विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जको युग सूचना, प्रविधि र पूर्वाधारको युग हो  । विश्वका अधिकांश राष्ट्रहरूले २१औँ शताब्दीमा विकासको मूल आधारका रूपमा दुई विषयलाई विशेष महत्त्व दिएका छन् – सम्पर्क सञ्जाल र विद्युत् । कुनै देशको आर्थिक, सामाजिक तथा औद्योगिक विकासका लागि यी दुई पक्ष अपरिहार्य मानिन्छन् । आधुनिक उद्योग, सूचना प्रविधि, स्वास्थ्य सेवा, शिक्षा, यातायात, सञ्चार तथा दैनिक जीवनका अधिकांश गतिविधि विद्युत्मै निर्भर छन् । त्यसैले, विश्वका धेरै राष्ट्रहरूले आफ्नो विकास रणनीतिमा विद्युत् पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

नेपालमा पनि पछिल्ला केही वर्षहरूमा विद्युतीकरणको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणकै तथ्य हेर्दा देशको समग्र विद्युतीकरण करिब ९८ प्रतिशत पुगेको छ । यसको अर्थ अधिकांश घरपरिवारले अहिले विद्युत् सेवा प्राप्त गरिरहेका छन् । जलविद्युत् उत्पादनमा भएको वृद्धि, प्रसारण तथा वितरण प्रणालीको विस्तार र सरकारी नीतिगत प्राथमिकताका कारण यो उपलब्धि सम्भव हुन सक्यो तर प्रदेशगत दृष्टिले हेर्दा अझै पनि समानरूपमा विद्युतीकरण हुन सकेको छैन ।

विशेषतः कर्णाली प्रदेशमा विद्युतीकरणको अवस्था देशको औसतभन्दा कम छ । हाल उपलब्ध तथ्याङ्कअनुसार कर्णाली प्रदेशको विद्युतीकरण ७३ प्रतिशत हाराहारी छ । कठिन भौगोलिक अवस्था, जनसङ्ख्या छरिएर बसोबास गर्नु, सडक र पूर्वाधारको सीमितता तथा आर्थिक स्रोतको अभावजस्ता कारणले यस क्षेत्रमा विद्युत् विस्तार अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार्नु पर्छ ।

यो अवस्थामा सुधार ल्याउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको सहयोगमा कर्णाली प्रदेशमा विद्युतीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । अहिले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी), युरोपेली लगानी बैंक (इआइबी), पूर्ण विद्युतीकरण कार्यक्रम तथा कर्णाली प्रदेश विद्युतीकरण आयोजना जस्ता कार्यक्रममार्फत काम भइरहेको छ । साथै प्राधिकरणका वितरण केन्द्र तथा जिल्ला कार्यालयले पनि नियमितरूपमा वितरण लाइन विस्तार तथा मर्मत कार्य गरिरहेका छन् ।

कठिन भौगोलिक अवस्था, जनसङ्ख्या छरिएर बसोबास गर्नु, सडक र पूर्वाधारको सीमितता तथा आर्थिक स्रोतको अभावजस्ता कारणले यस क्षेत्रमा विद्युत् विस्तार अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार्नु पर्छ ।

विद्युतीकरणको काम तीव्र रूपमा अघि बढिरहेका बेला केवल सङ्ख्यात्मक उपलब्धिमा मात्र केन्द्रित हुनु पर्याप्त हुँदैन । कति घरमा बिजुली पुग्यो भन्ने तथ्य महत्त्वपूर्ण भए पनि विद्युत् प्रणालीको गुणस्तर, सुरक्षा र विश्वसनीयता त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । विद्युत् पूर्वाधारमा सानो कमजोरीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

विगतमा भएका केही घटनाले विद्युतीय सुरक्षाको महत्त्वलाई स्पष्टरूपमा देखाएका छन् । उदाहरणका लागि, स्टे तारमार्फत सवारी साधनमा विद्युत् प्रवाह हुँदा सल्यानको कपुरकोट–३ चोरखोलामा दुई जनाको मृत्यु भएको घटना अत्यन्त दुःखद थियो । त्यस्तै, लत्रिएको तारका कारण धार्मिक यात्रामा गएका ६ जनाको ज्यान गएको घटनाले पनि व्यापक चर्चा पायो । यस्ता घटनाहरूले विद्युत् लाइन निर्माण र सञ्चालनमा हुने सानो लापरवाहीले पनि कति ठूलो मानवीय क्षति हुन सक्छ भन्ने स्पष्ट पार्छ ।

त्यसैले, विद्युत् लाइन निर्माण वा नयाँ लाइन चार्ज गर्दा कुनै प्रकारको सम्झौता नगरी प्राविधिक मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्छ । अहिलेको सूचना प्रविधिको युगमा सामाजिक सञ्जालको व्यापक प्रयोगले सार्वजनिक पूर्वाधारप्रति जनचासो पनि बढाएको छ । युवाहरूको सामाजिक तथा राजनीतिक सहभागिता बढेसँगै सार्वजनिक कामको गुणस्तरबारे प्रश्न उठ्ने र निगरानी बढ्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा प्राविधिक कर्मचारी तथा निर्माण व्यवसायी अझ बढी जिम्मेवार बन्न आवश्यक छ ।

विद्युतीकरण गर्दा धेरै व्यवहारिक चुनौतीहरू पनि सामना गर्नुपर्छ । लाइन मार्गको अभाव, चट्टानी जमिन, दुर्गम भूगोल, सामग्री ढुवानीको समस्या तथा दक्ष जनशक्तिको कमी जस्ता कारणहरूले कार्यसम्पादनमा कठिनाइ उत्पन्न हुन्छ तर यस्ता चुनौतीका बाबजुद पनि गुणस्तरमा सम्झौता गर्नु हुँदैन । सानो कमजोरीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले विद्युतीकरण गर्दा उच्चस्तरको सावधानी अपरिहार्य मानिन्छ ।

यस सन्दर्भमा विद्युत् लाइन निर्माण तथा चार्ज गर्दा निम्न प्राविधिक पक्षहरूमा विशेष ध्यान दिन आवश्यक छ ।

विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने प्राविधिक पक्षहरू

१. प्राविधिकरूपमा तारबीचको दूरी र जमिनदेखि तारको उचाइ कायम हुने गरी लाइन तानिएको हुनुपर्छ । 

२. पोलको कम्तीमा १/६ भाग जमिनभित्र गाडिएको हुनुपर्छ । सकेसम्म लाइन सडक क्रसिङ नहुने गरी पोल गाड्ने व्यवस्था गर्नुपर्छ ।

३. पोलमा जम्पर जडान गर्दा डिस्क इन्सुलेटरको बीचमा अनिवार्य रूपमा पिन इन्सुलेटर प्रयोग गरिएको हुनुपर्छ ।

४. तार जोड्दा विशेष प्रकारको जोड्ने उपकरण (ज्वाइन्टिङ किट) प्रयोग गर्नुपर्छ । यदि, यो उपलब्ध नभएमा जोडाइ विद्युत् दृष्टिले चिल्लो तथा यान्त्रिकरूपमा बलियो हुनुपर्छ ।

५. पिन इन्सुलेटरको माथिल्लो भागमा तार राखेर बलियो गरी बाँधिएको हुनुपर्छ । यसो गर्न सम्भव नभए पहिलो घाटमा राख्न सकिन्छ तर अन्यमा प्रयोग गर्नु हुँदैन ।

६. च्यानल जडान गर्दा पोल क्ल्याम्प (Pole Clamp) प्रयोग गरेर मजबुतरूपमा जडान गर्नुपर्छ । केवल नट–बोल्ट प्रयोग गरेर मात्र जडान गर्नु उपयुक्त हुँदैन ।

७. उच्च भोल्टेज लाइन (एचटी लाइन) को मेगर मान (भ्यालु) २० मेगाओहमभन्दा माथि हुनुपर्छ ।

८. एंगल पोलमा स्टे इन्सुलेटर (Stay Insulator) सहित स्टे सेट प्रयोग गरिएको हुनुपर्छ ।

९. स्टे (Stay) तार सडक किनारमा वा सवारीले छोइने उचाइमा राख्नु हुँदैन । यस्तो अवस्था भएमा फ्लाइङ स्टे (Flying Stay) प्रयोग गर्नुपर्छ ।

१०. स्टे तार रुखमा बाँध्नु हुँदैन । स्टे तारको सट्टा एसिएसआर (ACSR) तार प्रयोग गर्नु हुँदैन र डेड–एन्ड पोलमा अनिवार्य रूपमा स्टे सेट प्रयोग गरिएको हुनुपर्छ ।

११. ट्रान्सफर्मर पोस्टमा कन्डक्टर टर्मिनलमा ‘केबल शु’ प्रयोग गर्नुपर्छ । जम्पर जडान गर्दा आवरण भएको कन्डक्टर प्रयोग गर्नु अझ सुरक्षित हुन्छ ।

१२. ट्रान्सफर्मर पोस्टमा गरिएको अर्थिङको भ्यालु (Earthing Value) १० ओहमभन्दा कम हुनुपर्छ । ग्रामीण क्षेत्रमा यस्तो भ्यालु कायम गर्न कठिन भए पनि ४० ओहमभन्दा माथि जान दिनु हुँदैन ।

१३. डिओ फ्युज (DO Fuse) र डिस्कनेक्टिङ स्विच (DS) जडान गर्दा तीन तहको सञ्चालन रडले सहजरूपमा सञ्चालन गर्न सक्ने स्थानमा जडान गर्नुपर्छ । मुख्य सर्किट ब्रेकर बक्स (MCCB Box) पनि मानिसको उचाइबाट सञ्चालन गर्न मिल्ने स्थानमा राख्नुपर्छ ।

१४. डिओ फ्युज सेटमा तोकिएको क्षमताको फ्युज लिंक प्रयोग गरिएको हुनुपर्छ । साथै, बन्द हुने धातु बक्सभित्र (Door Closed Mettalic Box) उपयुक्त क्षमताको मुख्य सर्किट ब्रेकर जडान गरिएको हुनुपर्छ ।

१५. एबिसी केबल तान्दा एङ्कर वा सस्पेन्सन क्ल्याम्प (Anchor/Suspension Clamp) प्रयोग गर्नुपर्छ । अत्यावश्यक अवस्था बाहेक डी–आइरन श्याकल इन्सुलेटर (D-Iron Shackle Insulator) प्रयोग गर्नु हुँदैन । केबल जोड्दा बाहिरी आवरण छिलेर जोड्नुको सट्टा केबल कनेक्टर प्रयोग गर्नु राम्रो हुन्छ ।

१६. मिश्रित (Composite) लाइन प्रणाली प्रयोग गर्नुपर्ने अवस्थामा अनिवार्य रूपमा एबीसी केबल प्रयोग गर्नुपर्छ ।

१७. कम्तीमा १.५ मिटर दूरी कायम हुने गरी रुखबिरुवा काट्नुपर्छ । नजिकै बाँसको झाङ भएमा पूर्ण रूपमा सफा गर्नुपर्छ । विद्युत् तारमाथि रुखका हाँगा हुन हुँदैन ।

१८. लाइन चार्ज गर्नु अघि सम्बन्धित फिडर बन्द छ/छैन सुनिश्चित गर्नुपर्छ । उपकेन्द्रसँग समन्वय गरेर मात्र लाइन चार्ज गर्नुपर्छ । लाइन चार्ज भएपछि क्ल्याम्प मिटर (Clamp Meter) प्रयोग गरेर भोल्टेज तथा करेन्टको मान (Voltage/Current Value) जाँच गर्नुपर्छ ।

निष्कर्ष

विद्युतीकरणको लक्ष्य केवल घरघरमा बिजुली पुर्‍याउनु मात्र होइन, सुरक्षित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रदान गर्नु हो । विद्युत् पूर्वाधार निर्माण गर्दा प्राविधिक मापदण्ड पालना गरिएन भने अपेक्षित विद्युतीकरणको उपलब्धि हासिल हुँदैन । त्यसैले, लाइन निर्माणदेखि सञ्चालनसम्मका सबै चरणमा प्राविधिक अनुशासन, सावधानी र जिम्मेवारी आवश्यक हुन्छ । प्राविधिक कर्मचारी, निर्माण व्यवसायी तथा सम्बन्धित निकायले यी मापदण्डको पूर्ण पालना गरेमा मात्र सुरक्षित र दिगो विद्युतीकरण सम्भव हुन्छ । सुरक्षित विद्युत् प्रणाली विस्तार नै दिगो विकासको आधार हो ।

लेखक, नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख हुन्  ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३