विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँबासीका घर–घरमा २०८० सालको माघ १ गतेदेखि मेलम्चीको पानी आइरहेको छ । विगत वर्षमा फागुन/चैत्रको अन्तिमतिरमात्रै आउने पानी यसपटक चाँडै आयो । उपत्यकाका १ लाख ५० हजार धारामा पानी आएको समाचार छ । एउटा धारा बराबर ४ लाख ५० हजार लागत परेको समाचार पनि बिबिसी नेपाली सेवाले दियो । यही सन्दर्भबाट थाहा हुन्छ– कति धेरै मूल्यवान छ, मेलम्चीको पानी ।

मेलम्ची खोलामा बगिरहेको पानी, यस वर्षको वर्षा मौसम सकिएको करिब तीन महिनापछि मात्रै सुरुङमा पानी पथान्तरण गरेर काठमाडौँतिर पठाउने साइत जुर्‍यो तर यो अस्थायी व्यवस्था हो । कुनै पनि दिन बन्द हुन सक्ने छ । स्थानीय स्रोतको पानीले नपुगेर काठमाडौँबासी काकाकुल बनेका थिए । मेलम्ची खोलामा सफा पानी बगिरहेको छ तर सरकार सुरुङको मुहान पुरिएको भनेर सुरुङमा पानी पठाउन आलटाल गरिरहेको थियो । काकाकुल जनता अनौपचारिकरूपमै एकजुट बने र उपत्यका खानेपानी संघर्ष समिति बनाए ।

गैर–राजनीतिक संघर्ष समितिले माननीय मन्त्रीदेखि आयोजना प्रमुखसम्मलाई भेटेर पानी माग गरे । समितले पत्रकार भेला, दबाबमुलक जुलुस र र्‍याली, प्रदर्शनी, कोणसभा जस्ता कार्यक्रमहरू गर्‍यो । उपत्यकाका सडकहरूमा मेलम्चीको पानी माग्दै नाराबाजी हुन थाल्यो । रित्ता गाग्री, बाल्टी बोकेर, ठटाएर नाराबाजी गरियो । “मेलम्चीको पानी छिटो खोल, पानीमाथिको चलखेल बन्द गर” जस्ता नारा लागे । सञ्चारमाध्यमहरूले तिनको प्रमुख समाचार बनाए । संघर्ष समितिले दबाबलाई व्यापक बनायो ।

विदेशी पर्यटकको आकर्षण केन्द्र पाटनको मंगलबजारमा नारा लाग्दै गर्दा एक विदेशी पाहुना जुलुसको भिडियो खिच्दै थिए । रित्ता भाडा देखेपछि अनुमान त लगाए होलान् । यद्यपि, पंक्तिकारलाई सोधे, म भने अलमलमा परेँ । वास्तविक कुरा भनौं सरकारको नालायकि पन उदांगो हुने, नभनौं जुलुसले बिम्ब देखाइसकेको छ । प्रचुरमात्रामा जलस्रोतको उपलब्धता भएको देशका राजधानीबासी सरकारसँग पानी मागिरहेका छन् ।

अहिले नेपालीमा बोलेको वा लेखेको उल्था गरेर आफ्नो भाषामा सुन्न सकिने प्रविधि छ । मैले झुटो बोले पनि प्रविधिले बोल्दैन । त्यसैले, मैले ढाटनुको औचित्य ठाँनिनँ र मैले जुलुसबारे जे बुझेको थिएँ, जुलुसको माग जे हो त्यही बताउने निश्चय गरेँ । किनकि, मैले नभने पनि प्रविधिमार्फत थाहा पाइहाल्छन् । विकसित मुलुकका ती पाहुनाले सायद त्यो समाचार आफ्नो मुलुकका जनतालाई दिन चाहान्थे । मैले वास्तविकता नै बताए । मज्जाले हाँसे र एक शब्दमा भने, ‘गैरजिम्मेवार सरकार ।’

संघर्ष समितिको सक्रियतामा मेलम्चीको पानी माग्दै सडकमा निस्केका हजारौं जनताहरू

वास्तवमा यो वर्ष मेलम्चीको पानी चाडै काठमाडौँ ल्याएर सरकारले जनताको मन जित्न सक्थ्यो तर समयमा काम गरेन र जनता सडकमा आए । संघर्ष समितिको दबाबपछि मात्रै पानी आयो । पानी पथान्तरण छिटो हुनुको प्रमुख कारक यही संघर्ष थियो भन्न सकिन्छ । काकाकुल काठमाडौँबासीले मेलम्चीको जयजय मनाए । एउटै आयोजना पटक–पटक उद्घाटन गरेर सरकारलाई पनि विश्व अभिलेख राख्ने मौका मिल्यो । सरकार स्वयंले जयजयकार गर्ने अवसर पायो ।

मेलम्चीको जयजयकार गर्नेहरू धेरै छन् । सुरुमा सन्त नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँमा ल्याएर सडक पखाल्ने भन्दा जनताले जयजयकार गरेका थिए । दातादेखिका प्रक्रियाहरू मिलाउनु पर्दा ढिला भयो । तैपनि, जनताले आशा गरिरहेका थिए । आर्थिक वर्ष २०७०/७१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ कामको थालनी भयो । करिब २७ किलोमिटर लामो सुरुङ खन्नुपर्ने, विदेशी दाताको सहयोगमा बन्ने हुँदा र सरकारले राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा समेत गर्‍यो । यसपछि, पक्कै समयमा सकिन्छ भन्ने आशा जनतामा थियो । देशी–विदशी परामर्शदाता, प्राविधिक र ठेकेदारहरू सक्रिय बने, जनताको पानी पाउने आशामा तीव्रता भयो ।

निर्धारित लक्ष्यअनुरूप काम हुन सकेन । समय र लागत बढ्दै गयो । भेरिएसनका नाममा कामहरू थपिँदै गए । ठेक्का तोडने र ठेकेदारहरू फेरिँदै गरे । फलस्वरूप राष्ट्रिय गौरवको आयोजनामा काम पाउने र लाभ पाउनेहरूको संख्यामा वृद्धि हुँदै गयो । ती सबैले आयोजनाको जयजयकार अवश्य गरे होलान् ।

मेलम्चीका नाममा हालसम्म गरिएको कुल खर्चका अंकहरूमा भिन्नता देखिन्छ । कसैले ६५ अर्ब रुपैयाँ भन्छन्, त कसैले ७५ अर्ब रुपैयाँ । मेलम्चीदेखि सुन्दरीजलसम्म पानी ल्याउने एक, सुन्दरीजलमा पानी प्रशोधन गर्ने, विद्युत उत्पादन गर्ने अर्को र सुन्दरीजलदेखि जनताका घरघरमा पानी पुर्‍याउने पाइप विच्छ्याउने तेस्रो गरी तीन आयोजनमा करिब ७५ अर्ब रुपैयाँ खर्च भएको हिसाब देखिन्छ ।

जति नै भए पनि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अनुदानमा बनाएको योजनाको लागत अंश र नेपाल सरकारको अंशबाहेक एसियाली विकास बैक (एडिबी) बाट नेपाली जनताको नाममा आएको ऋण हो । पछि, तिर्नैपर्छ ।

मेलम्चीको काममा लागिपरेका देशी–विदेशी परामर्शदाताहरूले वर्षौंदेखि काम पाएकै छन् । वातावरणीय प्रभाव अध्ययनका नाममा पनि अवश्य नै परामर्श प्राप्त भयो । परामर्शको काम पाउनेहरूले मेलम्चीको जयजयकार गरे तर कस्तो परामर्श दिइयो मेलम्ची बजार र वरपर ठूलो जनधनको क्षति हुने गरी प्राकृतिक विपत्ती वर्षेनी भइरहेको छ ।

बाढी–पहिरो पिडित जनताहरू मेलम्चीकै कारण यो विपत्ती आएको ठान्छन् । त्यसैले, सरकार र आयोजनासँग क्षतिपूर्तिको माग गरिरहेका छन् । आशा गरौँ, तिनीहरूको माग पनि पूरा हुनेछ र जयजयकार गर्ने दिन छिटै आउने छ । हालको सुरुङको मुहान रहेको स्थानमा पहिले बनेको हेडवक्र्स पहिरोले पुरेको छ । अब नयाँ हेडवक्र्स सोही ठाँउभन्दा करिब ९०० मिटर माथि बनाउनका लागि फेरि परामर्श आएको बताइएको छ । कति लागत बढ्छ, यकिन भइसकेको छैन । यसका लागि खटिनेले काम र दाम दुवै पाउने हुँदा फेरि मेलम्चीलाई जयजयकार गर्ने छन् ।

हालसम्म आयोजनाबाट मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी काठमाडौँतिर पथान्तरण हुने हो । सरकारी निकाय, दाता र परामर्शदाताले याङ्ग्री र लार्के खोलाबाट पनि थप १७/१७ करोड लिटर पानी ल्याउने गरी बृहत् मेलम्ची आयोजनाको प्रस्ताव भइरहेको छ । थप ३४ करोड लिटर पानीको आशामा ११ किलोमिटरभन्दा लामो सुरुङ अरू खन्नुपर्ने छ । लागत अनुमान छँदैछ । पूर्व निर्धारित लागत र समयमा आयोजना सम्पन्न गर्ने हाम्रो इतिहास छैन । यो बृहत् आयोजना कहिले सम्पन्न भएर काठमाडौँ उपत्यकाका जनताले छेलोखेलो पानी पाउँछन् ? अहिले नै भन्न सकिँदैन । यदि, यो बृहत् आयोजनाको कार्यान्वयन भएमा यसमा खटिनेले काम र दाम पाउने, लाभान्वितले २४ सै घन्टा हिमालको स्वच्छ पानी पाउने हुँदा काठमाडौँबासीले जति लागत परे पनि मेलम्चीको फेरि जयजयकार गर्ने छन् ।

साथै, मेलम्ची अनुगमनका नाममा भ्रमण गरेर दैनिक भ्रमणभत्ता लिने, मेलम्चीको नाममा आएका करोडौं मूल्यका महँगा सवारीलाई ‘मामाकी घोडी मेरी हि हि’ भन्नेहरूले विगतमा पनि आयोजनाको गुणगान गाएकै हुन् । अबको बृहत् आयोजनाबाट पनि त्यस्तो लाभ लिनेहरूले पुनः जयजयकार गर्ने नै छन् ।

नेपालको विकास इतिहासमा मेलम्चीलाई आफ्नो मूल उद्देश्यमा असफल तर अन्य मामिलामा सफल आयोजना मानिन्छ । अर्थात् मूल उद्देश्य पानी पथान्तरण र वितरण अस्थायी छ तर धेरै समूह र व्यक्तिहरूले इच्छित लाभ पाएका छन् । ती सबैले आयोजनाको जयजयकार गरेका छन् । जन–दबाबको कारण सीमित र अस्थयी रूपमा भए पनि छिटो पानी पाएकोले हामीले पनि जयजयकार गरेका छौँ । अस्तु !!!

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३