काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग अष्ट्रेलियाका राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गरकी छन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध ६५औँ वर्षमा प्रवेश गरेको प्रसङ्ग स्मरण गरे ।
त्यस अवसरमा उनले अष्ट्रेलियाबाट नेपालले प्राप्त गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमहरूले नेपालको जनशक्ति सुदृढीकरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
मन्त्री खड्काले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिँचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए ।
भेटमा राजदूत जोनस्टनले मन्त्री खड्कालाई सन् २०२५ सेप्टेम्बर ८–१० मा फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प्ड जलाशय जलविद्युत् सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरिन् ।
निमन्त्रणाप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले सो अवसरले ऊर्जा क्षेत्रका नयाँ अवसर पहिचान र ऊर्जा सम्मिश्रण हासिल गर्न पम्प जलाशय आयोजनाले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
राजदूत जोनस्टनले मन्त्री खड्काको पहलमा तयार भएको ‘ऊर्जा क्षेत्र विकास मार्गचित्र २०८१’ का लागि बधाई तथा सफल कार्यान्वयनका शुभकामना व्यक्त गर्दै थप जानकारी लिन जिज्ञासा राखिन् ।
मन्त्री खड्काले मार्गचित्रअनुसार सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताए । जसअन्तर्गत १३ हजार ५०० मेगावाट आन्तरिक खपत, १० हजार मेगावाट भारतमा निर्यात र ५ हजार हजार मेगावाट बंगलादेशमा निर्यात गर्ने योजना रहेको जानकारी गराए ।
राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत् विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस महत्त्वाकांक्षी योजनामा अष्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिइन् ।
मन्त्री खड्काले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विशेषगरी ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे । दुवै पक्षले आगामी दिनमा निरन्तर संवाद र सहकार्यलाई अझ फलदायी बनाउने विश्वास व्यक्त गरेका थिए ।