काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–११ मा निर्माण भएको ९.६ मेगावाटको दरम खोला जलविद्युत् आयोजनाको संरचनाको परीक्षण सुरु भएको छ । दरम खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको आयोजनाको परीक्षण सुरु भएको आयोजनाका आवासीय इन्जिनियर निरज दासले ऊर्जा खबरसँग बताए ।
‘आयोजनाको निर्माण सकिएपछि अहिले हामी आयोजनाका संरचनाको पानी भरेर परीक्षण (वाटर फिलिङ टेस्ट) गरिरहेका छौँ,’ उनले भने, ‘आइतबारदेखि परीक्षण भएकोमा अहिलेसम्म सबैजसो संरचनाको निर्माण सफल देखिएको छ ।’
आउँदा करिब १० दिनभित्रमा परीक्षण सकेर आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य रहेको उनको भनाइ छ । १५ दिनको परीक्षण उत्पादन सकिएपछि उक्त जलविद्युत् केन्द्रले व्यावसायिक विद्युत् उत्पादन गर्ने छ । यसका लागि करिब १ महिना लाग्ने उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणसँग सुरुमा ७.३ मेगावाटको विद्युत् खरिद सम्झौता (पिपिए) गरेको भए पनि पछि आयोजनाको क्षमता विस्तार गरिएको थियो । कम्पनीले विद्युत् विकास विभागबाट २०७३ माघ २३ गते उत्पादन अनुमतिपत्र लिए संरचना निर्माण गर्न सुरु गरेको थियो ।
आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणका हरिचौर सबस्टेसनमा जोडिने छ । आयोजनाको विद्युत् जोड्न विद्युत्गृहदेखि १४ किलोमिटर टाढा रहेको सबस्टेसनसम्म आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको छ ।
आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) अगुवाइमा एनआइसी एसिया बैंकले पनि ऋण लगानी गरेको छ ।