विद्युत अपडेट

  • प्राधिकरण : ९००० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : ३२९१ मे.वा.घन्टा
  • निर्यात : ५०४६ मे.वा.घन्टा
  • ट्रिपिङ : ७४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४७८४२ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २३४१ मे.वा.
२०८२ जेठ २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बुश कटिङ (Bush Cutting-झाडी फँडानी) शब्द पटक–पटक सुन्नुभएकै होला । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कार्यालयहरूले बुश कटिङ गर्न लाइन सटडाउन गर्न लगिएको भनेर पटक-पटक विभिन्न सामाजिक सञ्जाल एवम् पत्रपत्रिकाहरूमा सूचना जारी गरेकै हुन्छन् । सामान्यतया विद्युतीय संरचनाको नजिक परेका जङ्गल, झाडी, बाँस, बुट्यान, घाँसपात आदि काट्ने कार्यलाई बुश कटिङ भनिन्छ ।

'गुगल अर्थ'का अनुसार तल्लो डुंगेश्वर (५७७ मिटर) देखि महाबू धाम (३४२८ मिटर) उचाइबिच रहेको दैलेख जिल्ला समग्र भूगोलमा हरिया जंगलले ढाकिएको छ । बाह्रै महिना हरियाली हुने सुन्दर जिल्लाको रूपमा यो परिचित छ । यहाँ प्रशस्त हरियाली हुनुका साथै डाले घाँस (रुखको घाँस) मा जीविकोपार्जन गर्ने समुदाय उल्लेख्य छन् । जन्मदेखि मृत्यसम्म बहुउपयोगी रहेको बाँसको उत्पादन एवम् उपलब्धता बयान गरी साध्य छैन । वातावरणीय दृष्टिकोणबाट 'हरियो वन नेपालको धन' भन्ने नारा प्रचलित भए पनि विद्युतीय सुरक्षाको दृष्टिकोणमा भने वितरण संरचनाको नजिक रुखविरुवा हुनु दुर्घटना निम्त्याउनु जस्तै हुन्छ ।  

प्राविधिक भाषामा व्याख्या गर्नुपर्दा करेन्ट प्रवाहमा झाडी तथा जङ्गलका रुखविरुवाको सम्पर्क (Contact) ले हुने प्रतिरोध (Resistance), जमिनको सम्पर्कले हुने अवरोध एवम् भोल्टेजको मात्रामा निर्भर हुन्छ । 'ओहम'को नियम अनुसार करेन्ट=(भोल्टेज/रेजिस्टेन्स) हुन्छ । अर्थात् रेजिस्टेन्स जति बढ्यो करेन्ट प्रवाह कम हुन थाल्दछ भने भोल्टेज जति बढ्यो करेन्ट प्रवाह पनि सोही अनुपातमा बढ्ने गर्दछ । 

सामान्यतया तारमा बगेको करेन्टलाई जमिनमा जाने बाटो प्राप्त भए सोही बाटो भएर बग्दछ । अर्थात् कम रेजिस्टेन्स वा अवरोधक भएको बाटो हिँड्दछ । रुखको हाँगा तारमा छोइएको अवस्थामा रुख चार्ज हुन पुग्दछ अनि मान्छेले छुन पुग्दा मान्छेको शरीर हुँदै जमिनमा करेन्ट प्रवाह हुन्छ, जसले गर्दा मान्छेलाई करेन्ट लागेको अनुभूति हुन्छ । करेन्टको मात्रा भने त्यहाँको अवस्थाले निर्धारण गर्दछ । हरियो रुख, बाँस इत्यादिको रेजिस्टेन्स कम हुने हुँदा करेन्ट प्रवाह धेरै हुन्छ, पानि परेको वा भिजेको अवस्थामा झनै धेरै करेन्ट प्रवाह हुने गर्दछ ।

विद्युत् वितरण केन्द्र वा कार्यालयले पटक–पटक बुश कटिङ गर्ने कार्य अभियानकै रूपमा सञ्चालन गर्दै आइरहेको भए पनि पर्याप्त नहुनु, घाँसका रुख काट्दा स्थानीयबाट अवरोध हुनु तथा कार्यालयलाई जानकारी नदिई मनोमानी ढङ्गले आफूखुसी काट्ने कार्यले विद्युतीय दुर्घटना बढ्दो छ ।

सुख्खा अवस्था एवम् सुकेको काठ–दाउराको रेजिस्टेन्स धेरै हुने हुँदा कम करेन्ट प्रवाह हुन्छ जुन सुरक्षित मापनभित्र पनि हुन सक्छ वा सामान्य झट्काको महसुस पनि गराउन सक्छ । समात्ने हात वा छाला सुख्खा भएमा कम करेन्ट प्रवाह हुन्छ भने भिजेको अवस्था खतरनाक हुने गर्दछ । रबर विद्युत्‌को कुचालक हुने हुँदा रुख समात्ने वा चढ्ने व्यक्तिले रबरयुक्त जुत्ता, पञ्जा लगाएको छ वा नाङ्गो खुट्टाले काम गरिरहेको छ भन्ने कुराले पनि विद्युतीय दुर्घटनाबाट हुने जोखिममा फरक पर्दछ । रुखका हाँगाबिँगाले तारलाई कसिलो गरी चपक्क टासिएको अवस्थामा करेन्ट प्रवाह धेरै हुन्छ भने केही दूरी वा खुकुलाे (लुज) रूपमा सम्पर्क गरेको अवस्थामा करेन्ट प्रवाह कम हुने गर्दछ । 

बिर्सनै नहुने कुरा के हो भने ४००/२३० भोल्टेज स्तरको संरचना मान्छेको सम्पर्कमा आउँदा पनि मृत्यु निम्त्याउन सक्छ भने ११ केभी वा सोभन्दा माथिल्लो भोल्टेज स्तरले कति क्षती गराउन सक्छ । शरीरमा १० मिलिएम्पिएरभन्दा धेरै करेन्ट प्रवाह हुँदा मांसपेशी खुम्चिने तथा पीडाको अनुभूति हुन थाल्दछ भने १०० मिलिएम्पिएर भन्दा धेरै करेन्ट प्रवाह भएमा स्वासप्रस्वासमा गाह्रो हुने, मुटुको धड्कन रोकिने अन्तत मृत्यु समेत हुन सक्दछ जुन ११ केभी लाइनले सजिलै पुर्‍याउन सक्दछ ।

अब केही ताजा घटनाबारे चर्चा गरौँ :

घटना १. मिति २०८१ पुस २४ गते नौमुले गाउँपालिका–६ मा अन्दाजी १६ वर्षीया एसइई परीक्षाको तयारीमा रहेकी स्कुले बालिकाले रुखमा चढी घाँस काट्ने क्रममा नजिकैको ११ केभी लाननमा काटेको हाँगा पर्दा चुहावट (लिकेज) भई करेन्ट लागेर रुखमै बेहोस हुन् पुगिन्, तुरन्त फोन गरी कार्यालयले लाइन बन्द गरिसकेपछि बालिकालाई रुखबाट झारी अस्पताल पुर्‍याइयो । बालिका हालसम्म उपचाररत छिन् । 

घटना २. मिति २०८१ चैत २ गते दुल्लु नगरपालिका–८ ठकुरीवाडा निवासी ८ कक्षा अध्यनरत अन्दाजी १४ वर्षीया बालिका रुखमा चढी घाँस काट्ने क्रममा नजिकै रहेको ३३ केभी लाइनमा हाँगा छुन पुग्दा विद्युतीय झट्का लागेर भुइँमा खस्दा हात भाँचिन पुग्यो । साथै शरीरका अन्य भागमा समेत चोट लागेकाले सुर्खेत प्रादेशिक अस्पतालमा उपचाररत छिन् । 

घटना ३. मिति २०८२ वैशाख २१ गते आठबिस नगरपालिका वडा नं ४ राकम कर्णालीका अन्दाजी २९ वर्षीय नगेन्द्र माझीले नाङ्गो खुट्टाले अस्रोको रुख चढी घाँस झार्ने क्रममा नजिकै रहेको ३३ केभी लाइनमा छुन पुग्दा निजको घटनास्थलमै मृत्यु हुन पुग्यो ।

यी त केही प्रतिनिधि घटना हुन् । जनचेतनाको अभावमा देशैभरी यस्ता दुर्घटना बग्रेल्ती भेटिन्छन् । त्यसो हो भने प्रश्न उठ्न सक्छ, के घास नै नकाट्ने त ?

घाँसे रुखविरुवा विद्युतीय तारबाट कम्तिमा १० फिट वा सुरक्षित दूरीमा भएको एकिन भए मात्र आफैँ कटान गरौँ अन्यथा विद्युत् कार्यालयसँग सम्पर्क राखी लाइन विच्छेद गराई वा विद्युत् कार्यालय का तालिमप्राप्त कर्मचारीबाट काट्ने व्यवस्था गराऔँ । लाइनमुनि वा नजिकै त्यस्ता रुखविरुवा नलगाऔँ, जसले ज्यान नै जोखिम पारोस् । 

कार्यालयबाट बुश कटिङ गर्न आएको टिमलाई सघाऔँ, विरोध गरी बचाएको रुख कहिलेकाहीँ आफ्नै जिन्दगीका लागि घातक हुन सक्छ । घटना नं. १ र ३ मा संग्लग्न रुख दुर्घटना हुनुअगावै कार्यालयले काट्न खोज्दा विरोधका कारण बचेका थिए ।

विद्युत् वितरण केन्द्र वा कार्यालयले पटक–पटक बुश कटिङ गर्ने कार्य अभियानकै रूपमा सञ्चालन गर्दै आइरहेको भए पनि पर्याप्त नहुनु, घाँसका रुख काट्दा स्थानीयबाट अवरोध हुनु तथा कार्यालयलाई जानकारी नदिई मनोमानी ढङ्गले आफूखुसी काट्ने कार्यले विद्युतीय दुर्घटना बढ्दो छ । अक्सर यस्ता घटनामा पीडित हुने व्यक्ति निम्न वर्गको, सामान्य कृषक वा गरिबहरू नै धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । आर्थिक श्रोत कम भएका व्यक्ति नै यस्ता दुर्घटनाका चपेटामा पर्ने, आफूखुसी काम गरेको हुँदा क्षतिपूर्ति पनि नपाइने भएकाले व्यक्ति मात्र नभई पूरा परिवारको नै बिचल्ली हुने गर्दछ । 

तसर्थ, हरियो वा भिजेको कुनै पनि वस्तु विद्युत्‌को सुचालक हुने हुँदा करेन्ट प्रवाह भइरहेको विद्युतीय संरचनालाई छुन पुग्दा रुख नै चार्ज हुने तथा शरीरबाट करेन्ट प्रवाह हुन गई व्यक्तिको ज्यान नै जोखिममा पर्छ भन्ने जानकारी राख्न आवश्यक छ ।

आजको युगमा दैनिक हरेक आवश्यकता परिपूर्तिका लागि विद्युत् आधारभूत आवश्यकता जस्तै भइसकेको छ । खाना नपाउँदा बरु मान्छे दिनभरी बोल्दैन तर बत्ति गयो भने मिनेटभित्रै उकुसमुकुस अनुभव गर्न थाल्दछ । देशलाई समृद्ध बनाउने श्रोत नै विद्युत् मानिरहेको अवस्थामा विद्युत् उर्जाबिना हाम्रो जीवनको कल्पना गर्न नसक्ने अवस्थामा पुगिसकेका छौँ । 

तसर्थ, मानवीय आवश्यकता परिपूर्ति गर्दै विद्युतीय दुर्घटना न्यूनीकरण गर्न विद्युत् कार्यालय तथा विद्युत् उपभोग गर्ने समुदाय सजग रही मिलेर समाधान गर्नतिर लाग्नु नै हितकर देखिन्छ । समयानुकुल प्रयास स्वरूप पछिल्लो समयमा निर्माण गरिने वितरण संरचनामा इन्सुलेटेड केवलको प्रयोग बढ्दो छ ।

नेपाल विद्युत् प्राधिकरणसँग सम्पर्क गर्न हटलाइन टेलिफोन नम्बर ११५० वा सम्बन्धित नोलाइट नम्बरमा कल गरी जानकारी लिन वा दिन सकिन्छ । विद्युतीय झट्काले कहिल्यै पनि दोस्राे अवसर दिँदैन, त्यसैले, सुरक्षा नै पहिलो प्राथमिकता हुनु अपरिहार्य छ ।

लेखक नेपाल विद्युत् प्राधिकरणको दैलेख वितरण केन्द्र प्रमुखकाे जिम्मेवारीमा रहेका इन्जिनियर हुन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३