विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपालमा अधिकांश पूर्वाधार आयोजना तोकिएको समयभन्दा ढिलो सम्पन्न हुने परम्परा छ । तर, अपवादका रूपमा राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२ किलोमिटर सुरुङ अपेक्षा गरिएभन्दा छिटो सकिँदा अहिले उपयोगविहीन बनिरहेको छ ।

ठेक्का सम्झौताअनुसार सुरुङ निर्माण १५ चैत ०७६ मा सम्पन्न हुनुपर्ने थियो । तर, ३ वैशाख ०७५ मै बबई नदीछेउको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्मको १२ किलोमिटर छिचोल्ने (ब्रेक थ्रू) काम पूरा भइसकेको छ । यति मात्र होइन, सुरुङलाई सुरक्षित बनाउनेलगायतका सम्पूर्ण काम १७ भदौ ०७७ मा सम्पन्न भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर ईश्वरीप्रसाद तिवारीले जानकारी दिए । भेरीको पानी बबई नदीमा खसाल्नका लागि यो सुरुङ निर्माण गरिएको हो । 

२० कात्तिक ०७४ देखि थालिएको सुरुङ निर्माणका लागि नेपालमै पहिलोपटक अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरिएको थियो । देशमा टिबिएम नयाँ प्रविधि भएकाले सफल हुनेमा नेपाली अधिकारीहरू सशंकित थिए । त्यसकारण अन्य तयारी नगर्दा तत्काललाई सुरुङ उपयोगविहीन बन्ने भएको हो ।

टिबिएम मेसिनले दैनिक न्यूनतम २० देखि अधिकतम ३३ मिटरसम्म खनेको थियो भने जोखिमयुक्त क्षेत्रमा भने १० देखि १२ मिटर दैनिक खन्ने काम गरेको थियो । सुरुङको कुल लम्बाइ १२ दशमलव २१ किलामिटर हो । तर, बाँकी भाग भने श्रमिकले खनेका हुन् । १० अर्ब ५६ करोड ९७ लाखमा निर्माण भएको सुरुङको चौडाइ भने ५ दशमलव ६ मिटर रहेको छ । सुरुङबाट भेरीको पानी प्रतिसेकेन्ड ४० घनमिटरका दरले बबई नदीमा खसाल्ने योजना छ ।  

चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक)सँग १६ माघ ०७१ मा सुरुङ निर्माणको ठेक्का सम्झौता भएको हो । आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १९ चैत ०७१ मा गरेका थिए । यो आयोजनाको परामर्शदाता कम्पनीहरू भने जियोडाटा इन्जिनियरिङ एसपिए इटाली तथा सिडेफ (सस्टेनेबल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट फाउन्डेसन) नेपाल रहेका थिए । 

अमेरिकी कम्पनी हेभी इक्विप्मेन्ट उत्पादन कम्पनी रोबिन्सको चीनस्थित शाखा कार्यालयमा उत्पादन गरिएको टिबिएम चीनबाट ल्याइएको थियो । टिबिएम सञ्चालनका लागि करिब ९० जना चिनियाँ प्राविधिक जनशक्ति र साढे ४ सय नेपाली श्रमिक खटिएका थिए । सरकारले ७० मिलियन चिनियाँ युआनमा चीनकै सांघाईमा मेसिन निर्माण गराएको थियो ।

कसरी उपयोगविहीन बन्दै छ सुरुङ ?
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना व्यवस्थापनले सुरुङ निर्माणको तयारीसँगै अन्य तयारी पनि गर्नुपर्ने थियो । तर, ५१ हजार हेक्टर जमिन सिँचाइ र ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको यो आयोजनामा अन्य तयारी भने गरिएन । जसले गर्दा अहिले सुरुङ तोकिएको समयभन्दा केही ढिला गरी सम्पन्न भयो । तर, अन्य संरचना नबन्दा बनेको सुरुङसमेत तत्काल उपयोगमा आउन नसक्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तिवारीले जानकारी दिए ।

विशेष गरी विद्युत् उत्पादनका लागि आवश्यक पर्ने सिभिल संरचना, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल संरचना पूरा नहुन्जेल सुरुङ प्रयोगमा आउने सम्भावना छैन । ‘केही वर्ष सुरुङ त्यतिकै रहनेछ,’ उनले भने । सरकारले आयोजना सम्पन्न हुने समयावधिलाई संशोधन गरेर आर्थिक वर्ष ०७९/८० मा पूरा गर्ने लक्ष्य राखेको छ । लक्ष्य तोकिएकै समयमा पूरा भएको खण्डमा पनि सुरुङ थप साढे २ वर्ष त्यत्तिकै रहने निश्चित छ । 

बाँकी काममा के छ प्रगति ?
आयोजनामा गर्नुपर्ने मुख्य तीनवटा काम बाँकी छन् । तिनमा जलविद्युत् आयोजनाका लागि आवश्यक सिभिल संरचना निर्माण, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल संरचना निर्माण रहेका छन् । सिभिल संरचना निर्माणअन्तर्गत हेडवक्र्स, सर्ज सफ्ट, पेनस्टक, पावरहाउस निर्माणलगायतका काम छन् ।

सिभिल संरचना निर्माणका लागि १५ साउन ०७६ मा ठेक्का सम्झौता भई अहिले काम भइरहेको छ । यो काम २९ साउन २०८० सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँको यो ठेक्कामा चीनको ग्वानडोङ र नेपालको रमण जेभी रहेका छन् । 

अहिलेसम्म हेडवक्र्स निर्माणस्थलमा कामदार बस्ने क्याम्प, परामर्शदाता क्याम्प, निर्माण व्यवसायी क्याम्प, ब्याचिङ प्लान्ट, क्रसिङ प्लान्ट र प्रयोगशालालगायतका संरचनाहरू सम्पन्न हुने क्रममा रहेका छन् । त्यसबाहेक चिप्लेस्थित छिन्चु–जाजरकोट सडकखण्डमा डाइभर्सन र चिप्ले खोल्सी डाइभर्सन कार्य पनि द्रुत गतिमा भइरहेको आयोजना कार्यालयका अधिकारीहरूको दाबी छ ।  

तर, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल संरचना निर्माणका लागि अझै काम थालिएको छैन । आयोजना व्यवस्थापनका अनुसार अहिले खरिद व्यवस्थापन गर्ने काम भइरहेको छ ।

खरिद कागजात रिभ्यु (समीक्षा)का लागि मन्त्रालय पठाइएको छ, पारित भएर आउनेबित्तिकै ठेक्का लगाउने सिनियर डिभिजनल इन्जिनियर तिवारीले बताए । ‘चालू आर्थिक वर्षभित्र नै ठेक्का लगाएर काम थालिने तयारी छ,’ उनले भने । पछिल्लो समय कोभिड–१९ का कारण पनि आयोजनामा प्रभाव परेका कारण प्रगतिमा केही ढिलाइ भएको व्यवस्थापन पक्षको भनाइ छ । 

टिबिएम मेसिन भनेको के हो ?
आधुनिक पूर्वाधार निर्माणका लागि अत्याधुनिक मेसिनलाई टिबिएम मानिन्छ । टिबिएमको पूरा रूप टनेल बोरिङ मेसिन हो । यसले एकातिर टनेल खन्ने काम गर्छ र सँगसँगै अर्कोतिर सम्याएर पक्की बनाउने काम पनि गर्छ । विशेष गरी यो मेसिन सुरुङ खन्दै सर्पझैँ घिस्रिँदै अगाडि बढ्छ ।

यसलाई विकसित देशमा अधिकतम प्रयोग भूमिगत मेट्रो रेलमार्ग निर्माणमा गरिएको पाइन्छ । त्यसपछि जलविद्युत् आयोजना र खानेपानी आयोजनाको सुरुङ निर्माण गर्न पनि यो मेसिन प्रयोग गरिएको छ । यो एउटा आयोजनामा प्रयोग गरेपछि सामान्यतया दोस्रो आयोजनाका लागि प्रयोग गर्न सकिँदैन ।

नेपालमा पहिलोपटक भेरी–बबई बहुउद्देश्यीय सिँचाइ आयोजनामा टिबिएमको प्रयोग गरिएको हो । प्रयोग सफल भएपछि सरकारले अहिले सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनमा पनि टिबिएम मेसिनको प्रयोग गर्ने तयारी गरिरहेको छ ।

नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३