विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपालमा सौर्य विद्युत् उपयोग भएको लामो समय भएको छ । घरघरका छानामा सौर्य पाता राखेर घरायसी प्रयोजनमा प्रयोग हुँदै आएको सर्वविदि तै छ । अहिले घरको छानाबाट उत्पादन भएको बिजुलीलाई कसरी हाम्रो ऊर्जा माग तथा सुरक्षामा परिपूर्ति गर्न सकिन्छ भन्ने चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

आज पनि देशमा बायोमास ऊर्जाको बाहुल्यता छ । सन् २०२२ को तथ्याङ्क हेर्दा ऊर्जा मिश्रणमा ६४.१७ प्रतिशत बायोमास, ७.४८ प्रतिशत विद्युतीय ऊर्जा र २८.३५ प्रतिशत हिस्सा जीवाश्मा इन्धन छ । विद्युतीय ऊर्जा खपतमध्ये अहिले पनि गार्हस्थतर्फ कुल ऊर्जाको ६०.५९ प्रतिशत उपभोग भइरहेको छ । यस्तै, २२.१७ प्रतिशत औद्योगिकमा, १०.४९ प्रतिशत यातायातमा, ४.७९ प्रतिशत व्यावसायिकरूपमा, १ प्रतिशत निर्माणतर्फ र ०.९४ प्रतिशत कृषि क्षेत्रमा उपभोग भइरहेको छ । कृषि क्षेत्रमा विद्युत्को उपभोग अत्यन्त कमजोर देखिन्छ ।

ऊर्जाको वर्तमान अवस्था

विद्युतीय ऊर्जातर्फ नेपालमा जलविद्युत्‌काे प्रमुख हिस्सा छ । पछिल्ला केही वर्षअघिदेखि ‘ग्रीड टाई सौर्य विद्युत्’बाट पनि ग्रीडमा विद्युत् आपूर्ति भइरहेको छ । हाल ग्रीडमा उपलब्ध करिब ३१०० मेगावाटमध्ये जलविद्युत्‌बाट ३००० मेगावाट र सौर्य विद्युत्बाट १०० मेगावाट विद्युत् उपलब्ध छ । जलविद्युत्मा नदी प्रवाही (रन अफ रिभर– आरओआर) प्रकारका आयोजनाको बाहुल्यता छ; एक चौथाइ ऊर्जा मौसमी र दैनिक भण्डारण (पिकिङ) प्रकारका छन् ।

प्रणाली सन्तुलन गर्न उपयोगी हुने पम्प–भण्डारण (स्टोरेज) आयोजना विकास हुन सकेको छैन । आरओआर आयोजनाले वर्षका चार महिना अधिक विद्युत् उत्पादन गर्छन् । बाँकी समय कम क्षमतामा सञ्चालन हुन्छन् । हिउँदको उत्पादन जडित क्षमताको २५ प्रतिशतभन्दा कम हुँदा भारतीय विद्युत्‌मा निर्भर हुनु परेको छ । यो समयमा भारतबाट आयात गरी व्यवस्थापन भइरहेको छ । वर्षामा उत्पादित अधिक विद्युत् आफैँले उपयोग गर्न नसक्दा भारतमा बिक्री भइरहेको छ ।

व्यवस्थापनमा सौर्य विद्युत्

सौर्य विकिरणबाट नेपालमा प्रतिवर्गमिटरमा प्रतिदिन ३.६ देखि ६.२ युनिट उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । छाया पर्ने उत्तर फर्केको जमिनमा प्रतिदिन ३.६ युनिट र उच्च पहाडी क्षेत्रको दक्षिण फर्केको जमिनमा प्रतिदिन ६.२ युनिट उत्पादन हुन्छ ।

यस्तै, नेपालमा वर्षको ३०० दिन राम्रो घाम लाग्छ र औसत प्रतिवर्गमिटर दैनिक ४.७ युनिट प्रतिदिन विद्युत् उत्पादन हुन्छ । यसको आधारमा नेपालमा ५० हजार टेरावाट घण्टा विद्युत् उत्पादन हुन सक्ने अध्ययनबाट देखिएको छ । यी तथ्याङ्कको आधारमा भन्न सकिन्छ, नेपाल सौर्य विद्युत् उत्पादनका लागि स्वर्ग भूमि हो । उल्लिखित सम्भाव्यताको १० प्रतिशतमात्र उपभोग गरियो भने पनि हामीसँग सौर्य विद्युत् उत्पादनको अथाह सम्भाव्यता छ ।

नेपालमा १५० भन्दा सञ्चालनमा रहेका विद्युत्गृह छन्, पुरानै पीपीए दरमा हरेकमा एक–एक मेगावाट साैर्य विद्युत् प्लान्ट निर्माण गर्न प्रेरित गरियो भने एक वर्षभित्र १५० मेगावाट उत्पादन गर्न सकिन्छ । प्रसारण लाइन र नयाँ ट्रान्सफर्मर नफेरी वा कुनै लगानी नगरी आउन सक्ने स्रोत छ तर राज्य तथा नीतिले त्यता ध्यान दिएको देखिँदैन ।

ग्रीडमा आवद्ध सौर्य विद्युत्

नेपालमा घरेलु उपयोगका लागि सौर्य विद्युत्‌काे उपयोग धेरै वर्षअघिदेखि भएको हो । ग्रीड जडित सौर्य विद्युत्को विकास भने सरकारले २०७२ सालमा ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणापत्र ल्याएपश्चात् शुरू भयो । यसपछि मात्र ग्रिड जडित सौर्य विद्युत्‌लाई सम्बोधन गरियो । त्यो घोषणा भएको ९ वर्ष भयो ।

यी ९ वर्षमा जम्मा १०४.३९८ मेगावाट बराबरका आयोजना निर्माण भए । यसलाई आधार मान्दा हरेक वर्ष १० मेगावाटका दरले उत्पादन भइरहेको रहेछ । भारतले अहिलेसम्म ७३ हजार मेगावाट सौर्य विद्युत् उत्पादन गरिरहँदा हामीले वर्षको १० मेगावाट मात्रै उत्पादन गर्न सक्नु विडम्बना नै मान्नुपर्छ । यद्यपि, आकर्षण बढेकै छ ।

विद्युत् विकास विभागका अनुसार ६१६ मेगावाटका आयोजनाले अध्ययन अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ७९ मेगावाटका आयोजनाको उत्पादन अनुमतिपत्र जारी भएको छ । उत्पादन र अध्ययन अनुमतिपत्र लिन ५६/५६ मोगावाटका आयोजनाको आवेदन परेको छ । आकर्षण बढिरहेको छ तर जुन रूपमा जानुपर्ने थियो, त्यो भइरहेको छैन । यसको कारण विद्युत् खरिद सम्झौता (पीपीए) नखुलेर पनि हो । अब पीपीए खुलेको हुँदा विकासकर्ताका लागि यो सुनौलो समय मान्नुपर्छ । २० रोपनी जग्गाबाट १ करोड रूपैयाँ आम्दानी गर्ने कुनै क्षेत्र छ भने त्यो सौर्य विद्युत् नै हो ।

नीति–नियम र मूल्य

सरकारले ल्याएको ९९ बुँदे कार्ययोजनामा १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जसमा, ४०–४५ प्रतिशत जलाशय तथा पम्प–जलाशय, २५–३० प्रतिशत आंशिक–जलाशय (पी–आरओआर), १५–२० प्रतिशत नदी प्रवाही (आरओआर) र ५–१० प्रतिशत नवीकरणीय ऊर्जा (सौर्य र वायु बाट उत्पादन गर्ने भनियो । सरकारले २०७५ सालमा श्वेतपत्र जारी गर्‍यो । त्यसमा पनि सौर्य तथा अन्य नवीकरणीय ऊर्जाको हिस्सा ५–१० प्रतिशत राखिएको छ । त्यसपछि, नेपाल विद्युत् प्राधिकरणले आफ्ना विभिन्न सबस्टेसनहरूमा ६४ मेगावाट विद्युत् जोड्ने गरी प्रस्ताव आह्वान गर्‍यो । जसको मूल्य प्रतियुनिट ९.६१ रूपैयाँ तोकियो । प्रतिस्पर्धा मार्फत ६० मेगावाटको मात्र प्रस्ताव पर्‍यो ।

सरकारले प्रस्ताव आह्वानको बीचमा ग्रिड कनेक्टेड वैकल्पिक ऊर्जा कार्यविधि ल्यायो । त्यो कार्यविधिले अघिल्लो दर संशोधन गरी प्रतियुनिट ७.३० रूपैयाँमा झारिदियो । यो दरमा एक चौथाई आयोजना मात्र निर्माण भए । पुनः सन् २०१८ मा ३० महिनाका लागि प्रतियुनिट ६.६० रूपैयाँ मूल्य तोकियो । यसमा एसियाली विकास बैंक (एडीबी) ले प्रतियुनिट १० रूपैयाँ भायबिलिटी ग्याब फण्डिङ (भीजीएफ) को सुविधा ल्यायो । यो प्रावधानमा केही आयोजनाहरू विकास भए । सरकारले सन् २०२१ मा पुनः संशोधन गरेको नवीकरणीय ऊर्जाको कार्यविधिमा प्रतियुनिट ७.३० रूपैयाँको दर खारेज भयो । पछिल्लो समय प्रतिस्पर्धामा विकास गर्ने भनेर प्रतियुनिट ५.९४ रूपैयाँको दर तोकिएको छ ।

उक्त दरमा घटाघट गरी प्राधिकरणले सन् २०२२ मा १०० मेगावाटका लागि ठेक्का आह्वान गर्‍यो । त्यसमध्ये, ९० मेगावाटको मात्र ठेक्का पर्‍यो । अहिले यी आयोजनाहरू वित्तीय स्रोत जुटाउने तयारीमा छन् । पछि प्राधिकरणले सौर्य विद्युत् विकासमा उदार नीति लिएको देखिन्छ । केही महिनाअगाडि मात्र ८०० मा २० प्रतिशत थपेर ९६० मेगावाट विकास गर्न प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणका देशभरिका १६० वटा सबस्टेसनमा ३३ केभीदेखि १३२ केभी सबस्टेसनमा जडान गर्ने गरी प्रस्ताव मागिएको हो । सौर्य विद्युत् विकासका लागि यो नयाँ क्षितिजको ढोका खोलिएको मान्नुपर्छ । 

सस्तो लागत

जो जसले जलविद्युत् विकास गरिरहेका छन्, उनीहरूका लागि सौर्य विद्युत् क्याम्प बनाउनु सरह हो । यो निकै थोरै समयमा निर्माण गरी सञ्चालनमा ल्याउन सकिन्छ । सौर्य विद्युत्ले जीवाश्मा इन्धनलाई सजिलै प्रतिस्थापन गर्न सक्छ । प्रतिमेगावाट ६/७ करोड रूपैयाँमै निर्माण गर्न सकिने हुँदा लागतको हिसाबले जलविद्युत् भन्दा सस्तो छ ।

फाइदै–फाइदा

नेपालसँग ९३० मेगावाट बराबरका दैनिक पानी सञ्चित गर्न सकिने मौसमी जलाशय जलविद्युत् आयोजना छन् । यी क्षेत्रमा सौर्य विद्युत् विकास गर्न सकिन्छ । दिउँसो सोलारबाट र साँझ वा राती आरओआर र आंशिक–जलाशय सञ्चालन गरी विद्युत्को माग पूर्ति गर्न सकिन्छ । त्यस्तै, जलविद्युत्‌ले कम विद्युत् उत्पादन गर्ने सुख्खायाममा सोलारबाट अधिक उत्पादन गर्ने हँुँदा यी एक– अर्काका परिपूरकको रूपमा कार्य गर्छन् ।

प्राधिकरणका सबस्टेसनहरूमा जडान गर्ने गरी सौर्य विद्युत् विकास गर्दा प्रसारण लाइन तथा ट्रान्सफर्मरको आवश्यकता पर्दैन । यसो हुँदा, प्राधिकरणको भार पनि कम हुन जान्छ । सौर्य विद्युत्‌ले नयाँ क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न ठूलो मद्दत पुर्‍याउँछ । सौर्य आयोजनाको निर्माण छोटो समय करिब १ वर्षभित्रै सम्पन्न गर्न सकिने हुँदा समयमै विद्युत्‌काे माग पूर्ति गर्न सकिन्छ । यसलाई कृषिसँग पनि आवद्ध गर्न सकिन्छ । छोटो निर्माण अवधिका कारण बैंकको ब्याज तिर्न पनि लामो समय पर्खिनु पर्दैन । जलविद्युत्‌काे तयारी लागतभित्र सौर्य विद्युत् विकास गर्न सकिन्छ ।

ग्रामीण विद्युतीकरणका लागि अफ ग्रिड सौर्य विद्युत्‌ले ठूलो भूमिका खेल्छ । अहिले, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले त्यसमा काम गरिरहेको छ । प्राविधिकरूपमा ग्रीडको भोल्टेज विस्तार गर्न पनि यसले काम गर्छ । नवीकरणीय ऊर्जा क्षेत्रमा सरकारले गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न समेत यो सहायक सिद्ध हुने कुरामा दुई मत रहँदैन । 

दिगो नीति र लगानी

सरकारले २०४९ सालमा विद्युत् ऐन ल्यायो, समग्र जलविद्युत्‌लाई यसैले नियमन र निर्देशन गरिरहेको छ । सौर्य विद्युत्‌काे क्षेत्रमा पनि यस्तै दिगाे नीतिको खाँचो महसुस गरिएको छ । प्राधिकरणले ९६० मेगावाट बराबरको ठेक्का आह्वान गरेको छ । यति क्षमताका आयोजना विकास गर्न प्रतिमेगावाट ५ करोड रूपैयाँ बैंकबाट लगानी भयो भने पनि ५० अर्ब रूपैयाँ आवश्यक पर्ने देखिन्छ । एक– डेढ वर्षभित्र यो रकम चाहिन्छ ।

२८ वटा बैंकहरूमा एउटाले ७० करोड रूपैयाँ लगानी गर्नुपर्ने देखिन्छ । यसैले, यसमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई अपरिहार्य छ । संसारभरि नवीकरणीय ऊर्जा सम्बन्धी कोषहरू छन्, तिनलाई भियभयाउन पहल गर्नुपर्छ । यस्तै, आम्दानीतर्फ सबस्टेसन तथा प्रसारण लाइनमा समस्या हुँदा यसको आम्दानीमा असर पर्छ ।

अवसर नै अवसर

नेपालमा भएका पर्याप्त नदी प्रवाही र आंशिक–जलाशय आयोजना नै सौर्य विद्युत्‌का लागि आवसर हुन् । यी आयोजनाका जलाशय हामीले प्रयोग गर्न सक्यौँ भने महँगा ब्याट्रीको विकल्पको रूपमा हामीसँग प्राकृतिक भण्डारण क्षमता विद्यमान छ । नेपालमा १५० भन्दा सञ्चालनमा रहेका विद्युत्गृह छन्, पुरानै पीपीए दरमा हरेकमा एक–एक मेगावाट साैर्य विद्युत् प्लान्ट निर्माण गर्न प्रेरित गरियो भने एक वर्षभित्र १५० मेगावाट उत्पादन गर्न सकिन्छ । प्रसारण लाइन र नयाँ ट्रान्सफर्मर नफेरी वा कुनै लगानी नगरी आउन सक्ने स्रोत छ तर राज्य तथा नीतिले त्यता ध्यान दिएको देखिँदैन ।

प्राधिकरणले भारतबाट महँगो बिजुली आयात गरिरहेको अवस्थामा सौर्य विद्युत्‌लाई प्रोत्साहन गरेर केही राम्रो दर दियो भने त्यो प्रतिस्थापन गर्न ठूलो मद्दत पुग्छ । कार्बन व्यापारमा पनि हामीले सौर्य विद्युत्‌बाट थप फाइदा लिन सक्छौँ । दक्षिण एसियालाई ब्ल्याक इनर्जीबाट बाहिर ल्याउन सौर्य विद्युत्‌ले ठूलो भूमिका खेल्न सक्छ ।

लेखक, सौर्य विद्युत् उद्यमी तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का कार्यकारी सदस्य हुन् । यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३