विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

१. जलविद्युत् क्षेत्रमा संस्थागत शासकीय व्यवस्था विकासको इतिहास 

नेपाली जनताले विगतका वर्षहरूमा चर्को लोडसेडिङको मार खेप्नु परेको हुँदा सरकारको ध्यान विद्युत् उत्पादनमा केन्द्रित रह्यो । फलस्वरूप विद्युत् विकास विभागले धमाधम अनुमतिपत्र जारी गर्‍यो । नेपाल विद्युत् प्राधिकारणले विद्युत् खरिद सम्झौता गर्‍यो । नतिजाका रूपमा सार्वजनिक तथा निजी क्षेत्रबाट जलविद्युत्‌काे क्षेत्रमा अर्बौं रकमको लगानी भएको छ । 

जलविद्युत् कम्पनीहरू ‘कम्पनी ऐन २०६३’ अन्तर्गत स्थापना हुन्छन् । कम्पनी ऐन सब कम्पनीहरूका लागि छाता ऐन हो । ऐनका प्रावधानहरू सामान्य हुन्छन्, र ती सबै कम्पनीलाई समानरूपमा लागू हुन्छन् । जलविद्युत् कम्पनीका लागि प्राधिकरण र विभागको भूमिका आंशिकरूपमा नियमनकारी थिए/छन् । यी दुई संस्थाहरूको मुख्य भूमिका अनुमतिपत्र जारी गर्ने तथा पीपीए गर्ने नै थियो र छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू नियमन गर्दछ । बीमा कम्पनीहरूलाई बीमा समितिले र नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीहरूको नियमन गर्दछ । यस्ता नियामक निकायहरूले गर्दा सम्बद्ध क्षेत्रहरू प्रतिस्पर्धात्मक स्तरमा सापेक्षिकरूपमा सुव्यवस्थित भएका छन् । जलविद्युत्‌काे क्षेत्रमा ‘नियमन आयोग, २०७४’ नबनुन्जेलसम्म विशिष्ट नियमनकारी निकाय थिएन । तथापि, भर्खरै मात्र स्थापित आयोगले अहिले पनि विद्युत् क्षेत्रको प्रभावकारी नियमन गर्न प्रभावकारी नीति–नियम बनाएको छैन ।

जलविद्युत् क्षेत्रको विकास प्रारम्भिक चरणमा रहेकाले यो नेपाली संस्थागत र व्यावसायिक क्षेत्रका लागि पनि नयाँ क्षेत्र हो । यसो हुँंदा, सो क्षेत्र बैंक, बीमा आदि क्षेत्रभन्दा कम सांगठनिक र संस्थागत क्षेत्रका रूपमा रहेको छ । नियमनकारी निकायबाट आवश्यक कानूनहरू तर्जुमा हुने क्रममा रहेकाले समग्र क्षेत्रलाई मार्गनिर्देशन गर्ने पर्याप्त नियमनहरू तर्जुमा हुन बाँकी छन् ।

यस क्षेत्रमा अर्बौं रकमको लगानी भएकाले प्रत्येक सेयरहोल्डरहरू तथा अन्य सरोकारवालाहरूले जलविद्युत् कम्पनीको व्यवस्थापनमा चासो र सरोकार राख्नु स्वभाविक हो । फलस्वरूप, निकै जलविद्युत् कम्पनीहरूले संस्थागत शासकीय व्यवस्थाको महत्त्व सापेक्षिक रूपमै भए पनि बुझेका छन् । केही कम्पनीहरूले अन्तर्राष्ट्रिय गुणस्तर मापक प्रणाली (आईएसओ) प्रमाण प्राप्त गरेका छन् । केही कम्पनीहरू गुणस्तरीयता प्राप्त गर्ने प्रयासमा छन् । तर प्रायःजसो जलविद्युत् कम्पनीहरूको योजना तयार गरी काम गर्ने संस्कार देखिँदैन । यो समग्र क्षेत्र नै काम गर्दै सिक्दै जाने शैलीबाट अगाडि बढिरहेको छ । संस्थागत सुशासनको क्षेत्रमा पनि आफैँले प्रयास गरी आवश्यकता अनुसार लागू गर्दै जाने अभ्यास भएको देखिन्छ । 

धेरै ठाउँमा स्थानीयबासीले आफ्नो व्यक्तिगत फाइदाका लागि आयोजना निर्माण कार्यमा अवरोध गरिरहेका हुन्छन् । आफ्ना सानातिना फाइदाका लागि समेत आयोजना निर्माण कार्यमा बाधा पुर्‍याइएको हुन्छ । ‘आयोजना निर्माणमा ढिलाइ वा बाधा–अड्चन हुँदा दीर्घकालमा आयोजनालाई र देशलाई नै के असर पर्छ ?’ यो कुरामा अझैसम्म स्थानीयबासीमा चेतनाको विकास भएको छैन ।

२. जलविद्युत् क्षेत्रप्रतिको सामाजिक धारणा

जलविद्युत् कम्पनीबारे विभिन्न सरोकारवालाको आफ्नो रुचि र आवश्यकता, अपेक्षा र हितमा आधारित आ–आफ्नै धारणा छन् । सरोकारवालाहरू भन्नाले मुख्यतः सञ्चालक समिति, उपसमिति, कर्मचारी, साहुहरू, वित्तीय संस्थाहरू, स्थानीयबासी, सरकार, स्थानीय र नियमनकारी निकायहरू पर्छन् ।

सरोकारवालाहरूले आयोजनाबाट आ–आफ्नो हित तथा अपेक्षा राखेका हुन्छन् । सेयरधनीले आयोजनाबाट समयमै कार्यप्रगति सम्बन्धी पर्याप्त सूचनाको अपेक्षा राख्दछन् । साथै उनीहरूले आयोजनाहरू तोकिएको समय र लागतभित्र सम्पन्न भएर लगानीको उच्चतम प्रतिफल प्राप्त हुने अपेक्षा राखेका हुन्छन् । कामदारहरूले कम्पनीभित्र काम गर्ने अनुकूल वातावरण रहने तथा बढीभन्दा बढी सुविधाहरू पाउने आशा गर्छन् । नियमनकारी निकायले समयमै प्रतिवेदन प्राप्त गर्ने र सम्बन्धित कम्पनीद्धारा नियम–कानूनको पालना हुने भन्ने अपेक्षा गर्छन् । बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो लगानीको सुरक्षा, ब्याज र साँवा तोकिएको समयमै भुक्तानी हुने अपेक्षा गरेका हुन्छन् । स्थानीयबासीले कम्पनीले सामाजिक उत्तरदायित्व पूरा गरिदेओस्, आवासमा प्राथमिकता र स्थानीय विकासका साथै वातावरणीय सुरक्षा होस् भन्ने अपेक्षा गरिरहन्छन् ।

आमसमाजको सामान्य अनुभूति (बुझाइ) के छ भने, जलविद्युत् कम्पनीहरू अपेक्षा गरिएजस्तो अनुशासन र सदाचारिताका साथ काम गर्दैनन् वा गरे पनि कम गर्छन् । विशेषगरी, विद्युत् उत्पादक कम्पनीका सञ्चालकहरूले आफ्नो पैसा लगानी गर्दैनन् । कर्मचारीको भर्ना गर्दा कुशल र विज्ञताको मापदण्डका आधारमा भन्दा नातागोता र चिनजानको विधि अपनाउँछन् ।

जलविद्युत् कम्पनीको सम्बन्धमा सरकारको बुझाइ पनि उदासीन देखिन्छ । सरकारले ऊर्जा उत्पादकहरूलाई राष्ट्रिय सम्पत्तिको सर्जक मान्नुभन्दा धन कमाउने समूहको रूपमा लिएको आभास हुन्छ । कतिपय अवस्थामा प्रवद्र्धकहरूको व्यवहार र चालचलनले पनि यसलाई बल पुर्‍याएको हुन्छ ।

स्थानीय जनताहरूले पनि बाहिरका मानिसहरू आएर स्थानीय स्रोतहरू उपभोग गरेर नाफा कुम्ल्याए भन्ने सम्झिन्छन् । विद्युत् उत्पादकलाई स्थानीय क्षेत्रमा आएर व्यक्तिगत लाभ लिएको र सजिलोसँग पैसा कमाइरहेको सम्झिने परिपाटी छ । धेरै ठाउँमा स्थानीयबासीले आफ्नो व्यक्तिगत फाइदाका लागि आयोजना निर्माण कार्यमा अवरोध गरिरहेका हुन्छन् । आफ्ना सानातिना फाइदाका लागि समेत आयोजना निर्माण कार्यमा बाधा पुर्‍याइएको हुन्छ । ‘आयोजना निर्माणमा ढिलाइ वा बाधा–अड्चन हुँदा दीर्घकालमा आयोजनालाई र देशलाई नै के असर पर्छ ?’ यो कुरामा अझैसम्म स्थानीयबासीमा चेतनाको विकास भएको छैन ।

जलविद्युत् क्षेत्रको नियमनकारी संस्था विद्युत् नियमन आयोग स्थापित हुनुअघि कम्पनीको कर्पोरेट सुशासन हेर्ने खास विशिष्ट संयन्त्र थिएन । आयोजनाहरू आफैंले समस्या र सङ्कट भोग्दै काम गर्दै आएका थिए । यस्ता सङ्कटको अन्तर्यमा संस्थागत सुशासनको अभाव थियो भन्दा अत्युक्ति नहोला । एक समयमा अनुमतिपत्र प्राप्त गरेर निर्माण थालनी गर्नुभन्दा यसको व्यापार गर्ने प्रवृत्ति सामान्य जस्तै थियो । प्रभावकारी नियमनको अभावमा समग्र जलविद्युत् क्षेत्र केही हदसम्म बदनाम पनि हुन पुग्यो । तथापि, आज धेरै जलविद्युत् आयोजनाको निर्माण भइरहेको छ । नियमन व्यवस्था प्रभावकारी उन्मुख हुँदै गए पनि अझै ‘झोलामा खोला’ भन्ने अवधारणाले सबैको दिमागमा डेरा भने जमाइरहेकै छ ।

३. संस्थागत शासकीय व्यवस्था र जलविद्युत् कम्पनीका समस्या

कर्पोरेट सुशासन भनेको संस्कृति हो । संस्कृति भनेको लामो समय व्यवहारमा ल्याइने एउटा निश्चित संस्थागत प्रणाली हो, एकपटकको कार्य होइन । नेपालमा जलविद्युत् क्षेत्र सापेक्षित रूपमा नयाँ र उदाउँदो क्षेत्र भएकाले संस्थागत शासकीय संस्कृति पनि विकासको चरणमै रहेको छ । यसर्थ, यस क्षेत्रमा संस्थागत शासकीय व्यवस्थासँग सम्बन्धित धेरै चुनौतीहरू छन् । जलविद्युत् कम्पनीहरूमा विद्यमान कर्पोरेट सुशासनसम्बन्धी समस्याहरू यहाँ संक्षेपीकरण गर्ने प्रयास गरिएको छः 

(क) जानकारीको अभाव

प्रायः ऊर्जा उत्पादकहरू संस्थागत शासकीय व्यवस्थाको महत्त्वबारे अनभिज्ञ देखिन्छन् । उनीहरूले दीर्घकालमा लाभदायक हुने भन्दा पनि काम छिटो गर्ने प्रक्रियामा अड्चन रहेको बुझेका हुन्छन् ।

अर्को समस्या संस्थागत शासकीय व्यवस्थाको अवधारणाबारे थाहा नहुनु हो । उनीहरूलाई आफ्नो कम्पनी ‘प्रणालीमै चलेको छ’ भन्ने लघुताभास भइरहेको हुन्छ । ‘कर्पोरेट सुशासन कसरी र कति मात्रामा कहिलेदेखि लागू गर्ने’ भन्नेबारे स्पष्टता हुँदैन । यो पक्ष अझै ऊर्जा उत्पादकहरूको प्राथमिकतामा परेको देखिँदैन । कसैले केही हदसम्म यसको महत्त्व बुझेको भए पनि उनीहरूमा ‘कसरी संस्थागत शासकीय व्यवस्थाको सुनिश्चित हुन्छ’ भन्नेबारे पर्याप्त ज्ञान भएको पाइँदैन । शासकीय व्यवस्थाको महत्त्व र अवधारणाको पर्याप्त जानकारी नभएसम्म यसको प्रभावकारी विकास र कार्यान्वयन हुन सक्दैन ।

(ख) कार्यान्वयनमा कठिनाइ

जलविद्युत् क्षेत्रमा संस्थागत शासकीय व्यवस्था सुनिश्चित गर्न नियमनकारी निकायहरूले आवश्यक नीति, नियम तथा निर्देशिकाहरू अनिवार्य गरेका छैनन् । ऊर्जा उत्पादकहरूले प्रभावकारी र आन्तरिक नियन्त्रण प्रणाली सुनिश्चित गर्न लागू गर्नैपर्ने अनिवार्य व्यवस्थाहरू राखेको पाइँदैन ।

कर्पोरेट संस्कृतिको विकास हुने वातावरण असाध्यै प्राथमिक तहमा रहेको कुरा माथि उल्लेख गरिएको सन्दर्भमा ऊर्जा उत्पादकहरू आफैंले ऐच्छिक रूपमा लागू गरेका वा गर्न चाहेका नीति, नियम र निर्देशिकाहरू कार्यान्वयन गर्ने उत्साहपूर्ण वातावरण बनेकै छैन । कर्पोरेट सुशासन कायम गर्न लागू गर्नुपर्ने नीति, नियम र निर्देशिकाहरूको कार्यान्वयन गर्न शुरूवाती लागत (मानवीय र मूल्यगत) को कारणले यस्ता कम्पनीहरूलाई कार्यान्वयनमा कठिनाइ रहेको छ । नियमन अनिवार्य नभएको तर ऐच्छिक रूपमा कम्पनी आफैँले गर्ने कर्पोरेट सुशासन प्रणाली कार्यान्वयनमा पाइलैपिच्छे कठिनाइहरू भोग्नुपरिरहेको छ ।

(ग) लागत र समय

संस्थामा संस्थागत शासकीय व्यवस्था कार्यान्वयन गर्न समय र लागत दुवै उतिकै आवश्यक छ । प्रायः ऊर्जा उत्पादकहरूले आयोजनाको लागत घटाउने ध्येय राख्नाले शुरूदेखि नै कर्पोरेट सुशासनले प्राथमिकता पाएको छैन । यसो हुँदा, व्यवस्थापनले प्रारम्भदेखि नै कर्पोरेट सुशासनप्रति त्यति धेरै ध्यान दिएको देखिँदैन । कर्पोरेट सुशासन कायम गर्न प्रारम्भदेखि नै मनग्य लागत र दक्ष जनशक्तिको खाँचो हुन्छ । जलविद्युत् कम्पनीहरूका लागि शुरूमा स्वपुँजी व्यवस्थापन गर्ने कुरा सधैं केन्द्रमा रहने भएकाले कर्पोरेट सुशासन प्रणाली स्थापना गर्दा लाग्ने खर्च बोझ प्रतीत हुनेगर्छ । प्रायः लगानीकर्ताहरू शासकीय व्यवस्था दरिलो बनाउनभन्दा छोटो अवधिको परिमाणात्मक प्रगतिमा जोड दिन्छन् । कम्पनीमा भित्र र बाहिर सकारात्मक वातावरणको अभावमा जलविद्युत्‌काे तयारी, विकास र निर्माण चरणमा संलग्न हुने कार्यकारी व्यक्तिलाई कर्पोरेट सुशासन कायम गर्ने भित्री उत्प्रेरणा र मनोबलसमेत प्राप्त हुँदैन । अर्कोतर्फ, शुरूमै यस्तो प्रणाली विकास नगरेमा निर्माण चरणमा विकास गरी लागू गर्न पर्याप्त समय हुँदैन ।

(घ) लगानीकर्ताको मूल्याङ्कनमा

प्राथमिकता तथा आवश्यकतामा नपर्ने वित्तीय व्यवस्था समापन गर्ने कार्य जलविद्युत् आयोजनाहरूका लागि ठूलो कोशेढुंगा हो । यो बिना कुनै पनि ऊर्जा उत्पादकले आयोजना निमार्ण गर्न सक्दैनन् । बैंक तथा प्रवर्धकका बीच भएका सहमतिहरू अनिवार्यरूपमा दुवै पक्षले पालना गर्नुपर्छ । विशेषतः बैंकहरूले मूल्याङ्कन गर्दा आयोजनाको प्राविधिक पक्ष, कम्पनी स्वामित्वको ढाँचा, पर्याप्त धितोहरू, खुद जेथा र आसामीको भुक्तानी क्षमतामा केन्द्रित हुन्छन् । कतिपय अवस्थामा आयोजनाको व्यवस्थापनहरूको गुणस्तरलाई बेवास्ता गरिन्छ । फलस्वरूप, संस्थागत शासकीय अभ्यासहरू दराजमा थन्किन पुग्छन् ।

सामान्यतः बैंकहरू मात्रात्मक प्रगतिमा केन्द्रित हुन्छन् । ऋण दिने प्रयोजनका लागि आयोजना मूल्याङ्कन गर्दा संस्थागत शासकीय व्यवस्थामा अंक दिने गरी दायरामा नपरेको बैंकिङ् अभ्यास देख्न सकिन्छ । यसो हुनाले, कर्पोरेट सुशासनलाई ऊर्जा उत्पादकहरूले प्राथमितामा राख्दैनन् ।

(ङ) प्रारम्भदेखि पूर्ण कार्यकारीको व्यवस्था नहुनु

जलविद्युत् कम्पनीहरूमा देखापर्ने शासकीय व्यवस्थाको अर्को मुख्य समस्या भनेको प्रारम्भदेखि नै उच्च तहमा कार्यकारी व्यक्ति नियुक्ति नहुनु हो । कर्पोरेट प्रणाली विकास गरी आयोजनालाई पेशागत ढङ्गले अगाडि बढाउनुछ भने शुरूदेखि नै कार्यकारी व्यक्तिको जरुरी हुन्छ । संस्थागत शासकीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सुरूको चरणदेखि नै विधि, नीति, नियम र निर्देशिकाको विकास गर्नुपर्दछ । किनभने, आयोजनाको निर्माण अवधिमा संस्थागत शासकीय व्यवस्थाको विकास तथा कार्यान्वयन गर्न प्रयाप्त समय कम हुने र प्राथमिकतामा नपर्ने जोखिम रहन्छ ।

शुरूमा जस्तैः सर्भे लाइसेन्स लिने, सर्भे गर्ने तथा पीपीए गर्ने जस्ता एकपटक आवश्यक कागजात पेश गरेर एक जनाले अनुगमन गरे पुग्नेगरी कार्यहरू गर्नुपर्ने हुन्छ । यसो हुँदा, धेरै प्रवर्धकहरूले सुरूदेखि नै समर्पित कार्यकारी व्यक्तिको नियुक्ति गर्नुपर्ने कुरा आवश्यक ठान्दैनन् । यसलाई आयोजनाको शुरूमै लागत बढाउने कुरा ठानिन्छ ।

(च) चेतनाको कमी

जलविद्युत् क्षेत्रमा स्तरीय तथा सचेत लगानीकर्ताहरूको धेरै खाँचो छ, जसले संस्थागत शासकीय व्यवस्थामा विश्वास गर्दछन् । लगानीकर्ताहरूको चेतनाले समेत आयोजना विकास गर्न प्रमुख भूमिका खेल्दछ । यदि, लगानीकर्ताले चासो दिएर राम्रो प्रणाली भएको कम्पनीमा मात्र लगानी गर्ने गरेमा ऊर्जा उत्पादकलाई कर्पोरेट शासन प्रणाली विकास गरी लागू गर्न/गराउन उत्प्रेरित गर्दछ तर वर्तमान अवस्थामा यस्ता सचेत र गुणस्तरीय लगानीकर्ता निकै कम भएको अनुभव छ । प्रायः लगानीकर्ताहरू व्यक्तिगत सम्बन्ध, भौगोलिक पहुँच, चिनजानका आधारमा रकम लगानी गर्दछन् । जति मात्रामा सचेत लगानीकता छन्, यस्ता व्यक्तिबाट प्राप्त हुने स्वपुँजी आयोजना विकास गर्न पर्याप्त छैन । धेरै लगानीकर्ताहरू बजारका झुटा तथ्य सुनेर विश्वास गर्ने प्रकृतिका छन् । यस्तोमा, नकारात्मक कुराहरू जानेर (वा नजानेर) धेरैभन्दा धेरै लगानीकर्ताका बीचमा फैलिन्छ ।

(छ) आन्तरिक अवरोध

संस्थागत शासकीय व्यवस्थाको अवधारणा लागू गर्न आन्तरिक व्यवस्थापनको ठूलो भूमिका हुन्छ । कम्पनीको आन्तरिक व्यवस्थापन अन्तर्गत सेयरहोल्ड, सञ्चालक समिति र कर्मचारीहरू पर्दछन् । सञ्चालक समितिमा रहन न्यूनतम योग्यताको व्यवस्था नहुँदा लगानीकर्ताहरू पनि जे–जस्तो योग्यता भए पनि सञ्चालक समिति सदस्य हुन इच्छुक हुन्छन् । कम्पनी सञ्चालनको हरेक निर्णयमा सञ्चालक समितिको अहम् भूमिका हुने भएकाले लगानी रकमको आधारमा मात्र समितिमा आउने सञ्चालकहरूको कर्पोरेट सुशासनप्रतिको दृष्टिकोण स्पष्ट नहुन सक्छ ।

संस्थाले कर्पोरेट सुशासन लागू गर्दा सञ्चालक समिति लगायत विभिन्न आन्तरिक अवरोध तथा असहयोगहरू सामना गर्नु पर्दछ । जसले गर्दा संस्थागत शासकीय व्यवस्था प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न सकिँदैन । अन्य विभिन्न कारणले पनि आन्तरिक वातावरणमा अवरोध हुन्छ । जस्तैः पेशागत र व्यावसायिक सञ्चालक नहुनु, कर्मचारीहरू पेशागत मर्यादाअनुरूप चयन नहुनु, प्रतिवेदन तथा कागजातको आधारभन्दा अनौपचारिक सम्बन्धको विविध काम गर्न खोज्नुपर्छ ।

(ज) बाह्य अवरोध

बाह्य वातावरणअन्तर्गत ठेकेदार, परामर्शदाता र सम्बद्ध सहायकहरू तथा सहयोगी कम्पनीहरू, सरकार, आपूर्तिकर्ता लगायत पर्छन् । बाह्य अवरोध हुने भनेको कम्पनी र बाह्य वातावरणका बीच समान कार्य संस्कृति वा संस्कार नहुनु हो । संस्थाले संस्थागत शासकीय व्यवस्था लागू गर्दा यस्ता बाह्य वातावरणबाट विरोध वा अड्चनको सामना गर्नुपर्दछ । उनीहरूका नियम तथा मापदण्डहरूमा अपनाएको प्रणाली नमिल्न सक्छ । कार्य संस्कृति नमिल्न सक्छ ।

यसरी, कार्य संस्कृति नमिल्दा काममा ढिलो हुने वा गुणस्तरियतामा ह्रास आउने, आफ्ना आन्तरिक नीति निर्देशनहरू लागु गर्न निकै अल्झन बेहोर्नु पर्ने र कम्पनीभित्र कर्पोरेट प्रणाली विरुद्ध एक प्रकारको नकारात्मक वातावरणको सिर्जना हुने हुनसक्छ । उनीहरूले कर्पोरेट प्रणाली नअपनाउँदा संस्थागत शासकीय व्यवस्थाको कुशलतामा कमी आउँछ । 

धेरै ठेकेदार र परामर्शदाताहरूल यसको संस्कृति नअपनाएको देखिन्छ । उनीहरू तदर्थ प्रकारले काम गर्न अभ्यस्त भइरहन्छन् । परिणाममुखी हुने नाममा हासिल गर्न बेहोर्नु पर्ने स्वभाविक र अस्वभाविक कठिनाइहरू कार्यका अभिन्न अंग हुन भन्ने कुरामा उनीहरू मनैदेखि विश्वस्त हुन्छन् । संस्थागत सुशासनले ‘यस्ता कठिनाइलाई सरलीकृत र सहजीकरण गर्न सकिन्छ’ भनेर प्रमाणित गर्न समय लाग्छ । उनीहरू यस्तो प्रणालीले परिणाम र प्रक्रियामा बाधा पुर्‍याउने तथा समय धैरै लाग्ने भन्ने सोच्छन् । उनीहरू कहिलेकाहीँ परिपालना संस्कृतिको विरोध पनि गर्छन् । भनौं, आमरूपमा निरुत्साहन गर्छन् । जसले जलविद्युत् कम्पनीमा कर्पोरेट संस्कृति लागू गर्न हतोत्साहित बनाउँछ । 

(झ) कार्यान्वयन सजिलो हुनु

कर्पोरेट सुशासन प्रणालीको कार्यान्वयन गर्दा निकै समस्याहरू आउँछन् । नेपालको निजी क्षेत्रको हकमा संस्थागत शासकीय व्यवस्थाको कार्यान्वयन निकै कम मात्रामा भएको देखिन्छ । यसको अभावका कारणले अभ्यासबाट प्राप्त हुने ज्ञानहरू पनि स्वभाविक रूपमा थोरै उपलब्ध छन् । यसो हुँदा, कुनै कम्पनीले कर्पोरेट सुशासन प्रणाली विकास गर्न कठिन हुने र समय लाग्ने देखिन्छ ।

यस क्षेत्रमा काम गर्ने विज्ञहरू पनि पर्याप्त मात्रामा पाइँदैनन् । जति पाइन्छन्, ती वस्तुगत कम र सैद्धान्तिक ज्ञान बढी भएका भेटिन्छन् । यति हुँदाहुँदै पनि कुनै ऊर्जा उत्पादकले संस्थागत संस्कृति लागू गर्ने निर्णय गर्दछ भने पनि यसमा लाग्ने प्रयास, समय, अवरोध र लागत पक्षलाई ध्यानमा राखी कार्यान्वयनको प्रयास बीचमै छोड्ने सम्भावना रहन्छ । निरन्तरको प्रयास, संयमता र दूरदृष्टियुक्त उच्च कार्यकारी तहको व्यवस्थापन नभएसम्म कर्पोरेट सुशासनको कार्यान्वयन असम्भव हुन्छ । मतलब, कर्पोरेट सुशासन प्राणाली कार्यान्वयन गर्ने कार्य त्यति सजिलो विषय होइन ।

(ञ) नियमित विकास र सुधारको कमी

संस्थागत शासकीय व्यवस्थाको विकासदेखि कार्यान्वयनसम्म विविध समस्याहरू आइपर्ने प्रष्ट भइसक्यो । जस्तो कि, बाह्य तथा आन्तरिक अवरोध, यसको महत्त्व नबुझ्ने र बुझे पनि कार्यान्वयन नगर्ने वा गर्न नसक्ने आदि रहेका छन् । अन्तिम भए पनि निकै महत्त्वपूर्ण कुरा यो पनि छ कि, संस्थागत शासकीय व्यवस्था गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर विकास तथा सुधारोन्मुख योजना आवश्यक हुन्छ । ऊर्जा उत्पादकहरूमा यही कुराको ठूलो कमी देखिन्छ । जसले धेरथोर संस्थागत शासकीय व्यवस्था विकास गरेका छन्, उनीहरूमा नियमित विकास र सुधारको अभावले कर्पोरेट प्रणालीको सान्दर्भिकता घट्ने मात्र नभई काम नलाग्ने समेत भएका प्रशस्त उदाहरणहरू छन् । फलस्वरूप, सञ्चालक र कार्यकारीहरू संस्थागत शासकीय प्रणाली लागू गर्न अनिच्छुक हुन्छन् । यसर्थ यो भन्न सकिन्छ – कर्पोरेट शासन प्रणाली सान्दर्भिक नभएको यसको महत्त्व नभएर होइन, बरु नियमित विकास र सुधारको अभ्यास नभए हो । क्रमशः ... 

लेखक, भिजन इनर्जी एन्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष हुन् । यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३