काठमाडौँ । नेपालमा विद्युत् उत्पादनको कुल जडित क्षमता ४२९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले प्रवर्द्धन गरेका विद्युत् केन्द्रहरूको गरी उक्त उत्पादन क्षमता पुगेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक नै उक्त क्षमता पुगेको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म यो क्षमता ४ हजार ५ सय मेगावाट पुग्ने प्रक्षेपण मन्त्रालयको छ । हाल ३००० हजार मेगावाटका आयोजना निर्माणाधीन छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ६६ केभीभन्दा माथिका करिब ७ हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । यस्तै, १४ हजार ३२३ एमभिए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने ३३ केभीका करिब ८२२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा ३३०८ एमभिए क्षमताको सबस्टेसन निर्माण भएका छन् ।
सरकारको पहल र सक्रियता, नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२.५ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको छ । प्राविधिक चुहावटलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको छ ।
सबस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमशः घटाइने मन्त्रालयले स्पष्ट पारेको छ ।
यसैगरी, प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा बराबर पुगेको छ । हालसम्म राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत्मा पहुँच प्राप्त जनसङ्ख्या ९९ प्रतिशत बराबर पुगेको छ । हालसम्म विद्युत् निर्यात दुई हजार ९१८ गिगावाट प्रतिघण्टा छ भने विद्युत् आयात करिब ५९० गिगावाट घण्टा भएको छ ।
हालसम्म सौर्य विद्युत् उत्पादन क्षमता ६२.७ मेगावाट बराबर पुगेको छ । लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट बराबर विद्युत् उत्पादन भएको छ । सिँचाइतर्फ हालसम्म सिँचाइ सुविधा १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा पुगेको मन्त्रालयले जनाएको छ । सिँचाइयोग्य जमिनमध्ये ५ लाख ३२ हजार ९० हेक्टरमा भने वर्षभरिमा सिँचाइ सुविधा उपलब्ध रहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय विवरणमा उल्लेख छ ।