विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

२०४८ असार महिनाको २६ गते उपचारार्थ आएकी भान्जी जुनुलाई कोशी अञ्चल अस्पतालमा रुँघेर घर फर्किँदा बिहान ११ बजेसम्म पनि सिमसिमे पानी परि नै रहेको थियो । घरमा खाना खाएर, लुगा धोएर क्याम्पसबाट फेरि अस्पताल अनि तत्कालीन समयमा चलिरहेको निजामति कर्माचारीहरुको आन्दोलन स्वरूप नजिकै रहेको  सिडियो कार्यालयमा भएको धर्ना हेरेर घर फर्किँदा आमाले 'तँ त काठमाण्डू जानु पर्ने भो रे कान्छा, तेरो बाहिर पढ्ने मिलो अरे !'  भनेर सुनाउनु भो । 

हाम्रो घरमा केही खबर गर्नुपरे छेउमै बोर्डिङ स्कुल थियो, त्यसको माथ्लो तलामा स्कुलका सञ्चालक/प्रिन्सिपल बस्नुहुन्थ्यो । त्यहाँको फोन दिने गरिएको थियो । काठमाडाैँ दिदीको घरको फोनमा भारतीय दूतावासबाट 'कन्फर्मेशन' आएको रहेछ र दिदी/भिनाजुले त्यहाँ खबर गर्नुभएको रहेछ । यो विषयको सुनिश्चितताका लागि बजार गएर पिसिओबाट दिदीकोमा 'एसटीडी' फोन गरेपछि कन्फर्म भो र तुरुन्तै काठमाडौँ आउनु पनि भन्नु भो  । यो मेरो जिन्दगीकै खुसीको क्षण थियो । 

फोन गरेर घर फर्कँदा आफन्तहरू र साथीभाइहरूकोमा खुसीको यो खबर सुनाउँदै आएँ । घर आएर आमाले पकाएको भात खाएर बुधबार दूरदर्शन टिभीबाट आउने 'चित्रहार' पनि हेरियो र किताबहरु मिलाएर  सुतियो । ढिला नगरी भोलिपल्टै (२७ गते) कोशी पशुपतिको नाइट बस चढेर काठमाडौँ लागियो । २८ गते पुगे पनि त्यो शुक्रबारकाे दिन कतै गइएन । शनिबार र आइतबार दूतावास बन्द हुने रहेछ त्यसैले सोमबार 'फस्ट आवर'मै लैनचौरस्थित भारतीय दूतावास पुगेँ । महाराजगञ्ज चाेकबाट रानीपोखरीकाे टेम्पो लाग्थ्यो, म जीवनकुञ्ज (तत्कालीन अधिराज धिरेन्द्र निवास) अगाडिबाट चढ्थेँ ।

इन्जिनियरिङ पढ्न मनोनयन भएको अनौपचारिक जानकारी मात्र प्राप्त थियो, कहाँ कुन विषय आदिबारे थाहा पाएको थिइनँ । त्यसैले आफू विराटनगरदेखि खबर पाएर आएको, कहाँ केमा भएको ? भनेर सोधनी हुँदा 'पञ्जाब इन्जिनियरिङ कलेज (पन्जाव युनिभर्सिटी अन्तर्गत) चण्डीगढमा मेकानिकल इन्जिनियरिङमा 'बीई' पढ्न कोलम्बो प्लान छात्रवृत्ति पाएको जानकारीसहित' भरेर बुझाउन एउटा फारम पनि प्राप्त भो । 

अघिल्लो शृङ्खलामा मैले भने झै सुरुमा आवेदन गर्दा विषेश गरी भारतीय विश्वविद्यालयहरूबारे त्यति जानकारी नभएकोले न्युरोड गेट छेउको आरएनएसी भवनमा अवस्थित नेपाल–भारत पुस्तकालयमा गएर त्यहाँबाट आवश्यक जानकारी लिएँ । आईआईटी-दिल्ली, बम्बई, मद्रास, रुड्की, बैङ्लोर जस्ता नाम चलेका ५/६ विश्वविद्यालय अनि विषयमा प्राथमिकतामा चै इलेक्ट्रोनिक्स, इलेक्टि्कल र सिभिल उल्लेख गरी आवेदन दिएकाे थिएँ । तर पछि आफूले आवेदन गरेभन्दा विल्कुल फरक 'कलेज र विषय' परेपछि मैले जिज्ञासा राख्दा त्यहाँका अधिकारीले अलि झर्केर भने- 'तुमको जाना है कि नही ? बोलो । अगर इसमे कोही आपत्ती है तो लिख के दो, दुसरा कोही जाएगा.‍.. ।' म त ट्वाँ परेँ । सवालजवाफ गर्ने कुरै थिएन । आवश्यक वैयक्तिक विवरण भरेर पेश गरेको केही समयपछि दूतावासको लेटरप्याडमा आईसीसीआर र कलेजलाई बाेधार्थसहितको मनोनयन पत्र हात लाग्यो । 

चण्डिगढ जाने प्लेनटिकटको लागि समूह मिलाएर दिइने भएकोले अर्को दिन आउन भनियो । त्यहाँबाट फर्कँदा वेद काफ्लेसँग भेट भो । उहाँको पनि सोही कलेजमा इलेक्ट्रोनिक्समा भएको रहेछ । उता पाकिस्तान छोडेर आउनुभएको रहेछ । यसरी आइएस्सीकै साथी बीईमा पनि एकैठाउँ हुने भएपछि मलाई अब ढुक्क भो । 

भोलिपल्ट आउँदा इन्डियन एयरलाइन्सको काठमाडाैँ-दिल्ली र दिल्ली-चण्डिगढको एयर टिकेट पनि हामी दुवैले पायौँ करिब २ हप्तापछिको । अगस्ट पहिलाे साताबाट नयाँ शैक्षिक सत्र सुरु हुने रहेछ । अर्को खुशीको कुरो, हाम्रै पालादेखि मासिक छात्रवृत्ति रकम पनि भारु १५०० बाट बढाएर भारु २००० भएको जानकारी पाइयो । त्यस्तै संयाेग नेपालमा जागिर सुरु गर्दा पनि छ मसँग । मैले २०५४ मा स्थायी इन्जिनियरकाे जागिर सुरु गर्दासँगै सरकारी तलब स्केल ३४०० बाट ४२०० रूपैयाँ पुगेकाे थियो । 

अब हामी दुवैको काठमाडौँमा अन्य काम नभएकाले ४ वर्षे भारतवासको तयारीका लागि रात्रिबसमा म विराटनगर र वेदजी बबिया (सुनसरी) तर्फ लाग्नुभयाे । छात्रवृत्ति रकम उतै पाइने र भर्नामा हाम्रो खर्च नलाग्ने हुँदा, उता जान केही पकेट खर्च र होस्टेल कोठामा आफ्ना निजी सरसामान किन्न भारु ४/५ हजार भए पुग्ने सल्लाह बमोजिम सो रकमको जोहो र एकसरो नयाँ लुगाफाटा सिलाएर उड्नु ४/५ दिनअघि पुनः काठमाडौँ आइयो । काठमाडौँमा स्कुलको 'फस्ट ब्वाय' किशाेर बरालले वनविज्ञानको पढाइ (पिसिएल) सकेर रेन्जरको जागिर नै सुरु गरिसकेको थियो । 

अब जाने बेला हुनै लाग्याथ्याे । मैले त प्लेन पनि (डाेमेस्टिक समेत) सो बेलासम्म नचढेको कुरो सुनाएँ । सँगै अर्को स्कुले साथी कुमार सापकाेटा पनि थिए ।

'बियर/कडा पेय खाएको छ छैन ?', कुमारले सोधे । 

'किन ?' 

'प्लेनमा कडा पेय पनि दिन्छ, त्यो त खानुपर्यो नि', उनले अर्थ्याए ।

आफूले भने नन-भेज खान पनि भर्खरै सिकेको थिएँ । मदिरा त चाखेको समेत थिइनँ । 

'त्यसो भए आज बेलुका मेरोमै बस ।' उनले यति भनेपछि बत्तीसपुतली किशोरको डेरामा मासु र कडा पेय (के ल्याए ? म त के चिन्नु र ? 😛) चखाए । 

थोरै मात्रामा, गिलास भरी पानी हालेर जिन्दगीमा पहिलो पटक मापसे गरेजस्तो गरियो । अनि कुमारजीको डेरा गएर सुतियो । 

अब जाने दिन आयो, श्रावण १७, २०४८ को फ्लाइट थियो दिउँसो तिरको । मलाई पुर्याउन ठुला भिनाजु तुलसीप्रसाद शर्मा अनि किशोर र कुमार पनि आएका थिए विमानस्थलमा । प्लेनको सीटमा बसियो । पेटी पहिलोपल्ट बाँधियो। भेज ननभेज सोद्धै परिचारिका आइन । वेदजीले जे मगाउनु भो मैले पनि सोही भने । साथीले भनेजस्तो मदिरा त आएन । भरे कुरो बुझ्दा, आरएकाे फ्लाईटमा मात्र त्यो पाइने रहेछ😛। 

दिल्ली पुगेर चण्डिगढका लागि ट्रान्जिटमा कुर्दा अखबारमा पञ्जाबतिर आतङ्कवादीले केहीको हत्या गरेको खबरले मनमा केही त्रास पैदा भयाे । पञ्जाबको आतंकवादी समस्या भर्खर हल हुने क्रममा थियो सन ९०/९१ तिर । दिल्ली विमानस्थलमै सोही कलेजको लागि मनोनयन भएका राम सिंह, हेमचन्द्र साह, अमर कुमार, पवनकुमार झा, अभिष र अभय उपाध्याय दाजुभाई लगायतका ८/९ जना साथी भेट भए । सबैसँग हामी अपरिचित थियौँ । 

प्लेनबाट चण्डिगढ सिटी एकदम सुन्दर, हरियालीले भरिएको, सफा र मिलेका सडक, पार्क अनि घरहरु देखियो । यो त भारतकै पहिलो टाउन प्लान्ड सिटी पो रहेछ । अनि पञ्जाब र हरियाणाको राजधानी पनि आफैँ चै केन्द्र-शासित (यूटी) । विमानस्थलमा उत्रेर अटो रिक्सा लिएर कलेज होस्टेल गइयो । विराटनगरमा मेरै घर बस्ने एक दमक निवासी दाइले चण्डिगढमै पढ्ने भनेर अरुण कटुवाल  दाइको नाम दिनुभएको थियो । त्यसैले सुरुमै उहाँकै कोठा (होस्टेल) मा पुग्यौँ र पहिलो आश्रय त्यही पाइयो । 

क्रमशः

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३