरूप यसरी नै फेरिँदै जानेछ ।
पुष्प काेइराला, ऊर्जा खबरका कार्यकारी सम्पादक हुन् ।