मेरो प्यारो आँधीखोला, आज किन मौन छौ ?
पहिलेजस्तो गुनगुनाएर, गीत किन गाउँदैनौ ?
तिमीले देखेका थियौ, बालापनका ती रमाइला क्षण,
अब तिमीमै बग्छन्, कुहिएका सपना र छटपटाहटका धन ।
पहिला तिमीले पोस्थ्यौ, खेतबारी, वन र बगैंचा,
आज तिमीमाथि बनाइन्छ, ढल फाल्ने रासायनिक नाला ।
पहिला तिमी पिउन योग्य थियौ, पूजा गरिन्थ्यो जल,
आज तिमीमाथि फ्याँकिन्छ, प्लास्टिक, विष, र नुनको दल ।
कहिले गर्जन्थ्यौ बर्सातमा, दन्काएर तटबन्ध भत्काउने,
आज तिमी चुर्लुम्म रुन्छौ, आफ्नै अस्तित्व हराउने ।
किनारा तिम्रो साँघुरिएको, किनारैमा घर ठडिएको,
अनि भन्ने तिमीलाई दोषी, जब बाढीले सबै बगाएको ।
बालकका पाइला हराए, तिमीमाथि हिँड्ने अधिकार छैन,
तिमी नदी हौ अब केवल कागजमा, बाँच्ने आधार छैन ।
तिम्रो छातीमा बुलडोजर चलेको छ, विकासको नाममा,
तर कसैले सुनेन तिमीले बोलेको, वेदनाको धुनमा ।
हे मानिस ! तिमीले बिर्सियौ कि
नदी मरेपछि तिमी पनि मर्छौ,
नदी सुक्दा तिमी पनि सुक्छौ,
अनि सम्झिन्छौ आँधीखोलाको मायालु उर्लन ।
तर त्यो दिन
शायद धेरै ढिलो हुनेछ,
किनकि तिमीले आँधीखोलाको
मनको घाउ बुझ्न सकेनौ ।
वालिङ, स्याङ्जा