विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
हिमालयन हाइड्रो एक्स्पो–२०२४

नेपाललाई नवीकरणीय तथा हरित ऊर्जाको भण्डार हो । किनभने यहाँ यस्तो ऊर्जा उत्पादनको प्रचुर सम्भावना छ । यसका लागि देशमा उपलब्ध भूबनोट, सौर्यताप, जलप्रवाह तथा वायुवेगको उपलब्धता गुणस्तरीय छ । यति हुँदा हुँदै पनि देश अहिले ऊर्जासम्बन्धी अनेक चुनौतीबाट गुज्रिरहेको छ । विद्युत् उत्पादनको ११३ बर्से इतिहासमा उत्पादन क्षमता ५०० किलोबाटबाट बल्ल करिब ३ हजार मेगावाट पुगेको छ । यद्यपि, देशभित्र पानीको मात्रै स्रोतबाट जलविद्युत् उत्पादन सम्भावना पनि लाखौँ मेगावाट छ । सम्भावनालाई यथार्थमा बदल्न नसक्दा हाल सुख्यायाममा विद्युत् अभाव भोगिरहेका छौँ । वर्षामा भने उत्पादन हुन सक्ने विद्युत्ले बजार पाउने हो कि भन्ने त्रासमा छौँ । यही तथ्यलाई मनन गर्दै आउँदो वैशाख १२, १३ र १४ गते स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) सहितका दुई संस्थाको आयोजनामा चौथो हिमालयन हाइड्रो एक्स्पो हुने भएको छ । प्रस्तुत छ, आयोजक मध्येको एक एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानसँग ऊर्जा खबरले गरेको संक्षिप्त कुराकानी : 

आसन्न चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी कसरी अघि बढिरहेको छ ?

हामीले यो एक्स्पो चौथो पटक गर्न लागेका हौँ । यसमा स्टलहरूलाई हामीले हल ‘ए’, हल ‘बी’ र हल ‘सी’ गरी ३ वर्गमा छुट्याएका छौँ । हल ‘ए’, हल ‘बी’ का सबै स्टल बुकिङ भइसकेका छन् । हल ‘सी’ का चाहिँ केही स्टल बाँकी छन् । हेभी इक्विमेन्टहरूका लागि छुट्याइएका स्टलहरू केही बाँकी छन् । अझै पनि बुकिङ हुने क्रम जारी नै छ ।

एक्स्पोमा विश्वका कुनकुन देशका कम्पनीहरू सहभागी हुन्छन् ?

नेपालको जलविद्युत् उत्पादनमा प्रयोग हुने धेरैजसो सामान विदेशबाट नै आउँछन् । त्यसो हुँदा भारत, चीन, जर्मनी, अमेरिकालगायत देशका कम्पनीहरू सहभागी हुन्छन् । कतिपय एजेन्सीमार्फत पनि सम्पर्कमा आएका छन् । त्यस्तै, देशभित्रका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीहरू, सेयर बजारका ब्रोकर कम्पनीहरूलाई पनि समेट्ने कोसिस गरिरहेका छौँ । त्यसो हुँदा विद्युत् उत्पादनसँग सरोकार राख्ने र गाँसिएर काम गर्ने गरेका सबै पक्षको उपस्थिति यो एक्स्पोमा हुन्छ भन्ने लागेको छ । यसमा धेरैजसो भारतीय कम्पनीहरूको सहभागिता रहन्छ । किनभने, भारत हामीसँग ऊर्जा विकास र ऊर्जा खपतको विषयमा गाँसिएको छ । ऊर्जा आदान–प्रदानको अन्तरदेशीय प्रणाली पनि भारतसँग गाँसिएको छ । त्यसो हुँदा भारतीय कम्पनीहरूको सहभागिता बढी हुनु स्वभाविक पनि हुन्छ ।

हाइड्रो एक्स्पोमा हाइड्रो पावरबाहेक अन्य ऊर्जा क्षेत्रका कम्पनीहरूको सहभागिता चाहिँ कस्तो रहन्छ ?

यसमा हाइड्रोबाहेक पनि विद्युत् उत्पादनका सबै खोल स्रोतसँग सम्बन्धित कम्पनीहरूको सहभागिता रहने छ । काठमाडौँ विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा केही सयमअघि मात्रै नेपालमै उत्पादित हरित हाइड्रोजन ग्यासले कार चलाउने सफलता पाइएको छ । यो उपलब्धिलाई पनि हामीले प्रदर्शनीको रूपमा एक्स्पोमा ल्याएर ३ दिनसम्म कार चलाएर सबैलाई देखाउने र बुझाउने तयारी गरेका छौँ । हाम्रा प्रमुख अतिथि र अतिथिहरूलाई पनि हाइड्रोजन कारमा चढाउने लक्ष्य लिएका छौँ । त्यस्तै, सोलार, वायुसहित अन्य सबै किसिमका ऊर्जाका स्रोतका कम्पनीले पनि यस एक्स्पोमा सहभागी हुन सक्नेछन् । त्यस्तै, ऊर्जा खपत गर्ने विद्युतीय गाडीसहितका विषय पनि यो एक्स्पोमा सहभागी हुनेछन् ।

अन्य एक्स्पो र हाइड्रो एक्स्पोमा के कति फरक पाउनुहुन्छ ?

उपभोग्य वस्तु, फर्निचर जस्ता एक्स्पोहरूमा मानिसले राम्रो लागेको वस्तु तथा सेवा तत्काल खरिद गर्न सक्छन् । त्यस्ता एक्स्पोमा कति व्यापार भयो भन्ने तथ्यांकहरू पनि आउँछन् । तर, हाइड्रो एक्स्पो तत्काल सामान किनिहाल्ने र खाने तथा प्रयोग गरिहाल्ने खालको होइन । यहाँ आएर अवलोकनकर्ताले विद्युत् उत्पादनका लागि आवश्यक वस्तु तथा सेवाको उपलब्धता, गुणस्तरलगायतका विषयमा जानकारी हासिल गर्ने अवसर पाउँछन् । एउटै छातामुनि सबैले विद्युत् उत्पादनका धेरैजसो विषय बुझ्न सजिलो हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।
अन्य एक्स्पोमा धेरैजसो वस्तु तथा सेवा विदेशी हुने गरेका छन् । तर, यो एक्स्पोमा हामीले हाम्रो देशको जल, सौर्य, वायु जस्ता स्रोतलाई कच्चा वस्तुको रूपमा प्रयोग गरी बिजुली उत्पादन गर्ने विषयमा बुझ्ने–बुझाउने गर्छौैँ । हाल ३ हजार मेगावाट मात्रै उत्पादन भए पनि सबै स्रोतबाट गरी लाखौँ मेगावाट विद्युत् उत्पादनको सम्भावना नेपालमा छ । त्यो सम्भावनालाई विश्वमै उजागर गरेर ऊर्जाको विकास गर्ने र ऊर्जामार्फत समृद्धि हासिल गर्ने विषयमा यो एक्स्पोले महत्त्वपूर्ण योगदान गर्न सक्ने अपेक्षा गरेका छौँ ।

एक्स्पोमा कुनकुन क्षेत्रका अवलोकनकर्ताहरू आउँछन् भन्ने अपेक्षा गर्नुभएको छ ?

यो एक्स्पो विद्युत् उत्पादनसँग सम्बन्धित सबै पक्ष र यसबारे बुझ्ने चाहना राख्ने सबैका लागि हो । यसबारे अध्ययन गर्दै गरेका विद्यार्थीहरूका लागि हो । बिजुली उपभोग गरिरहनु भएका उपभोक्ताहरूका लागि पनि हो । जलविद्युत्‌मा लगानी गरेका हजारभन्दा बढी प्रवर्द्धकहरूका लागि हो । त्यस्तै, जलविद्युत् कम्पनीहरूमा लगानी गरेका करिब ६० लाख सेयरधनीका लागि पनि यो एक्स्पो महत्वपूर्ण हुन सक्छ । तर, सबैले चाहेर पनि यो एक्स्पोमा आउन तथा भ्रमण गर्न पाउने अवस्था नबन्न सक्छ । सकेसम्म धेरै मानिस आएर अवलोकन गरिदिए हुथ्यो भन्ने हाम्रो चाहना हो ।

विगतका एक्स्पोसँग आसन्न चौथो हिमालयन हाइड्रो एक्स्पो आयोजनाको सन्दर्भलाई कसरी तुलना गर्नुहुन्छ ?

हामीले पहिलो हाइड्रो एक्स्पो आयोजना गर्दा नेपालको विद्युत् उत्पादन क्षमता जम्मा ७ सय मेगावाट थियो । त्यतिबेला हामी पूर्ण रूपमा लोडसेडिङको अवस्थामा थियौँ । त्यतिबेला एक्स्पो आयोजना गर्नेबारे कुरा गर्न जाँदा यस्तो लोडसेडिङमा हाइड्रो एक्स्पो आयोजना किन गर्ने ? भन्ने प्रश्नहरू हामीमाथि गरिन्थ्यो । त्यो बेला हामीले लोडसेडिङ अन्त्य गर्नैका लागि पनि जलविद्युत् उत्पादन गर्नुपर्छ । त्यसबारे एकैठाउँबाट सबै जानकारी लिन र सम्बन्ध, सहकार्य विस्तार गर्न हाइड्रो एक्स्पो आयोजना गर्नुपर्छ भनेर हामीले भन्ने गरेका थियौँ ।

कतिपयले त सयौँ वर्षमा पनि जम्मा हजार मेगावाट उत्पादन गर्न नसकेको ठाउँमा हाइड्रो उपकरण तथा प्रविधिको माग के होला र ? भन्ने प्रश्न गरे । यी सबै प्रश्नको चित्तबुझ्दो जवाफ दिएर हामीले एक्स्पो आयोजना गर्न सकेका थियौँ । आज २०२४ मा आउँदा हामीसँग ३००० मेगावाट उत्पादन क्षमता भएको छ । त्यस्तै, सुख्यायामा आयात गर्नुपर्ने र बर्खायाममा बिक्री गर्नुपर्ने असन्तुलित उत्पादनको चुनौती भोगिरहेका छौँ । अर्कोतिर बिजुलीको आन्तरिक बजार बढाउन गत वर्षदेखि सरकार र निजी क्षेत्रले विद्युतीय सवारीको प्रवर्द्धन गरिरहेका छन् । विद्युतीय भान्साको प्रवर्द्धन गरिरहेका छन् । त्यसो हुँदा हाम्रो बढ्दो बजारका कारण यहाँ विद्युत्सँग सम्बन्धित उपकरण तथा सामग्रीको एक स्थानमा प्रदर्शन गर्ने गरी हामीले एक्स्पो आयोजना गरेका छौँ । यो विल्कुलै फरक सन्दर्भ छ ।

यो एक्स्पोका विशेष आकर्षण चाहिँ के छन् ?

इन्जिनियरिङ र व्यवस्थापन क्याम्पसका विद्यार्थीहरूले निर्माण गरेका विद्युत्सँग सम्बधित परियोजनाहरू पनि प्रदर्शनीमा राख्ने छौँ । उत्कृष्ट परियोजनालाई ४४ हजार, २२ हजार र ११ हजार पुरस्कार पनि दिनेछौँ । त्यस्तै, अर्को ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारामा केन्द्रित रहेर २ मिनेटको भिडियो बनाउने प्रतियोगिता आयोनजा गरेका छौँ । उक्त प्रतियोगितामा पनि उत्कृष्ट हुनेलाई ४४ हजार, २२ हजार र ११ हजार पुरस्कार पनि दिन्छौँ । एक्स्पोको पहिलो दिन हामीले स्काइवाक भएको स्थान कमलादीबाट ‘आफ्नो बिजुली आफैँ प्रयोग गरौँ’ भन्ने नाराका साथ २६ किलोमिटर विद्युतीय सवारी र्याली आयोजना गर्ने छौँ । यसले इभीबारे सचेतना जगाउने अपेक्षा गरेका छौँ । त्यस्तै, मेलामा जलविद्युत्सँग सम्बन्धित छलफलका विभिन्न सत्रहरू पनि आयोजना गर्ने भएका छौँ ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३