• प्राधिकरण : १००५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ९१५० मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८०५ मे.वा.घन्टा
  • आयात : ४६६ मे.वा.घन्टा
  • निर्यात : १३४५ मे.वा.घन्टा
  • ट्रिपिङ : ३४० मे.वा.घन्टा
  • ऊर्जा माग : ३२८१७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६०९ मे.वा.
×

पेट्रोल पाइपले पौने दुई अर्ब बचत

२०७७ पुस १५

काठमाडाैं । नेपाल आयल निगमले पाइपबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरेपछि एक वर्षमा करिब पौने दुई अर्ब रूपैयाँ बचत भएको छ। निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर पाइपबाट डिजेल ढुवानी सुरु गरेपछि एक वर्षमा एक अर्ब ७६ करोड रूपैयाँ जोगिएको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ट्यांकरमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्ष भदौ २४ बाट पाइपबाट डिजेल ढुवानी सुरु गरेको थियो।

निगमको गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदन अनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानी बापतको एक अर्ब ४७ करोड रूपैयाँ बचत भएको छ। यसरी हेर्दा एक महिनामा सरदर १४ करोड ७० लाख रूपैयाँ बचत हुन्छ। मासिक १४ करोड ७० लाखका दरले एक वर्षमा करिब एक अर्ब ७६ करोड रूपैयाँ बचत भएको देखिन्छ।

पाइपबाट डिजेल ल्याउन थालेको १५ महिना पूरा भएको छ। १५ महिनामा साढे दुई अर्ब रूपैयाँ हाराहारी बचत भएको छ। सुरुमा महिना कम डिजेल आयात भएको भए पनि निगमले क्रमशः क्षमता बढाउँदै लगेकाले ढुवानी धेरै हुँदा ढुवानीबापत लाग्ने रकम पनि बचत धेरै हुन्छ।  

गत वर्षको भदौदेखि अहिलेसम्म करिब आठ लाख किलोलिटर डिजेल पाइपमार्फत आयात भएको नेपाल आयल निगमको प्रदेश नं २ प्रादेशिक कार्यालय बारा अमलेखगन्जका प्रमुख भरत रेग्मीले बताए। ‘मासिक एक लाख किलोलिटर डिजेल आयात गर्ने लक्ष्य लिएका छौं,’ रेग्मीले भने, ‘आयातको मात्राको बढेपछि ढुवानी भाडा धेरै बचत हुन्छ।’ डिसेम्बरमा मात्र (२८ दिनमा) करिब ९० हजार किलोलिटर डिजेल आयात भएको रेग्मीले बताए। पछिल्लो समय आयात बढेकाले ढुवानीमा लाग्ने रकम बचत हुँदै जाने उनले बताए।

निगम र आइओसीको संयुक्त लगानीमा पाइपलाइन निर्माण गरिएको थियो। पाइपबाट डिजेल ल्याउन सुरु भएपछि प्रदूषण पनि न्यूनीकरण भएको छ। परिमाण र गुणस्तर सुनिश्चित भएको छ। प्राविधिक नोक्सानीमा कमी आएको छ। ढुवानीको क्रममा हुने चुहावट रोकिएको निगमले जनाएको छ।

निगमको अमलेखगन्ज डिपोमा इन्धन भण्डारण गर्ने पर्याप्त नभएको कारण पूर्ण क्षमतामा अझै सञ्चालन हुन सकेको छैन। पाइपबाट वार्षिक २० लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सक्ने क्षमता रहेको छ। पाइपलाइन पूर्ण क्षमतामा सञ्चालन गरे ठूलो रकम बचत हुने प्रमुख रेग्मीले बताए। निगमले अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने तयारी गरेको छ। त्यसैगरी, भारतको सिलगुडीबाट झापासम्म पनि दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।

निगमको नाफा चार अर्ब बढ्यो

कोभिड–१९ को कारण गत वर्ष अधिकांश व्यापार, व्यवसाय घाटामा गए पनि सरकारी स्वामित्वको नेपाल आयल निगमको नाफा बढेको छ। इन्धन कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७६/७७ मा नाफा करिब चार अर्ब १२ करोड रूपैयाँले बढाएको हो। कोरोनाको कारण इन्धन कारोबार घटे पनि आर्थिक वर्ष ०७६/७७ मा १२ अर्ब ८७ करोड रूपैयाँ नाफा कमाएको निगमले जनाएको छ। आव ०७५/०७६ मा आठ अर्ब ७५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार मोतिहारी अमलेखगन्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत, अघिल्ला वर्षको नाफा रकमको ब्याज आदिका कारण नाफा बढेको हो। लामो समयदेखि ऋणमा रहेको निगमले आर्थिक वर्ष ०७४/०७५ देखि नाफामा गएर उक्त वर्ष तीन अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि निगमले नाफा कमाउँदै आएको छ।

पाइपलाइनबाट डिजेल ढुवानी गर्दा एक अर्ब ४७ करोड बचत, बैंक ब्याजबाट मात्र एक अर्ब ७७ करोड रूपैयाँ आम्दानी गरेको छ। भण्डारण क्षमता वृद्धिदेखि दोस्रो पाइपलाइनको योजना अघि सारेको निगमले अघिल्लो वर्षको नाफा रकम विभिन्न वाणिज्य बैंकमा राखेको थियो। निगमका अनुसार, नाफा रकम पूर्वाधार विकासमा खर्च गर्दै निगमलाई अघि बढाउने योजना छ। निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ। निगमले आर्थिक वर्ष ०७५/७६ मा २९ करोड रहेको चुक्ता पुँजी बढाएर ११ अर्ब पुर्‍याएको थियो।

नागरिक दैनिक

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit