काठमाडौँ । तल्लो इर्खुवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुरमा निर्माण गरेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाका संरचना तथा उपकरणको सम्पूर्ण परीक्षण सफल भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर उत्पादन सुरु गरिएको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले ऊर्जा खबरलाई जानकारी दिए ।
आयोजनाबाट १५ दिनसम्म परीक्षण उत्पादनका क्रममामा नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क विद्युत् उपलब्ध गराउने र त्यसपछि व्यावसायिक उत्पादन सुरु हुने उनले बताए ।
आयोजनाका संरचनाहरू षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा निर्माण गरिएका छन् । सिभिल संरचनामध्ये बाँध, बालुवा थिगार्ने पोखरी, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युत्गृह, स्वीचयार्ड आदिको काम अनिल मल्टी/बगाले थापा/बिएनटी जेभीले गरेको हो ।
यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको काम अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वर्क्स (सिडब्लुटीडब्लु) ले गरेको हो ।
आयोजनाबाट वार्षिक ७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुने र यसबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् २२० केभी शीतलपाटी सबस्टेसनमा जोड्ने योजना भए पनि निर्माण नसकिएकोले १६ किलोमिटर दूरीमा रहेको तुम्लिङटार सबस्टेसनमा जोडिएको छ ।
२ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी रहने गरी वित्तीय व्यवस्थापन मिलाइएको छ । आयोजनाको प्रवर्द्धक कम्पनीमा नेशनल हाइड्रो पावर कम्पनी लिमिटेको ४५ प्रतिशत लगानी रहेको छ ।
नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पनीले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको समेत निर्माण सुरु गरेको छ ।