काठमाडौँ । म्याग्दीको धौलागिरी गाँउपालिकामा अवस्थित धौला र खेवास खोलाको पानीको उपयोग गर्दै १०.८ मेगावाटको आंशिक जलाशय धौला खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । धौलाश्री पावर कम्पनी प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो ।
विद्युत् विकास विभागका अनुसार आयोजनाका हेडवर्क्स, ग्राभेल ट्रयाप, सेटलिङ बेसिन, हेडरेस पाइप, फोरबे, पेनस्ट्क पाइप, पावरहाउस र टेलरेस जस्ता सम्पूर्ण संरचनाहरू धौलागिरी गाँउपालिका–१ मा रहने छ ।
आयोजनाबाट वार्षिक सरदर ६३.९४ गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने र उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् २० किलोमिटर लामो प्रसारण लाइन मार्फत विद्युत् प्राधिकरणको डाँडा खेत सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने जनाएको छ ।
आयोजनाको सम्पूर्ण संरचनाहरू धौलाखोलाको बायाँ किनारमा रहनेछन् । आयोजनाबाट २०८५ असारसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।