काठमाडौँ । ताप्लेजुङमा निर्माणाधीन ५० मेगावाटको मेवा खोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीले विकास गरिरहेको उक्त आयोजनाकाे निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको हो ।
सिभिल संरचना निर्माणतर्फका सम्पूर्ण काम सम्पन्न भइसकेको र बाँकी रहेको इलेक्ट्राेमेकानिकलतर्फका काम धमाधम भइरहेको आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर दिपेश अधिकारीले ऊर्जा खबरलाई बताए । उनले भने, 'आयोजनाकाे भौतिक निर्माण कार्य करिब सकिएकाले दशैँअघि नै विद्युत्को परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य छ ।’
आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट घन्टा गरी कुल ३०३.०११ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ ।आयोजनाबाट उत्पादन हुने विद्युत् कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु सबस्टेसनमा जोडिने छ । विद्युत्गृहदेखि ढुंगेसाँघु सबस्टेसनसम्म ७ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गरेको हो ।
आयोजनाकाे लागत अनुमान ९ अर्ब रुपैयाँ रहेकाे छ । कुल लागतको ७५ प्रतिशत (७ अर्ब रुपैयाँ) बैंकको ऋण लगानी रहेको छ । बाँकी २५ प्रतिशतले हुन आउने २ अर्ब कम्पनीका प्रवर्द्धकहरूको स्वपुँजी लगानी रहेको छ ।
यो आयोजना सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ‘सुपर सिक्स’ आयोजना मध्येको एक हो । सुपर सिक्स अन्तर्गतका २३.५ मेगावाटको सोलु खोला र २५ मेगावाटको सिंगटी खोला निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । ८२ मेगावाटको तल्लो सोलु, १४.९ मेगावाटको मायाखोला र २४.१ मेगावाटको खारे खोला रहेका छन् ।