ए कोरोना, शुभ-प्रभात
कस्तो छ तिमीलाई ?
ooo
तिम्रो आगमनले विश्व हल्लियो
विज्ञानको आँगनमा
मृत्यु हाँस्न थाल्यो
अनुसन्धान र उपचार
सिमाना र पर्खालले विभक्त भए ।
मेरो भाषा, मेरो देश, मेरो भूगोल–
जय होस् !
ooo
कति लज्जित छ मानवता
र, यो सभ्यता
त्यसैले त मुर्झाएको छ
आगो ओकल्ने घाम पनि
रक्तस्राबले रुँदैछिन् चाँदनी
लर्खराएको छ, यो सिंगो धरा
ooo
हिमाललाई ज्वरो आएको छ
समुद्रलाई निमोनिया
मानिस मानिससँगै डराउँदैछ
र, त बेतोडले भाग्दैछ
उल्टो दिशा ताकेर
ooo
केही थान मास्कहरू
मानव सभ्यताको मुखौटो बन्दैछन्
उता भेन्टिलेटरमा छटपटाउँदैछ अस्तित्व
बगैचाको कोपिला निमोठिए झैँ
चाउरिँदैछन्, कलिला जवानीहरू
छट्पटाइरहेछन्, देहहरू वेदनामा
उता चिहानबाट निम्तो आएको छ, राँके भूतको
ooo
निस्पट्ट कालो रातमा
ऐठनबाट ब्यूँझेर म सोच्दैछु–
के यो लोकमा मृत्यु
डोली चढेर आएको हो
नव दुलही झैँ ?
ooo
यता बादल झैँ
विश्व विचरण गर्दै
निस्पक्षताको अलौकिक
अभिव्यञ्जनामा रम्दै
मानिसको अश्लिलतामा
जीवनको कला सुम्सुम्याउँदै
नशामा बहुलाएर
हामी उन्मुक्त हाँसोमा रमाइरहेछौं
ooo
हृदयमा बाक्लिएको तुवाँलोले
मुर्छित हुँदासम्म
किन भरिँदैछ, भकारीमा द्रव्य ?
सायद– परमात्माको रूपान्तरित आत्मा छ, सर्वत्र
कणकणमा सिद्धि र प्रसिद्धिको
गजुर टल्केको छ ।
ooo
हर निद्रा, चीर निद्रामा
बदलिने भय देख्दा–देख्दै
बौरन्न किन हो कुन्नी !
मानिसको जिउँदो आवशेष
ooo
भयको चपेटामा आखिर–
अस्पताल निरंकुश चिहान बन्दैछन्
विरामी देखेर तर्सिने संस्कृति फस्टाउँदैछ
मृत्युको हावाले हर–एक विक्षिप्त छन्
ooo
न साथी आउँछ न प्रिय
न त प्रियसीको एक थुँगा फूल
सुन्दैछु, तिमीले नभेटेको कुनै मान्छे
आफैंलाई कात्रो सिलाउँदैछ कतै
ooo
तर, उसको सर्त छ,
कात्रोमा गोजी हुनुपर्छ
कहिल्यै नचुहिने, नरित्तिने
उसको हरथोक अटाउने !
उफ ! उदेक–उदेक छ
यो जीवन र जगत !