काठमाडाैं । ...
निष्पट्ट औंशीको रात
र, त्यो निद्राको घुराई !
स्नेहिल स्पर्शले
उनको वदनमा कुत्कुती लगाउन थाल्दा
आफ्नै उमेर र यौवन सम्झेर
आफैंलाई आत्मग्लानी भयो ।
उता उनी संघर्षरत थिइन् ।
पराल र छ्वालीको तन्नामा रगडिँदै
भुइँ कोपर्दै, भित्तो चिथोर्दै !
रिस्ता निभाउँदै थियो,
सायद, आज उनीसँग कोही !!
घाँटी र वक्षस्थलमा स्पर्श गर्दै
ऊ निर्धक्क आफ्नो कामुकता उमालिरहेथ्यो ।
जहाँ, आवाजहरू क्षितिजको घामझैँ टाढा थिए ।
हिजो फूलजस्तै सुकोमल
अँगालोमा बेरिने उनी
आज बिटुलिइन् रे ...
उनको आकर्षणमा बहुलाएको
पागल–प्रेमी झैँ उन्मत्त सर्पबाट
डसिएकी उनी
आज अलौकिकतामा बिलाइन् रे ...
जय छाउपडी भन्दै,
नाता र मानवताको जयजयकार गर्दै !
आज उनकै मलामी जाँदैछु, म ।
एक अँगालो दाउरा
र, केही ठुटा श्रीखण्ड बोकेर
जब,
उनी चित्तामा दन्दनी बल्न थालिन् ।
मैले देखेँ
मैले सम्झेँ– आफ्नै घरमा आगो झोसेँछु ।
सिर्फ, केही तातोका निम्ति !
एक चिम्टी खरानीका निम्ति ! !
०००
समाजले विद्रोह मागेका बेला
म जडवत् पशुझैँ उग्र्याइरहेछु ।
हेरिरहेछु ट्वाल्ट्वाल्ती,
जो समाजले दपेटेकी
घरबाट लखेटेकी
उफ्, तिनै युवतीको अनुहार !
चाँदनीमा मिसाएर तिनको प्रतिमा हेर्दा
धर्म काँप्दैछ
प्रेम मर्दैछ
कतै ढुंगाको कापमा चेपिएर ।
आफ्नै आँखा अगाडि
आफ्नै प्रेमीको विभत्स हत्या,
कसरी हेर्दैछिन् उनी
भँवराको, आत्माको
उनकै अभिन्न अंगको !
ऊ विजाति रे !
अर्कै रगत रे !
अर्कै पराग रे !
जातको सियाँलमुनि उभिएर
प्रेमका खातिर, न्याय माग्दा
न्याय पनि
उसैकै चित्तामा जल्दै थियो– सती झैं !
उनको अनुहारमा लिपिएको
उसको अनुहार सम्झिँदै
जब नियालेँ बलेको चित्ता–
मैले देखेँ
त्यहाँ, देश जलिरहेको थियो ।
धूवाँले समाज ढाकिएको थियो ।
स्वयम्भूका,
दुई आँखामा
कालो पट्टी थियो ।
ऊ, म, हामी, हामीहरू, तपाईंहरू पनि
जातीय जाँतो रिँगाइरहेका !
न विद्रोह न संघर्ष ।
बस्, विभेदको चिसोमा
मौनताको आगो तापिरहेका ।
अनि, म घोत्लिएँ
भक्कानिएँ
मेरो गलाबाट चित्कार निस्क्यो–
थुक्क, मैले आफ्नै घर सल्काएँछु ।
सिर्फ, एकछिनको ठिही भगाउनका निम्ति
एक चिम्टी खरानीका निम्ति !!
चेत हराएको समाज
जब ज्ञान र विवेक मुण्डन हुन्छ
तब मुखियाको पैतालामुनि
होस् गुमाएको दलेले झैँ
देख्छ; आफ्नै आमा
पत्नी र दिदी–बहिनीलाई
बोक्सी बनेको ।
धिक्कार,
तिम्रा तक्मा र कृत्रिम सौन्दर्यहरू
खेपैपिच्छे पुजिएका सालीग्राम देवताहरू;
हृदय कुल्चिँदै
हरपल, वीरता प्रदर्शनमा
तल्लीन हामीहरू !
शिर काटिएका
ए मुर्कट्टा मान्छेहरू !!
धत्तेरिका !
हाम्रा निष्प्राण इन्द्रियहरू
यी जर्जर छन्दविहीन संवेदनाहरू
बहुलाएका मनहरु
कुहिएका धनहरू !
आऊ,
अब लहरै ढुंगामा दिल खोपौं
ईश्वर र करुणा खोजौं ।
आफैंलाई धिक्कार्दै
छाति निचोर्दै भनौं–
हरे ! मैले आफ्नै घरमा आगो झोसेँछु ।
एउटा जाडो भगाउनका निम्ति
एक चिम्टी खरानीका निम्ति !!