किस्पाङ (नुवाकाेट) । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा सञ्चालन गरिरहेको २२०/१३२/३३ केभी त्रिशूली ३बी हब सबस्टेसन बाढी तथा नदी कटानको थप जोखिममा परेको छ । माथिल्लो क्षेत्रमा भएको वर्षासँगै त्रिशूली नदीमा आएको बाढी पूर्वाधार क्षेत्रमा प्रवेश गरेपछि सबस्टेसनको सुरक्षाका लागि निर्माण गरिएको ‘सेर वाल’ समेत ढल्किएर कटानको जोखिम बढेको हो ।
गत असार २४ गते बिहान ल्हेन्दे नदीबाट भोटेकोसी हुँदै त्रिशूलीमा आएको तीव्र बहाबको बाढीले नदीको धार परिवर्तन गरी त्रिशूली–३ ‘बी’ हब सबस्टेसनका पूर्वाधार रहेको जमिन कटान गर्दा १३२ केभीका २ वटा 'बे' लगायतका संरचनामा क्षति पुर्याएको थियो । पहिले कटान गरेको सोही स्थानमा सोमबार बिहान ४ बजेदेखि पुनः बाढी पसेको सबस्टेसनका इन्जिनियर लक्ष्मण घिमिरेले ऊर्जा खबरलाई जानकारी दिए । बाढीले सबस्टेसनको सुरक्षाका लागि निर्माण गरिएको ‘सेर वाला’ समेत ढल्काई त्यसलाई बीचमा पारेर तीव्र बहाबका साथ बगिरहेको छ ।
‘३ साताअघि आएको बाढीले कटान गरेको ठाउँमा हामीले न्यूनतम ३ देखि अधिकतम ५ तहसम्मको ग्याबिन वाल लगाउँदै थियौँ,’ उनले भने, ‘अहिले फेरि त्यहाँ तीव्र बेगको बाढी पसेर थप कटान र संरचनामा क्षतिको जोखिम बढाएको छ ।’ माथिल्लाे क्षेत्रमा अझ ठूलाे वर्षा र तिब्बती क्षेत्रमा असार २४ गतेको जस्तै हिमताल बिस्फोट भई बाढी आए अझ ठूलो कटानको जोखिम हुने उनले बताए ।
उनका अनुसार असार २४ गतेको बाढीले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् केन्द्रको बिजुली जोड्न निर्माण गरिएको २ वटा ‘बे’ मा क्षति पुर्याउनुका साथै १३२/३३ केभीको स्वीचयार्ड क्षेत्रमा १३० मिटर लम्बाइको कटान गरेको थियो । त्यस्तै, २२० केभीको स्विचयार्ड क्षेत्रमा ३० मिटर कटान गरेको थियो । बिजुली जोड्न बनाएको ‘बे’ र बाँध संरचनामा पुगेको क्षतिका कारण हालसम्म ६० मेगावाटको माथिल्लो त्रिशुली–३ ‘ए’ को विद्युत् उत्पादन सुचारु हुन सकेको छैन ।
३३० मेगावाट उत्पादन ठप्प हुने जाेखिम
बाढी तथा कटानका कारण सबस्टेसन पूर्ण रूपमा क्षति भए त्रिशुली करिडोरका जलविद्युत् केन्द्रको करिब ३ सय ३० मेगावाट विद्युत् उत्पादन ठप्प हुने जोखिम छ । यस सबस्टेसनमा विद्युत् जोडेका १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको साञ्जेन खोला (साला–सुङ्गी प्रालि), ५७.३ मेगावाटको साञ्जेन, ६० मेगावाटको त्रिशूली, १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला, ५ मेगावाटको तादी खोला र ४.९९ मेगावाटको तल्लो तादी गरी ३३०.५९ मेगावाटका ७ जलविद्युत् केन्द्रको उत्पादन बन्द गर्नुपर्ने अवस्था आउने जोखिम देखिएको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजना अन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंँसीमा रहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसन २०८१ जेठ ४ गते उद्घाटन गरिएको थियो ।
यो पनि : ७ जलविद्युत् केन्द्र र एक सबस्टेसनमा क्षति, झण्डै २५० मेगावाट विद्युत् उत्पादन ठप्प
तस्बिरहरू : लक्ष्मण वियाेगी






