काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी जेठ २९ गते हुने नयाँ कार्यसमिति निर्वाचनका लागि उत्तम भ्लोन लामाले आफ्नो टिम घोषणा गरेका छन् । ऊर्जा उद्यमीहरूको साझा छाता संगठनको रूपमा रहेको इपानलाई थप गतिशील र संस्थागत बनाउने उद्देश्यसहित भ्लोनले वरिष्ठ उपाध्यक्षसहितको प्यानल सार्वजनिक गरेका हुन् ।
बुधबार (वैशाख ३० गते) आयोजित एक कार्यक्रमका बीच घोषित प्यानलमा ऊर्जा क्षेत्रमा लामो अनुभव सँगालेका उद्यमीहरू समेटिएका छन् । इपानको विधानअनुसार वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही बमोजिम डाँगीको नेतृत्वमा रहने आगामी कार्यसमितिका लागि भ्लोनले आफ्नो बलियो टिम मैदानमा उतारेका छन् । लामा पक्षमा उभिएका करिब ९० प्रतिशत उद्यमी वर्तमान कर्यसमितिभित्रकै छन् ।
लामाले प्यानल घोषणासँगै इपानले आगामी कार्यकालमा लिनुपर्ने कार्यदिशा, क्षेत्रगत सुधार र सुशासनलाई समेटेर 'इपान भिजन-२९' समेत सार्वजनिक गरेका थिए । इपान विधान अनुसार आगामी निर्वाचनबाट लामा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएमा अर्को कार्यकालका लागि उनी स्वतः अध्यक्ष हुनेछन् ।
टिम घोषणा कार्यक्रममा पूर्व-अध्यक्षहरू डा. सुवर्णदास श्रेष्ठ र कृष्णप्रसाद आचार्यले इपानको गरिमा र यसले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए । उनीहरूले निजी क्षेत्रका विद्यमान समस्या समाधान गर्न र सरकारसँग नीति निर्माणका तहमा प्रभावकारी समन्वय गर्न नयाँ कार्यसमिति सक्षम हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा ग्रिन इनर्जी इन्टरप्रेनर्स नेपाल (ग्रीन) का अध्यक्षसमेत रहेका ऊर्जाविज्ञ सूर्यप्रसाद अधिकारीले विगतको तुलनामा इपानले आफ्ना मुद्दाहरू भुल्दै गएको टिप्पणी गरे । इपानलाई समग्र निजी क्षेत्रको हितमा केन्द्रित गर्दै अध्ययन अनुसन्धानमा समेत केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको धारणा थियो । आगामी कार्यसमितिका लागि घोषित प्यानलले त्यसतर्फ काम गर्न उनले सुझाव दिएका थिए ।
अघिल्ला निर्वाचनमा केही व्यक्तिको स्वार्थका कारण इपानको दायर खुम्चिएको, अधिकारी लगायत व्यक्तिहरू अलग्गिएर ग्रीन स्थापना गरेको विषयसमेत गम्भीरताका साथ लिँदै लामाले यसमा दुवै संस्थाको पुनर्मिलन र सहकार्यको प्रयास गरेका छन् । आगामी दिनमा निजी क्षेत्रका मुद्दा र अध्ययन अनुसन्धानका क्षेत्रमा ग्रिन र इपान मिलेर अगाडि बढ्न सकिने विषयमा समेत छलफल भएको थियो ।
निजी क्षेत्रको लगानी सुरक्षा र ऊर्जा विकासका अवरोध हटाउन इपानले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको धारणा थियो । इपान अध्यक्ष गणेश कार्कीले नयाँ प्यानल घोषण भए पनि सहमतिमै कार्यसमिति चयन हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा राजनीतिक ऐक्यवद्धता समेत देखिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीकृष्ण न्यौपानेले घोषित कार्यसमितिलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै ऊर्जा क्षेत्रको विकासका लागि संसद र नीतिगत तहमा आवश्यक सहयोग गर्ने बताए ।
निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको हकहित संरक्षण गर्ने मुख्य उद्देश्य बोकेको इपानको यो निर्वाचनलाई ऊर्जा क्षेत्रले निकै चासोका साथ हेरेको छ । नयाँ कार्यसमितिले जलविद्युत, सौर्य ऊर्जा र समग्र ऊर्जा क्षेत्रको नीतिगत सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उत्तम भ्लोनद्वारा घोषित कार्यसमिति
• वरिष्ठ उपाध्यक्ष: उत्तम भ्लोन लामा
• उपाध्यक्षहरू: उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, सुसन कर्माचार्य, बलराम खतिवडा, विक्रम विष्ट
• महासचिव: टि.एन. आचार्य
• उपमहासचिव: कविता पोख्रेल
• सचिवहरू: कुवेरमणि नेपाल, सुमनकुमारी जोशी, अभिज्ञा मल्ल, शंकर बस्याल, विजयमोहन भट्टराई
• कोषाध्यक्ष: नरेन्द्रबल्लभ पन्त
• सदस्यहरू: इशा श्रेष्ठ, कदम केसी, जगतबहादुर पोखरेल, बर्नाद लामिछाने, प्रतिभा ज्ञवाली
प्रतिबद्धतापत्र (इप्पान भिजन-२०२९) को मुख्य-मुख्य विषयहरू
१. सार
यस प्रतिबद्धतापत्रको मूल ध्येय इप्पानलाई एक सशक्त, निर्णायक र नीति अनुसन्धानमा आधारित संस्थाको रूपमा विकास गरी नेपाललाई आगामी दशकभित्र दक्षिण एसियाकै ऊर्जा केन्द्र (पावर हाउस) बनाउनु हो । साथै, सरकारले अघि सारेको १० वर्षमा ३०,००० मेगावाट विद्युत उत्पादनको लक्ष्यमा निजी क्षेत्रको योगदान सुनिश्चित गर्नु यसको अर्को महत्वपूर्ण उद्देश्य हो ।
२. नीतिगत तथा कानुनी सुधार
• एकद्वार प्रणाली: वन, वातावरण र जग्गा प्राप्तिको प्रक्रियालाई सरलीकरण गर्दै एक वर्षभित्र सम्पन्न गर्ने गरी 'One-Window Clearance' प्रणाली लागू गराउन दबाब दिने ।
• अनुमतिपत्रको अवधि: जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधिलाई ३५ वर्षबाट बढाएर ५० वर्ष पुऱ्याउन पहल गर्ने ।
• नयाँ विधेयक र निर्देशिका: नयाँ विद्युत विधेयकलाई निजी क्षेत्रमैत्री बनाउन हस्तक्षेप गर्ने र अन्तरदेशीय विद्युत व्यापार निर्देशिका तयार गर्न सरकारलाई सहयोग गर्ने ।
३. विद्युत खरिद सम्झौतामा सुधार
• अवरोध हटाउने: रोकिएका करिब १२,००० मेगावाट आयोजनाहरूको PPA तत्काल खुलाउन पहल गर्ने ।
• लचकदार व्यवस्था: 'Take or Pay' को सुनिश्चितता गर्ने, स्टोरेज आयोजनाका लागि छुट्टै दर तोक्ने र मूल्य वृद्धिका आधारमा PPA दर पुनरावलोकन गर्न सरकारलाई दबाब दिने ।
४. लगानी तथा वित्तीय व्यवस्थापन
• सहुलियत ऋण: ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रको रूपमा ७% भन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिलाउन पहल गर्ने ।
• पुँजी बजार र रिफाइनान्सिङ: हकप्रद सेयर (Right Share) निष्कासनमा सहजीकरण गर्ने र रुग्ण आयोजनाका लागि विशेष पुनर्कर्जा प्याकेज ल्याउन भूमिका निर्वाह गर्ने ।
५. प्रसारण लाइन र बजार
• निजी क्षेत्रको सहभागिता: सार्वजनिक निजी साझेदारी (PPP) मोडलमा निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माणको जिम्मा दिन पहल गर्ने ।
• विद्युत व्यापार: निजी क्षेत्रलाई विद्युत व्यापार (Trading License) मा सहभागी गराउने र छिमेकी मुलुक भारत तथा बंगलादेशमा विद्युत निर्यातका लागि कुटनीतिक पहल गर्ने ।
६. संस्थागत सुदृढीकरण (इपान रूपान्तरण)
• अनुसन्धान केन्द्र: इप्पानलाई केवल दबाब समूह मात्र नबनाई तथ्यमा आधारित 'नीति अनुसन्धान केन्द्र' (Research Center) को रूपमा विकास गर्ने ।
• प्रादेशिक संरचना र पारदर्शिता: सातै प्रदेशमा इप्पानको उपस्थिति गराउने, सदस्यहरूको लागि कानूनी तथा प्राविधिक सहयोग उपलब्ध गराउने र इप्पानको आफ्नै भवन निर्माण गर्ने ।
७. सङ्कल्प
अबको नेतृत्वले "विरोध होइन-समाधान," "नारा होइन-संरचना," र "व्यक्तिगत होइन-संस्थागत नेतृत्व" दिने संकल्प गर्ने छ ।