विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सरकारले दशकौंदेखि सरकारले विद्युत् उत्पादन, आन्तरिक खपत र सीमापार व्यापारसमेत गरी देशको अर्थतन्त्रको काँचुली फेर्ने परिकल्पना गर्दै आएको छ । तर, तत्तत् समयमा कुनै काम प्रभावकारी ढङ्ले हुन सकिरहेका छैनन् । विद्युत् उत्पादनमै समस्या छ । विद्युत् खरिद सम्झौता (पिपिए), प्रसारण लाइन निर्माण, जलस्रोतमा नदी बेसिन अनुसार हुनुपर्ने कामहरू तत्तत् निकायबाट भइरहेका छैनन् । यिनै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंशः 

विद्युत् प्राधिकरणले ‘कन्टिन्जेन्सी प्लान’का आधारमा निजी क्षेत्रका विद्युतगृह चलाउ र बन्द गर भन्छ । यहाँले यसको निराकरण हुन सक्छ कि सक्दैन ?

यो समस्या लामो रहँदैन, हामी समाधान दिन्छाैँ । पूर्वाधारका कामहरू भइरहेका छन् । केही सम्पन्न हुने अवस्थामा छन् । त्यसैले, समस्याको ग्राभिटी कति हो त्यसको अध्ययन गरेर अन्तरक्रिया गरेर समाधान गरेर अगाडि बढ्छौँ ।

एकातिर, बर्खाको बिजुली बेच्नुपर्ने आवश्यकता छ । अर्कोतिर, हिउँदमा नपुग भएर भारतबाट आयात गर्नुपर्ने विद्यमान परिस्थिति छ । यस्तो असन्तुलित व्यवस्थालाई बेवास्ता गरिएको हो ?

विद्यमान अवस्था नियाल्दा बर्खाको उत्पादन हिउँदको भन्दा करिब ३ गुणा बढी हुन्छ । खपतको दृष्टिले सुख्खा र बर्खामामा क्षमता करिब उस्तै देखिन्छ । यो असन्तुलनलाई न्यूनिकरण गर्न सकिन्छ, पूरै हटाउन सकिँदैन । यो ३ गुणा अन्तरको ‘ग्याप’ हटाउने प्रमुख विधि जलाशय आयोजना विकास गर्नु नै हो’ यस्ता प्रकृतिका आयोजनाको लागत ‘रन अफ रिभर’को अनुपातमा महँगो हुन्छ ।

जलाशय आयोजना विकास गरे पनि केही असन्तुलन अझै बाँकी रहन्छ । हाम्रो हिउँद र बर्खाको उत्पादन खोलाको बहावमा बढी निर्भर हुने हुँदा यस्तो असन्तुलन रहिरहन्छ । मानौं, बर्खाका लागि १० हजार मेगावाट खपतको क्षमता विकास गर्यौं भने पनि हिउँदमा पुग्दैन । हिउँदका लागि १० मेगावाटको क्षमता विकास गर्दा बर्खामा ३० हजार उत्पादन हुन्छ र २० हजार मेगावाट जगेडा हुन जान्छ । यसैले, हिउँद र बर्खाको सन्तुलन मिलाउन जलाशय आयोजना नै चाहिन्छ । त्यो अवस्था नआउँदासम्म बर्खाको बेच्नुपर्ने हुन्छ भने हिउँदमा नपुग भारतबाट किन्नुपर्छ ।

विद्यमान प्रणाली असन्तुलनको निकास ३ तरिकाबाट गर्न सकियो– पहिलो, जलाशय आयोजना विकास । दोस्रो, उत्पादित बिजुली आन्तरिक बजारसम्म सहज ढङ्गले पुर्‍याउन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्‍यो । तेस्रो, जगेडा बिजुली व्यापारको माध्यमबाट आर्थिक लाभ हुने गरी बेच्नुपर्छ ।

हामी ४–५ वर्ष अघिदेखि जगेडा बिजुलीको कुरा गरिरहेका छौँ; एकातिर, लोडसेडिङमुक्त भनेर बोलिरहेका छौँँ । अर्कोतिर, गार्हस्थदेखि औद्योगिक क्षेत्रसम्म विद्युत् कटौती भइरहेको गुनासाहरू आइरहेकै छन् । माग र आपूर्ति व्यवस्थापन गर्न नसकिएको वा परिस्थिति जटिल बन्दै गएको हो ?

देशमा शतप्रतिशत विद्युतीकरण भएको छैन । अहिले पनि केही क्षेत्रमा त २४सै घन्टा लोडसेडिङ छ । ९४ प्रतिशत विद्युतीकरणको कुरा भएपछि ५ प्रतिशत लोडसेडिङमै छौँँ । प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरी विद्यमान समस्या केही हदसम्म हल गर्न सकिनेछ । वितरण प्रणालीलाई अझ ‘स्मार्ट’ बनाउनुपर्नेछ । आन्तरिकरूपमा रहेको आवश्यकता पूर्ति गर्न पनि गाह्रो परेको छ । सुख्खायामको उत्पादन क्षमता घटिरहेको छ । सुख्खायाममा भारतबाट आयात गर्नुपर्ने अवस्थामा छौँँ, त्यसकारण सुख्खायामको उत्पादन क्षमताको सीमितता र आयात गर्नुपर्ने अवस्थाकै कारणले पनि हामी दबाबमा छौँ ।

दुई दशकदेखि यिनै कुरा दोहोर्‍याइरहेका छौँ तर व्यवहारमा उतार्न सकिएको छैन । यहाँको कार्यकालमा यी जटिलताहरू फुकाउनका लागि कस्ता कार्यक्रमहरू बनिरहेका छन् ?

पहिलो ऊर्जा सुरक्षाको कुरा हो । यो भन्नाले दुई भागबाट हेर्न सकिन्छ । पहिलो सबैको निम्ति ऊर्जा अर्थात् सबैमा सहज ढंगले ऊर्जाको पहुँच पुग्नुपर्दछ । ऊर्जा सुरक्षाको दृष्टिले आगामी आर्थिक वर्षमा ५ प्रदेशलाई पूर्ण विद्युतीकरण गर्ने योजनाका साथ काम गरिरहेका छौँँ । अबको २ वर्षभित्र बाँकी रहेको कर्णाली र सुदूरपश्चिम प्रदेश पूर्ण रूपमा विद्युतीकरण हुनेछन्  । यसका लागि ठोस कार्ययोजना अघि बढिरहेको छ ।

ऊर्जा उज्यालोको प्रयोजनका लागि मात्र होइन र घरयासी प्रयोजनको खपतको पक्ष पनि छ । खाना पकाउने, कोटा तथाउने वा हिटिङ र कुलिङमा खपत गर्न सकिन्छ । सबै प्रयोजनका लागि उपयोगी हुने अवस्थाको सुनिश्चिततालाई ऊर्जा सुरक्षाको रूपमा बुझ्नुपर्छ । दोस्रो, स्रोतको उपलब्धता र यसको सदुपयोग गरेर राष्ट्रलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने पक्ष हो । यसलाई हामी कार्यान्वयन गर्दै जान्छौँँ। यसो गर्नका लागि ३ वटा क्षेत्रमा विशेष केन्द्रीकृत भएर काम भइरहेका छन् ।

समृद्धिका लागि ऊर्जाको कुरा गरिरहँदा यसको व्यापारलाई पनि सँगै जोडेर लैजानुपर्छ । ऊर्जाको व्यापारबाट समृद्धिको खुड्किला उक्लिन सहयोग पुग्छ । तेस्रो, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नु हो । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका मुद्दाहरू पेचिला बन्दै गएका छन् । वातावरणीय स्वच्छताको प्रश्न जति महत्वका साथ हुँदै गइरहेको छ, यसले मानवीय जीवनमा जोखिमहरू पनि उत्पन्न गर्दै गइरहेको छ । स्वच्छ ऊर्जा र वातावरणीय सुधार हाम्रो मिसन पनि हो । यो पूरा गर्नका लागि पहिला उत्पादन वृद्धि गर्नुपर्‍यो । यसका लागि पूर्वाधारको विकास गर्नुपर्‍यो र वितरण प्रणालीमा सुुधार ल्याउनुपर्‍यो । चौथो, यसको व्यापारिक नेटवर्क  बढाउनुपर्‍यो । यी चार कुरालाई प्राथमिकतामा राखेर कामहरू भइरहेको छ । यसको सहजीकरण गर्न नीति, अनुमति वितरण पिपिए सबै क्षेत्र विस्तार गर्दै लैजाने छौँँ ।

विद्युत उत्पादनको सन्दर्भमा अबको ४ वर्षभित्र सरकार, निजी क्षेत्र र प्राधिकरण के कस्तो भूमिकामा रहलान् ?

सरकार सन् २०२५ र २०३० मा कहाँ पुग्ने भन्ने लक्ष्यहरू निश्चित छन् । उत्पादन गर्नुपर्ने छ, कति खपत क्षमता बढ्न सक्छ, पूर्वाधारका हिसाबले हामी कहाँ छौं र प्रसारण लाइन कसरी बनाउने भन्नेमा मोटो खाका छ । चालू आर्थिक वर्षमा ८०० मेगावाट विद्युत् प्रणालीमा थपिनेछ । अर्को यही बराबरका आयोजना पूरा हुँदैछन् । यी सबै हिसाबले अब पूर्व–पश्चिम र उत्तर–दक्षिण प्रसारण लाइन बनाउनुपर्ने छ । वितरण लाइनहरू विस्तार, मर्मत सुधार र स्तरोन्नती गर्नुपर्ने छ । त्यस्तै, अन्तरदेशीय प्रसारण लाइन पनि त्यति नै अपरिहार्य छ । अबको १० वर्ष वा ७ वर्षभित्र कति बिजुली आवश्यक पर्छ ? हामीले समृद्धिमा अधिकतम कति योगदान गर्न सक्छौँँ ? स्वच्छ वातावरणमा हाम्रो योगदान कति रहनेछ भनेर एउटा ठोस खाका र कार्ययोजना सहित अघि बढ्ने गरी काम भइरहेको छ ।

माथिकै सन्दर्भहरू जोडिरहँदा उत्पादन, वितरण र आपूर्तिका अवरोधहरू के–के देखिरहनु भएको छ ?

अवरोधहरू तत्कालीन हुन्छन् र दीर्घकालीन पनि । मैले मेरो कार्यकालमा के कति गर्न सक्छु, त्यसको एउटा खाका छ । भएका समस्या मैले मात्र समाधान गर्न सक्छु भन्ने पनि होइन । एउटा आयोजना पूरा गर्न करिब १० वर्ष लाग्छ र १० वर्षका लागि कार्ययोजना चाहिन्छ; आफ्नो छोटो कार्यकालमा सबै काम गर्न पनि भ्याइँदैन ।

हामीसँग उत्पादनको साधन जलस्रोत छ, यसको अधिकतम सदुपयोगको प्रश्न आउँदा लगानीको विषय आउँछ । लगानीमैत्री वातावरणको कुरा जोडिन्छ । देशभित्र र देशबाहिरको दुइटै पुँजीको कुरा होला । हामीले निजी क्षेत्रलाई समेत सँगै लिएर जानुपर्छ । आमजनताको बीचमा छरिएर रहेको पुँजीलाई समूह संरक्षित गरेर परिचालन गर्नुपर्छ । पुँजीको समस्या समाधान गर्न वैदेशिक लगानी आकर्षित गर्ने लगायत विषयलाई समेत एकीकृतरूपमा अगाडि बढाउनुपर्छ । यसो हुँदा स्वतः उत्पादन वृद्धि हुन्छ, प्रसारण र वितरणका कामहरू त्यही अनुसार हुँदै जान्छन् ।

पहिला पानीलाई पुँजीकृत गर्नुपर्‍यो, त्यसका निम्ति लगानी चाहियो । लगानी जुट्ने वातावरण तयार गर्न आवश्यक नीति, नियम, विधि, कानुन के–के छन्, तिनको यथोचित सम्बोधन हुनुर्‍यो । उत्पादित बिजुली बजारसम्म पुर्‍याउन निर्माण गर्नुपर्ने पूर्वाधार हाम्रा लागि चुनौतीपूर्ण छ । देशको ठूलो जनसङ्ख्या तराईमा बसोबास गर्छ तर उत्पादन धेरैजसो पहाडमा छ । आन्तरिक बजार तथा उद्योग–धन्दाहरू तराईमै छन् । तराई र पहाड जोड्नका लागि पूर्वाधार निर्माणलाई उत्तिकै प्राथकिता दिनपुर्‍यो । अब वितरण प्रणालीलाई स्मार्ट बनाउनुपर्ने चुनौती पनि थपिँदैछ । बचत विद्युतको व्यापार गर्ने कुरा पनि उपयुक्त ढंगले सम्बोधन गर्नुपर्ने छ । यसका लागि हाम्रो कानुनी व्यवस्थालाई सबल र दरिलो बनाउनुको विकल्प छैन ।

वातावरणीय प्रतिवेदन स्वकीकृत गर्ने सन्दर्भमा वनको विषय धेरै नै पेचिलो बनेर आइरहेको छ । यही कारण सरकारका लक्ष्यहरू पनि प्रभावित भइरहेका छन् । यो समस्यालाई ‘फास्ट ट्र्याक’मा कसरी सम्बोधन गर्न सकिन्छ ?

यस सन्दर्भमा जग्गा प्राप्ति, वन क्षेत्रको उपलब्धता, रुख कटान र वातावरणीय अध्ययनका विषयहरू छन् । वातावरणीय अध्ययनको प्रक्रिया आफैँमा निकै लामो हुने गरेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन वन मन्त्रालयमा पेश भइसकेपछि ४०–४५ दिनभित्र स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, त्यो वर्षौं लाग्ने गरेको छ । सरकारलाई मात्र दोष दिएर पनि हुँदैन प्रवर्द्धकले प्रतिवेदन वन मन्त्रालयसम्म पुर्‍याउन पनि वर्षौं लगाउने गरेका छन् । प्रवर्द्धकहरूले एउटै परामर्शदातालाई धेरै आयोजनाको काम दिने गर्छन् । तिनीहरूले समयमा प्रतिवेदन तयार गर्न भ्याउँदैन । यही कारण वर्षौंसम्म एउटा प्रतिवेदन तयार हुदैन; जुन प्रवर्द्धकको काम हो, मन्त्रालयको होइन । प्रवर्द्धकहरूले नै ढिला गरेपछि मन्त्रालय जिम्मेवार हुन कर लाग्देन ।

प्रतिवेदन समयमा आएको छ भने समिति गठन गरेर अन्तिम रूप दिन ४५ दिनले प्रशस्त पुग्छ भन्ने कानुनी व्यवस्थ छ । कानुनी व्यवस्थामा कतै समस्या होलान्, त्यो सुधार गर्नुपर्ने छ । अहिले, केही नेपाल ऐन संशोधनमार्फत यो क्षेत्रमा उल्लेख्य सुधारको प्रयास भइरहेको छ । विकासकर्ता वा प्रवर्द्धकको तर्फबाट समग्र प्रतिवेदन तयार भएर आएको अवस्थामा मन्त्रालयले कुनै काममा ढिलासुुस्ती गर्दैन ।

यस विषयमा वन र ऊर्जा मन्त्रालयबीच पटक–पटक बैठक बसेर समन्वय पनि भइरहेको छ । थाति रहेका धेरै कुराहरू सहजीकरण हुँदै आएका छन् । मैलै ऊर्जा मन्त्रालय र प्रवर्द्धकहरूको समस्या कहाँ छ ? के हो भनेर बुझ्ने मौका पाएको छु । म यसअघि वन मन्त्रालयको जिम्मेवारीमा बसिसकेको हुँदा दुवै किनाराबाट समस्यालाई हेरेर समाधानको प्रयास भइरहेको छ ।

हामी १५ वर्षदेखि नयाँ विद्युत् ऐनको कुरा गरिरहेका छौँ तर अहिलेसम्म टुङ्गिन सकेको छैन । ऐनको आवश्यकता नै होइन कि भन्ने प्रश्न उठ्न थालेको छ ? यो परिस्थितिको जिम्मेवार को हो ?

ऐनको आवश्यकता नहुने भन्ने प्रश्न नै छैन । नयाँ विद्युत् ऐनको आवश्यकतामा मात्र नभई अनिवार्य बन्न पुगेकोे छ । अर्थ मन्त्रालयमा रायका लागि पेश गरिएको हुँदा छिट्टै संसदमा पेश गरेर व्यापक छलफलसहित यो पारित हुन्छ । संसदले आफ्नो सम्पत्तिको रूपमा ग्रहण गरिसकेपछि जनप्रतिनिधी, सरोकारवालाको बीचमा जान्छ ।

विद्यमान विद्युत् ऐनमा सामान्य संशोधन गरेर काम गर्न सक्ने अवस्था छैन ?

विद्यमान विद्युत् ऐनमा धेरै समस्या छन् । त्यसको समाधानका लागि त नयाँ कानुनी व्यवस्था चाहिएको हो । ऐन बनेपछि नियमावलीतर्फ जाउँला तर धेरै अधिकार प्रत्यायोजित गर्नेतर्फ मन्त्रालय छैन । कतिपय विषयहरू नियमावलीमा व्यवस्था गर्ने गरी अधिकारको प्रत्यायोजन गरेर राखेको हुन्छ । फेरि, नियमावलीबाट निर्देशिका, निर्देशिकाबाट कार्यविधि, यस्ता धेरै प्रत्यायोजन गरेर जाने कुरालाई त प्रोत्साहन गर्नु हुँदैन तथापि, समग्र कानुनी व्यवस्थाका लागि पहिलो विद्युत् ऐनलाई अन्तिम रूप दिनुपर्छ ।

अहिले बन्दै गरेको ऐनमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने कुरा परेको छैन भन्ने सुनिन्छ । सरकारले निजी क्षेत्रलाई ढोका खुल्ला गर्छ कि गर्दैन ?

आर्थिक नीति सार्वजनिक, निजी र सामुदायिक साझेदारीमा पनि आधारित छ । ३ खम्बे अर्थनीतिको कुरा संविधानले निर्दिष्ट गरेकै छ । प्राकृतिक संविधानले निर्देशित गरेको विषयमा, प्राकृतिका स्रोतमा स्थानीय जन–समुदायको, जनताको पहुँच वा अधिकारलाई स्थापित गर्नुपर्छ भन्ने मार्गदर्शन हो । हामीले यो कुरालाई ध्यान दिएका छौँँ । उत्पादनको क्षेत्रमा मात्र नभई सबै क्षेत्रमा सबै तहको सहभागितालाई ध्यान दिइरहेका छौँँ । त्यो व्यवस्था विधेयकमा समेत प्रतिबिम्बित गरिरहेका हुन्छौँँ । यसमा कसैलाई बेवास्था गर्ने भन्ने हुँदैन । व्यापार गर्ने भनेको जगेडा विद्युत् हो ।

जगेडा विद्युत् मात्र व्यापार गर्ने कुरा गरिरहँदा हामीलाई चाहिएको बेला बिजुली नहुने स्थिति नहोस् । नेपाललाई कति आवश्यक पर्छ ? कति जगेडा हो ? यो कुराको निरूपण पनि हुनुपर्छ । व्यापारको बारेमा चर्चा भइरहँदा यसको टुङ्गो त लाग्नैपर्छ । यत्ति भयो भने हामी व्यवस्थितरूपमा निजी क्षेत्रलाई व्यापारमा सहभागी गराउँछौँँ ।

हामीले बर्खाको जगेडा बिजुली बेच्ने हो वा दीर्घकालीन व्यापारको योजनामा जाने हो ?

हामी यी दुवै कुरामा खुल्ला छौँँ । खपत क्षमता कम र उत्पादन क्षमता बढी भएको खण्डमा बिजुली व्यापार गर्ने हो । अहिले भारतसँग छोटो समयका लागि घन्टा घन्टा र हरेक दिन–दिनैको पनि छ । छोटो अवधि र मध्यअवधि (मिड ट्रम) वा दीर्घकालीन कुरा पनि होला । त्रिदेशीय व्यापारको पनि कुरा भइरहेको छ । यो बाहेक अरूसँग व्यापार गर्दैनौँ भन्ने होइन । व्यापारको कुरा गर्दा यतिमै सीमित गर्नु पनि हुँदैन । व्यापारमा भारत हुँदै बंगलादेश जान्छ भने अरू ठाउँमा पनि व्यापार गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ ।

भुटानले भारतसँग चुखा र ताला आयोजनाको २५ वर्षे विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ, हामीले यस सन्दर्भमा खाका बनाइरहेका छौँ ?

त्यो हाम्रो आवश्यकता र प्रक्षेपणका आधारमा पनि हुने भयो । अब, मिड ट्रमको कुरा अर्थात् १० वर्षभित्र हाम्रो उत्पादनको प्रक्षेपण के हुन्छ भन्ने आधारमा कुरा गर्नुपर्छ । सर्ट ट्रमको कुरा त भइरहेका छन् । उत्पादनको क्षमता कस्तो हुन्छ ? उत्पादन लक्ष्यसँग मिलाएर व्यापारको बारेमा छलफल गर्दै जाने हो । यसमा हामीले एउटा मस्यौदा बनाएर भारतसमक्ष पेश गरेका छौँँ ।

पछिल्लो समय ठूला र रणनीतिक महत्वका आयोजनाहरूमा दक्षिणको छिमेकी जोडिँदै र उत्तरको टाढिँदै गएको देखिन्छ । हाम्रो राजनीतिक र कुटनीतिक सम्बन्धमा जुन खालको सन्तुलन हुनुपर्ने हो त्यसमा कतै न कतै समस्या सिर्जना भएजस्तो देखिन्छ । यो अवस्था किन आउँदैछ ?

हाम्रो कुटनीतिक, राजनीतिक, रणनीतिक र अर्थनीतिको केन्द्रीय विषय भनेको राष्ट्रिय हित प्रवर्द्धन हो । राष्ट्रिय हितलाई यी सबैको प्रस्थान बिन्दु बनाउँछौँँ । पहिलो, प्राकृतिक स्रोतको अधिकतम सदुपयोगद्वारा नागरिकको ऊर्जामाथिको पहुँचलाई ग्यारेन्टी गर्न चाहन्छौँँ । हामी सबैका लागि ऊर्जाको मान्यतालाई लागू गर्न चाहान्छौँँ । दोस्रो, उपलब्ध ऊर्जा वा जलस्रोतललाई समृद्धिको आधारको रूपमा प्रयोग गर्न चाहान्छौँँ । हाम्रो सभ्यता र अवस्थालाई बुझाउन सक्नु वा त्यस्तो वातावरण तयार गर्नु नै असल कुटनीति हो । त्यसैले, हाम्रो आवश्यकताको बारेमा पहिला हामी नै प्रष्ट हुनपर्छ । यसका लागि सबै छिमेकीसँग सहकार्य गर्नुपर्छ । भारत, बंगलादेश र चीनसँगको सहकार्यबाट समस्याहरूको समाधान गर्ने प्रयासमा छौँँ ।

जलाधार संरक्षण र एकीकृत जलस्रोत विकासलाई परिणाममुखी बनाएर लैजानका लागि कस्तो कदम चाल्नुपर्ने ठान्नुहुन्छ ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय भयो; यसका तीन वटै क्षेत्रको कुराहरू छन् । हामीसँग कूल कृषियोग्य जमिन क्षेत्रफलको हिसाबले गर्दा २५ लाख हेक्टर छ । २५ लाख हेक्टर जमिनमध्ये १५ लाख हेक्टर जमिनमा करिब–करिब सिँचाइको पहुँचको वातावरण बनेको छ । करिब ११ लाख हेक्टर जमिनमा अझै सिँचाइ पुर्‍याउन सकिएको छैन । पहिलो प्राथमिकता बाँकी जमिनमा सिँचाइ कसरी पुर्‍याउने भन्ने बारेमा ध्यान पुर्‍याउनुपर्नेछ । त्यसका निम्ति अहिले निर्माणाधीन आयोजनालाई यथासमयमै सम्पन्न गर्ने गरी गुणस्तरीय काम गर्नुपर्ने छ ।

११ लाख हेक्टर जमिनमध्ये करिब ५–५ लाख तराई र हेक्टर पहाडमा सिँचाइ गर्न बाँकी छ । पहाडमा करिब ४ लाख हेक्टर जमिन टारहरू छन् । यही आधारमा ‘सबैका निम्ति सिँचाइ’ भन्ने एजेण्डालाई कार्य रूप दिने कुरामा लागिरहेका छौँँ । करिब ४ लाख नदीका टारहरू लिफ्ट सिँचाइ गर्नुपर्छ । लिफ्ट सिँचाइ गर्नका लागि देशव्यापी रूपमा टार सिँचाइ आयोजना पनि कार्यान्वयन हुँदैछ । ताकि, लक्षित नदी बेसिनका टारहरूमा सिँचाइ सुविधाबाट उत्पादन वृद्धि गर्न सकियोस् ।

तराईका कतिपय ठाउँमा भूमिगत सिँचाइ प्रणाली छ भने कतिपयमा नयाँ आयोजनाहरू जस्तैः नौमुरे, बबई, सुनकोसी–कमला लगायत आयोजनाबाट सिँचाइ पुर्‍याउनु पर्नेछ । कतिपय ठाउँमा भूमिगत सिँचाइबाट समस्याको समाधान खोज्नुपर्ने छ । त्यसैले, मूलतः हामीले यी सबैका लागि तीनवटा ढङ्गले हेरिरहेका छौँँ । पहिलो सिँचाइ गर्न बाँकी क्षेत्रमा सिँचाइ गर्ने, निर्माणाधीन आयोजनालाई गुणस्तरीय र यथासमयमा सम्पन्न गर्ने, पुराना सम्पन्न भएका आयोजनाको पुनर्स्थापना गरिन्छ । यसरी, योजनाबद्ध ढङ्गले कृषियोग्य जमिनमा सिँचाइका लागि काम गर्दै जाने हो ।

अहिले ६ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजना छन् । ती आयोजनालाई गुणस्तरीय र यथासमयमा सम्पन्न गर्न राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूसँग छलफल र बैठक गर्दै आएका छौँँ । राष्ट्रिय गौरवका यी आयोजनाको प्रगति दैनिक अनलाइन प्रणालीबाट गर्ने, आयोजना प्रभावकारी ढङ्गबाट अगाडि बढाउन र कार्यान्वयन सहजीकरणका लागि समन्वय संयन्त्र निर्माण गर्ने गरिएको छ । समीक्षात्मक कार्यक्रम वर्षमा दुई पटक गर्ने, संघसँग प्रदेश र स्थानीय सरकार प्रतिनिधि, उपभोक्ताका प्रतिनिधि, राजनीति दल, आयातकर्ता, ठेकदार, परामर्शदातालगायत सबैको उपस्थितिमा सार्वजनिक समीक्षा गर्ने निर्णय गरेका छौँँ ।

जलाधार क्षेत्रहरू, जहाँ पानीका स्रोतहरू छन् । तिनको व्यवस्थापनको प्रश्न आउँछ । नदी बेसिन प्रणालीहरू र जलउत्पन्न विपद्हरूको व्यवस्थापनका कुराहरू पनि भइरहेका छन् । हिमालबाट निस्केर आउने ठूला नदी प्रणालीहरू व्यवस्थापनका बारेमा समेत काम भइरहेको छ । समग्र जलाधारको स्रोतमा पनि संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । हाइड्रोलोजी, मेट्रोलोजी, पूर्वसूचना प्रणाली र पूर्वानुमान प्रणालीका कुरा पनि छन् । जल तथा मौसमको पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्नका लागि जल तथा मौसम विज्ञान विभागको तर्फबाट थप प्रभावकारी र विश्वसनीय बनाउन अध्ययन र अनुसन्धानका कामहरू भइरहेका छन् । यसमा विश्वविद्यालयहरू, निजी क्षेत्र लगायतसँग सहकार्य बढाउने योजना छ ।

ऊर्जा सुरक्षालाई ग्यारेन्टी गर्नका निम्ति सबैका लागि ऊर्जा भन्नेलाई सुनिश्चित गर्न वैकल्पिक ऊर्जाको प्रवर्द्धन पनि गर्नु नै पर्छ । किनकि, हाम्रो भू–अवस्थितिका कारणले कतिपय ठाउँमा केन्द्रीय प्रसारण लाइन तत्काल जोड्न सक्ने अवस्था छैन । उच्च हिमाली र पहाडका कतिपय बस्तीहरूमा मिनी ग्रिडहरूको व्यवस्था गरेर ऊर्जा सुरक्षाका बारेमा सुनिश्चितता दिन चाहेका छौँँ । अतः सिँचाइ र खानेपानीका लागि ऊर्जाको प्रयोग गर्नुपर्ने छ; जहाँ केन्द्रीय प्रसारण लाइन बनाउन सकिएको छैन ।

किसानले भनेको बेलामा मल नपाउने र खेतीयोग्य जमिनहरू विशेषतः पहाडहरू बाझिँदै गएका छन । सिँचाइ छैन, जनशक्ति छैन । यो अवस्थामा कृषिको उत्पादन कसरी बढ्न सक्ला ?

जहाँ केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन, त्यहाँ वैकल्पिक ऊर्जाको माध्यमबाट लिफ्ट सिँचाइको प्रवर्द्धन गर्ने योजना छ  । मलको वैकल्पिक व्यवस्थाका सम्भावना पनि छन् ।

यहाँको कार्यकालमा ऊर्जा तथा जलस्रोतका क्षेत्रमा कुनै एक ‘गेम चेञ्जर’ आयोजनाको निर्माण शुरू हुने वातावरण बन्ला ?

हामीसँग पञ्चेश्वर, फुकोट कर्णाली, बूढीगण्डकी, नलसिंहगाड, सुनकोसी, दूधकोसी, तमोर, माथिल्लो अरुण, किमाथांका आयोजनाको कुरा गर्दैछौँँ । यी सबै आयोजनाको पाइपलाइन र प्राथमिकतामा रहेका आयोजना हुन् । क्रमैसँग यी आयोजना अगाडि बढ्नेछन् ।

यो अन्तर्वार्ता २०८० असार १ गते प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३