काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड महाशाखा अन्तर्गत लहान सब-स्टेसनका इन्चार्ज एवम् सहायक इन्जिनियर रामकुमार महतोमाथि जागिर लगाइदिने नाममा घुस लिएको र कर्मचारीलाई धम्काएको आरोप लागेको छ । सोही सब-स्टेसनमा सेवा-करारमा कार्यरत कर्मचारी शिवशंकर महतोले इन्चार्जले आफूलाई जागिर लगाइदिने र जीवनभर संरक्षण गर्ने प्रलोभन देखाई ९० हजार रुपैयाँ घुस लिएको खुलासा गरेका हुन् ।
पीडित कर्मचारीका अनुसार २०८२ साल साउन १ गते सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकबाट सो रकम लेनदेन गरिएको थियो । इन्चार्ज महतोले आफ्नै छोरीको नाममा सञ्चालन गर्दै आएको 'खुश्बु निर्माण सेवा' नामक कम्पनीको बैंक खातामा रकम जम्मा गर्न लगाएको दाबी गरिएको छ । रकम बुझिलिएकै दिन आफूलाई लहान सब-स्टेसनमा हाजिर गराइएको पीडितको भनाइ छ ।
लामो समयदेखि कार्यरत रहे पनि इन्चार्ज महतोले हाल पुनः थप २५ हजार रुपैयाँ माग गरिरहेको र रकम नदिए जागिरबाट निकालिदिने भन्दै बारम्बार मानसिक तनाव दिने गरेको पीडित कर्मचारीले बताएका छन् । 'घरपरिवार पाल्ने एकमात्र सहारा यो जागिरका लागि ऋण गरेर घुस खुवाउनु पर्ने अवस्था आयो,' पीडित महतोले भने, 'अहिले फेरि थप पैसा माग्दै धम्की दिइँदा म ठूलो मानसिक तनावमा छु ।'
उनले आर्थिक शोषण गर्ने र पदीय दुरुपयोग गर्ने कर्मचारीमाथि कडा छानबिन गरी कारबाही गर्न र आफूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
सार्वजनिक संस्थानभित्रै करार कर्मचारीसँग मोटो रकम असुल गरी आफ्नै परिवारका सदस्यको नाममा रहेको कम्पनीको खाता प्रयोग गरिनुले ठूलो अनियमितताको सङ्केत गरेको छ । यस विषयमा प्राधिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान जान जरुरी देखिएको छ ।
पैसा जम्मा गरेको एनआइसी एसिया बैंकको भौचर
