पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षकाे १० महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थ आयातबाट सङ्कलन गरेकाे छ । यस अवधिमा कार्यालयले ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको हाे । कार्यालयले चालू आवको १० महिनामा ५ थरिका पेट्रोलियम आयात गर्न १ खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ ।
आयातबाट प्राप्त कुल राजस्वमा मूख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम मात्रैकाे हिस्सा ४६.२६ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको राजस्व नै पेट्रोलियम र सवारीसाधन आयातमा निर्भर रहेको बताए ।
त्यस्तै, दोस्रो धेरै राजस्व यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १५ अर्ब २४ करोड रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजस्वमा यातायातका साधन र पार्टपुर्जाको हिस्सा १०.९३ प्रतिशत रहेको छ ।
यस्तै, फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब २५ करोड राजस्व संकलन गरेको छ। मेसिनरी तथा पार्टपुर्जा आयातबाट भने ४ अर्ब ५५ करोड राजस्व संकलन गरेको छ।
इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट ३ अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ। चालू आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट २ अर्ब ८७ करोड राजस्व सङ्ककलन गरेको छ ।
सुर्ती र सुर्तीजन्य पदार्थ आयातबाट दुई अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ । शृङ्गारका सामान आयातबाट दुई अर्ब २२ करोड राजस्व संकलन गरेको छ ।