विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
भारतमा मोदी सरकारले ‘राष्ट्रिय विद्युत् नीति, २०२६’ ल्याउँदै

काठमाडौँ । भारतको ऊर्जा मन्त्रालयले मस्यौदाका रूपमा हालै सार्वजनिक गरेको प्रस्तावित ‘राष्ट्रिय विद्युत् नीति, २०२६’ पारित भई कार्यान्वयनमा आए नेपालसहितका छिमेकी मुलुकको ऊर्जा क्षेत्रलाई सकारात्मक तथा प्रत्यक्ष प्रभाव पार्ने सङ्केत देखिएको छ । १२ फेब्रुअरी सन् २००५ मा भारतले कार्यान्वयनमा ल्याएको राष्ट्रिय विद्युत् नीतिमा दुई दशकपछि भारतले पहिलो पटक पुनरावलोकन गर्न लागेको हो ।

उक्त नीतिमार्फत भारतले ‘एक सूर्य, एक विश्व, एक ग्रिड (ओएसओडब्लुओजी) अवधारणाअन्तर्गत सीमापार विद्युत् अन्तर–आबद्धता सुदृढ गर्दै क्षेत्रीय ऊर्जा सहकार्य विस्तार गर्ने रणनीति अघि सारेको छ । साथै, नीतिले सौर्य र वायु ऊर्जासँगै ब्याट्री भण्डारण, पम्प-जलाशय र हरित हाइड्रोजनमा ठूलो लगानी गर्ने स्पष्ट सङ्केत दिएको छ । यसले दीर्घकालीनरूपमा भारतको आन्तरिक ऊर्जा आत्मनिर्भरता बढाउने र भविष्यमा आयात आवश्यकता क्रमशः घट्ने सम्भावना पनि देखाएको छ ।

त्यस्तो अवस्थामा नेपालको जलविद्युत् भारतको बजारमा प्रतिस्पर्धात्मक बन्न सक्छ कि सक्दैन भन्ने प्रश्न भने गम्भीर देखिएको छ । भारतको ऊर्जा रूपान्तरण यात्रामा नेपाल सक्रिय साझेदार बन्न सके विद्युत् निर्यात, लगानी र क्षेत्रीय सहकार्यबाट लाभ लिन सक्ने छ । अन्यथा, नेपाल केवल सीमित अवधिको आपूर्तिकर्ता बन्ने उतिकै जोखिम पनि देखिन्छ ।

त्यसो हुँदा, भारतको प्रस्तावित नीतिका व्यवस्था नेपालको ऊर्जा भविष्यसँग गाँसिएको छ । यस नीतिबाट प्राप्त हुने अवसर र जोखिम दुवैलाई भूराजनीतिक तथा कूटनीतिक कोणबाटसमेत गम्भीर विश्लेषण गरी लिने रणनीतिले नेपालको ऊर्जा विकासमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ । पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको भारतको विद्युत् माग, स्वच्छ तथा हरित ऊर्जा रूपान्तरणमा परिरहेको दबाब र दिगो आर्थिक समृद्धिको लक्ष्यजस्ता कारण भारतले यो नीति ल्याउन लागेको देखिन्छ । मस्यौदामा सन् २०४७ सम्म भारतलाई विकसित बनाउने दृष्टिकोणअनुसार औद्योगिकीकरण, विद्युतीय यातायात, हरित हाइड्रोजन, डाटा सेन्टर र सहरीकरणसँगै विद्युत् खपत तीव्र रूपमा बढ्ने प्रक्षेपण छ ।

सोही आधारमा हाल १ हजार ४६० युनिट रहेको प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर सन् २०३० सम्म २ हजार युनिट र २०४७ सम्म ४ हजार युनिटभन्दा माथि पुर्‍याउने लक्ष्य राखिएको छ । पुरानो नीतिका आधारमा यो विशाल लक्ष्य पूरा गर्न नसकिने निष्कर्षसहित नयाँ नीति ल्याउन लागेको त्यहाँको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यस्तै, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय प्रतिबद्धताले पनि भारतलाई विद्युत् नीति पुनर्संरचना गर्न बाध्य बनाएको देखिन्छ । पेरिस सम्झौता अनुसार भारतले कार्बन उत्सर्जन तीव्र रूपमा घटाउँदै सन् २०७० सम्म नेट–जिरोमा पुग्ने लक्ष्य लिएको छ । यसका लागि विद्युत् क्षेत्रमा हरित ऊर्जा (स्वच्छ तथा नवीकरणीय) ऊर्जाको हिस्सा बढाउनुपर्ने देखिन्छ ।

त्यसो हुँदा मस्यौदामा भारतले सौर्य, वायु, जल, ब्याट्री भण्डारण जस्ता स्रोतबाट उत्पादन गर्न सकिने विद्युत्‌का साथै विद्युत् ग्रिडको आधुनिकीकरणलाई समेत उच्च  प्राथमिकतामा राखेको छ । नीतिमा गैर–जीवाश्म (स्वच्छ तथा नवीकरणीय) स्रोतबाट सन् २०४७ सम्म कुल जडित विद्युत् क्षमताको ८० प्रतिशतभन्दा बढी उत्पादन गर्ने प्रक्षेपण गरिएको छ ।

भारतको ऊर्जा मन्त्रालयले २० जनवरी २०२६ मा उक्त प्रस्तावित नीतिको मस्यौदामाथि एक महिनाको समय दिएर सरोकारवाला निकायबाट लिखित राय–प्रतिक्रिया माग गरेको छ । त्यस अवधिभित्र प्राप्त हुने राय सुझावमा भारतको ऊर्जा मन्त्रालयले उक्त नीति अघि बढाउने जनाएको छ । यस्तै नवीकरणीय ऊर्जाको सीमापार व्यापार सक्रियरूपमा प्रवर्द्धन गर्ने स्पष्टता छ, जसले नेपालका जलविद्युत् आयोजनाका लागि नयाँ अवसर सिर्जना हुने अपेक्षा गर्न सकिन्छ । यसलाई भारतले छिमेकी मुलुकसँगको ऊर्जा सहकार्यमा लगाएका प्रतिबन्धात्मक व्यवस्था खारेज गर्ने सङ्केतका रूपमा समेत लिन सकिन्छ ।

भारतको ऊर्जा मन्त्रालयले नै सन् २०१६ र सन् २०१८ मा जारी गरी कार्यान्वयनमा ल्याएको ‘गाइडलाइन्स फर क्रसबोर्डर इलेक्ट्रिसिटी ट्रेड (इन्पोर्ट/एक्सपोर्ट)’ मा नेपालसहित छिमेकी मुलुकको ऊर्जा आयातमा विभिन्न सर्तसहितका प्रतिबन्धहरू लगाइएका थिए ।

खासगरी, नेपालमा नेपाल-भारत सरकारी तथा निजी बाहेक तेस्रो मुलुकको लगानीका आयोजनाबाट उत्पादित विद्युत् भारतमा आयात गर्न प्रतिबन्ध लगाइएको थियो । यसले बाह्य विद्युत् बजार नदेखेपछि ठूलो परिमाणमा आउन सक्ने प्रत्यक्ष वैदेशिक लगानी तथा तेस्रो मुलुकका विभिन्न ढाँचाका लगानीलाई निरुत्साहित गरेको छ । प्रस्तावित नयाँ नीतिले भने त्यस्तो अवस्थाको अन्त्य गर्ने सङ्केत दिएको छ । यो नेपालको ऊर्जा बजारका हिसाबले सकारात्मक देखिन्छ ।

हालको नीतिले नरेन्द्र मोदी नेतृत्वको सरकारले सुरुदेखि नाराका रूपमा अघि बढाएको ‘छिमेकी पहिलो’ नीतिलाई समेत व्यवहारमा उतार्न खोजेको जस्तो देखिएको छ । यद्यपि, यसको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय राजनीति, शक्ति सन्तुलन, ऊर्जा कूटनीति, भूराजनीतिक प्रभाव जस्ता कैयौँ विषयले प्रभाव पारेको सहज अनुमान गर्न सकिन्छ ।

हाल नेपालले वर्षामा भारतमा विद्युत् निर्यात र सुक्खामा आयात गर्दै आएको छ । भारतको नयाँ नीति कार्यान्वयनसँगै सीमापार प्रसारण लाइन विस्तार, हरित फिडर र समन्वयकारी नियमनको विकास भए नेपालको विद्युत् निर्यात थप सहज हुने अपेक्षा गर्न सकिन्छ । विशेषतः जलाशय र आंशिकजलाशय आयोजनाबाट उत्पादित विद्युत् भारतको ग्रिड स्थायित्वका लागि महत्त्वपूर्ण हुन सक्ने ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन् । यद्यपि, भारतको नीति केवल आयातमा निर्भर नरहने पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३