काठमाडौँ । विद्युत् ऊर्जाको प्रयोग गर्दा ‘ऊर्जा दक्षता’ अपनाउनु उत्पादन गर्नुभन्दा सस्तो पर्ने यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् । १ मेगावाट विद्युत् उत्पादन गर्नुभन्दा ऊर्जा दक्ष उपकरण तथा व्यवहार अपनाएर १ मेगावाट जोगाउनु निकै सस्तो पर्ने उनीहरूको धारणा छ । ऊर्जा दक्षतालाई प्रभावकारी रूपमा अपनाउन सके यसले राष्ट्रिय ऊर्जा सुरक्षाकाे प्रत्याभूत हुन सक्ने पनि उनीहरूको धारणा छ ।
ऊर्जा खबर र मार्टिन चौतारीको सहकार्यमा हुँदै आएको ‘ऊर्जा नीति संवाद’को दशौँ शृङ्खला अन्तर्गत मंगलबार (माघ १६ गते) को छलफलमा सहभागी विज्ञ, अनुसन्धानकर्ता, प्राविधिक तथा ऊर्जा उद्यमको क्षेत्रमा कार्यरत व्यक्तिहरूले ऊर्जा दक्षता प्रभावकारी भए पनि पर्याप्त सूचना, जनचेतना तथा ज्ञानको अभावमा यसबाट भरपुर लाभ लिन नसकिएको उनीहरूले बताए ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्व–कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ ऊर्जा विज्ञ डा. नारायणप्रसाद चौलागाईंले ‘स्वच्छ ऊर्जा रूपान्तरणका लागि पहिलो इन्धनका रूपमा ऊर्जा दक्षता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ऊर्जा दक्षताको उपयोगको क्षेत्रमा भएका प्रयास, सम्भावना र चुनौतीबारे प्रकाश पारेका थिए ।
‘ऊर्जा किफायती उपकरणहरूको प्रयोग गर्नु, नचाहिएको बेला ऊर्जाको खपत नगर्नु ऊर्जा दक्षता अपनाउनु हो तर आवश्यक हुँदाहुँदै ऊर्जा प्रयोग नगरेर बचाउनु ऊर्जा दक्ष हुनु होइन,’ उनले भने, ‘ऊर्जा दक्षता प्राविधिक विषय पनि हो तर प्राविधिक भन्दा ज्यादा मानिसको व्यवहार र सोचाई परिवर्तन गराएर कम ऊर्जामा उत्तिकै लाभ लिनु हो ।’
उनका अनुसार १ युनिट विद्युत्को खपतबाट हामीले उत्पादन वा प्राप्त गर्ने वस्तु तथा सेवा कति पाउँछौँ भन्ने नतिजाको आधारमा ऊर्जा दक्षता नापिन्छ । उति नै विद्युत् खपत गरेर कम नतिजा पायौँ भने ऊर्जा दक्षता कम भयो र बढी नतिजा प्राप्त गर्र्यौँ भने बढी ऊर्जा दक्षता प्राप्त गर्यौँ भन्ने हुन्छ । यसमा प्रयोग गर्ने व्यक्तिको भूमिका पनि जिम्मेवार हुने उनले बताए । ‘एउटै गाडी, उही सडकमा फरक मान्छेले चलाउँदा फरक माइलेज दिन्छ,’ उनले भने, ‘हामीले ऊर्जा खपत गर्ने उपकरणको प्रयोग कसरी गर्छौँ भन्ने कुराले पनि ऊर्जा दक्षतामा फरक पार्छ ।’
उनका अनुसार एउटा देशले एक वर्षमा कति ऊर्जा खपत गरेर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कति वृद्धि ल्याउन सक्यो भन्ने तथ्यको मूल्याङ्कनबाट कुनै पनि देशको राष्ट्रिय ऊर्जा दक्षता मापन गर्न र अन्य देशसँग तुलना गर्न सकिन्छ । यद्यपि, यसको वास्तविक मापनका लागि भने क्षेत्रगत (उद्योग, पर्यटन, कृषि लगायत) तथ्याङ्कका आधारमा विश्लेषण गर्नु उपयुक्त हुन्छ ।
ऊर्जा दक्षता अपनाउन सकिएन भने जति विद्युत् उत्पादन गरे पनि खपतका लागि सधैँ अपुग हुन सक्ने पनि उनले बताए । राष्ट्रिय ऊर्जा सुरक्षा तथा मानव विकास सूचकाङ्कमा नेपाललाई शीर्ष स्थानमा पुर्याउन पनि ऊर्जा दक्षता आवश्यक हुने उनको भनाइ छ । सन् २०५० सम्ममा विश्वले शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्न ऊर्जा दक्षताको योगदान करिब ४४ प्रतिशत हुने सक्ने अनुमान गरिएकाे उनले बताए ।
विश्वका झन्डै ८ अर्ब मध्ये प्रत्येक मानिसले युरोपेली तथा अमेरिकी राष्ट्रका व्यक्तिकै जति प्रतिव्यक्ति ऊर्जा खपतको अधिकार राख्ने भए पनि त्यसका लागि २ वटा पृथ्वीको जति स्रोत साधन उपलब्ध हुनु पर्ने अध्ययनबाट देखिएको उनले बताए । ‘२ वटा पृथ्वी हामीसँग छैन, हामी बसेको यो एउटा पृथ्वीमा ऊर्जाका स्रोत सीमित छन्,’ उनले भने, ‘सीमित स्रोतबाट असीमित लाभ लिन ऊर्जा दक्षता अपनाउनुको विकल्प छैन ।’
नेपालमा हाल यसबारे सूचना, सञ्चार तथा प्रभावकारी जनचेतनाको अभाव, नीतिगत व्यवस्था तथा नियामकीय संयन्त्रको अभाव, पुरस्कारको व्यवस्था, मन्त्रालयगत सहकार्य तथा समन्वयको खाँचो, पुँजी लगानी गर्ने स्रोतको अभाव जस्ता कारणले ऊर्जा दक्षता प्रभावकारी कार्यान्वयनमा लान नसकिएको उनको उनको ठम्याइ छ ।
ऊर्जा विज्ञ चौलागाईंको कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले नेपालमा दाउरा, ग्यास, इन्डक्सन जस्ता सबै स्रोतको उपयोग गरिएको पाइएको बताए । ऊर्जा दक्षताबारे आम नागरिकमा सचेतना जगाउनु आवश्यक भएको उनको धारणा छ ।
कार्यक्रममा मार्टिन चौतारीका अध्यक्ष एवम् ऊर्जा उद्यमी कुमार पाण्डेले नेपालको हालको प्रतिव्यक्ति ४०० युनिट रहेको ऊर्जा खपत ऊर्जा दक्षतालाई प्रभावकारी रूपमा अपनाउन सके बढ्ने बताए । नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शेरसिंह भाटले ऊर्जा दक्षतालाई बढावा दिन यसलाई व्यापारयोग्य वस्तुको रूपमा कसरी अघि बढाउने भन्ने अहिलेको चुनौती रहेको बताए ।
ऊर्जा विज्ञ तथा उद्यमी सूर्यप्रसाद अधिकारीले नेपालमा ऊर्जा दक्ष प्रविधि तथा उपकरणमा लगानी गर्न सक्ने स्रोतको कमीका कारण प्रभावकारी रूपमा ऊर्जा दक्षता अपनाउन नसकिएको बताए । कार्यक्रममा सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले नेपालमा खास गरी ऊर्जा दक्षता अपनाउनुपर्ने उद्योगहरूले लगानी तथा जनशक्ति अभावकै कारण ऊर्जा दक्ष उपकरण तथा प्रविधिको प्रयोग गर्न नसकेको बताए ।