नो-लाइट फोन होस् वा व्यक्तिगत, सबस्टेसन होस् वा सामाजिक सञ्जाल, पत्रपत्रिका होस् वा अडियो-भिडियो सबैतिरबाट आजभोलि समान प्रकृतिका गुनासाहरू आइरहन्छन् । त्यो हो “लो भोल्टेज” किन ? हामी गुनासाप्रति अति नै संवेदनशील छौँ र सक्दो छिटो समाधान गर्ने प्रयास गरिरहेका हुन्छौँ तर हाम्रो मात्र प्रयास पर्याप्त नहुँदा उपभोक्ताहरू सन्तुष्ट नभएको अवस्था छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण गर्ने कार्यदेखि पेट्रोलियम अन्वेषण परियोजनाको ड्रिलिङ गर्ने कार्यसम्म वा चाउमिन उत्पादक उद्योगदेखि ईभी (विद्युतीय सवारी) चार्जिङ स्टेसनसम्म सबै प्रभावित भएको व्यहोरा अवगत नै छ ।
मोटरले पानी तानेन, प्रिन्टरले प्रिन्ट गरेन, पंखा राम्रोसँग घुमेन, कम्प्युटर खुलेन, फ्रिजमा राखेको खानेकुरा चिसो भएन । एसीले कोठा चिस्याएन । बल्बले प्रयाप्त उज्यालो फालेनजस्ता गुनासो आजभोलि बग्रेल्ती सुन्न पाइन्छन् । सायद देशका हरेक व्यक्तिले यस्तै समस्या भोगिरहेका होलान् ।
उल्लिखित सम्पूर्ण समस्याको प्रमुख कारण नै लो भोल्टेज हो जुन अहिले कर्णाली प्रदेशभरिको समस्या बनेको छ । लो भोल्टेज हुँदा के हुन्छ भन्ने उदाहरण त हाम्रै घरभित्र देखिएकै छ । किन भइरहेको हुन्छ त ? यस विषयमा बुँदागतरूपमा छोटो चर्चा गरौँ:
१. उच्च माग तथा ओभरलोड :
झण्डै ३५ वर्ष पहिले सुर्खेतमा विद्युतीकरण गर्न डग (१०० एसक्यूएमएम) कन्डक्टर प्रयोग गरी ३३ केभी भोल्टेज स्तरमा तानिएको थियो । त्यो बेला सुर्खेतको लोड केही किलोवाटमात्र थियो । तीव्र शहरीकरण, सुर्खेत प्रदेश राजधानी हुनु लगायत कारणले अचेल सुर्खेतको लोड १०-१२ मेगावाट हाराहारी पुगेको छ । यसअन्तर्गत थप विस्तार भएको दैलेख-कालीकोट-जुम्ला-मुगुको लोडसमेत जोड्दा १५ मेवावाटभन्दा माथि पुग्छ । दैलेख जिल्ला अन्तर्गतको नौमुले गाउपालिकामा निजी क्षेत्रबाट निर्मित पादमघाट र द्वारी (८.५५ मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्ले कर्णाली प्रदेशको भोल्टेज सुधारमा उल्लेखनीय भूमिका खेलेको छ । यद्यपि, हिउँदमा उत्पादन घटेर करिब ०.३ मेगावाटमा झर्छ र ती आयोजना हुनु र नहुनुको अर्थ हुँदैन । केही दिन पहिले जुम्लामा ९९८ किलोवाटको चुकेनी खोला साना जलविद्युत् आयोजनाबाट उत्पादन सुरु भयो । ये अहिले परीक्षणको अवस्थामा छ ।
२. स्रोतसँगको लामो दूरी
विद्युत् शक्तिलाई जति लामो दूरी यात्रा गराइन्छ वा लामो दूरीमा तार तानिन्छ, त्यति शक्ति क्षयीकरण हुँदै जान्छ । कर्णाली प्रदेशमा कुनै ठूलो आयोजना निर्माण नहुदा स्याङ्जा-पर्वत लगायत मध्यनेपालमा उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत कोहलपुरसम्म ल्याइन्थ्यो । तत्पश्चात् ३३ केभी भोल्टेजको लाइनबाट सुर्खेत-दैलेख-कालीकोटसम्म पुर्याइन्थ्यो । यो परिस्थितिमा लो भोल्टेज हुनुलाई आश्चर्य मान्नुपर्ने अवस्था होइन । ग्रामीण क्षेत्रहरूमा केही प्रतिशत (-५%) भोल्टेज कम हुनु नेपालमा मात्र होइन, विश्व परिवेशमा समेत सामान्य मानिन्छ । हामीकहाँ सुरक्षित तोकिएभन्दा बढी नै नाजुक अवस्था छ, जुन सोचनीय विषय हो ।
३. उत्पादनमा ह्रास
एकाधबाहेक नेपालमा नदीको प्रवाहमा निर्भर (आरओआर) प्रकृतिका जलविद्युत् आयोजनाहरू भएको हुँदा सुक्खायाममा नदीको बहाव घटेसँगै उत्पादनमा समेत प्रत्यक्ष असर पर्छ । नेपालको हकमा पुसदेखि जेठसम्म वर्षा कम हुने, सानातिना खोला, मुहान सुक्ने, हिउँ पग्लिने दर पनि कम हुन्छ । यस्ता कारणले नदीको बहाव घट्न गई उत्पादनमा ह्रास आउँछ । उदाहरणस्वरूप आफ्नै घर वरिपरी बहने नदीको अवस्था हेरेर पनि सजिलै अनुमान गर्न सकिन्छ । झण्डै मासिक ४५ लाख युनिट उत्पादन गर्ने पादमघाट र द्वारी जलविद्युत् आयोजनाले यो अवस्थामा मासिक करिब २.५ लाख युनिटमात्र उत्पादन गर्न सकिरहेको छ । स्टोरेजमा आधारित आयोजना बाहेक अन्य सबै विद्युत्गृहको अवस्था नाजुक रहेको अवस्था छ तर माग झन बढ्दै गइरहेको अवस्थाले लो भोल्टेजको परिस्थिति सिर्जना गरेको छ ।
प्राविधिकरूपमा लो भोल्टेज हुनाका अन्य विविध कारणहरू समेत भए पनि आम मानिसले बुझ्ने गरी कर्णाली प्रदेशमा लो भोल्टेज हुनाका मुख्य कारणहरू तिनै हुन् । समस्या समाधानका लागि कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । सुर्खेत-दैलेख १३२ केभी र दैलेख-जुम्ला १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइन प्रस्तावित छ ।
तीला-१, तीला-२, अपर कर्णाली, फुकोट, जगदुल्ला जस्ता ठूला जलविद्युत् आयोजना बनाउने विषयमा केही पहल सुरु भएको छ । हिजोका दिनमा लघुजलविद्युत्ले धानेका जिल्लाहरू आज राष्ट्रिय प्रसारण लाइनमार्फत धमाधम विद्युतीकरण भइरहेका छन् । भोलिका दिनमा पक्कै पनि थप सुधार गर्दै पर्याप्त मात्रामा विद्युत् उपयोग गर्ने वातावरण सिर्जना गरी उज्यालो नेपालको परिकल्पना साकार पार्ने अभियान पूरा हुनेछ ।
लेखक, ने.वि.प्रा. दैलेख वितरण केन्द्रका प्रमुख हुन्