काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्नुका कारण देखाएको छ । सरकारले प्रशासनिक, कानुनी, नीति–नियम उल्लङ्घन, तथा कार्यसम्पादनसम्बन्धी १० वटा गम्भीर कारणहरू उल्लेख गरेको हाे । मन्त्रिपरिषद्ले मंगलबार घिसिङलाई पद मुक्त गर्ने निर्णय गर्नुका प्रमुख १० कारण यसरी उल्लेख गरेको छ :
१. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाउनु
ऊर्जा मन्त्रालय र कुलमान घिसिङबीच भएको कार्यसम्पादन सम्झौताको दफा ९.५ अनुसार आर्थिक वर्ष (आव) २०८०÷८१ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन २०८१ भदौभित्र मन्त्रालयमा पेश हुनुपर्ने थियो। तर, सो समयसीमाभित्र प्रतिवेदन नबुझाइएको हुँदा कार्यसम्पादन मूल्याङ्कन ग्राह्य हुन सकेन । यसले कार्यसम्पादन सम्झौताको उल्लंघन गरेको देखिएको छ ।
२. नेपाल–भारत ऊर्जा आदानप्रदान सम्झौतामा अधिकारविहीन हस्ताक्षर
सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा आयोजित १५औँ र १६औँ इन्डो–नेपाल पावर एक्सचेन्ज कमिटी (पिइसी) बैठकमा कुलमान घिसिङ वार्ता टोली प्रमुखको हैसियतमा सहभागी भए तर सरकारको पूर्वस्वीकृति तथा सञ्चालक समितिको अनुमतिबिना भारतीय पक्षसँग सम्झौतापत्रमा हस्ताक्षर गरे, जुन अनधिकृत निर्णय थियो ।
३. नेपाल सरकारको निर्देशन अवज्ञा गर्दै विद्युत् खरिद सम्झौता
२०७७ साल साउन ५ गते मन्त्रिपरिषद्ले भारत तथा बंगलादेशसँग विद्युत् खरिद–बिक्री सम्बन्धी सम्पूर्ण चरणहरूका लागि पूर्वस्वीकृति दिने निर्णय गरिसकेको थियो । कुलमान घिसिङले भारतमा विद्युत् खरिद सम्झौताका लागि वार्तामा जानुअघि सञ्चालक समितिबाट अनुमोदन नलिई प्रक्रिया अघि बढाएका थिए, जुन प्राधिकरण ऐन २०४१ विपरीत छ।
४. ऊर्जा मन्त्री र सचिवको अनुपस्थितिमा अनधिकृत निर्णय
२०२५ फेब्रुअरी १२ मा ऊर्जामन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य भारत भ्रमणमा रहेका बेला कुलमान घिसिङले नयाँ विद्युत् दर तथा खरिदसम्बन्धी समझदारी गरेको दाबी गरे तर मन्त्रालयले उक्त सम्झौताका लागि कुनै आधिकारिक निर्देशन दिएको थिएन ।
५. डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेका ग्राहकहरूको बक्यौता रकम असुल नगर्नु
२०८१ कात्तिक २५ गते मन्त्रिपरिषद्ले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत् विद्युत् उपयोग गर्ने ग्राहकहरूको बक्यौता महसुल १५ दिनभित्र असुल गर्न निर्देशन दिएको थियो । मन्त्रालयले विद्युत् प्राधिकरणलाई कार्यान्वयनका लागि पत्राचार गरे पनि घिसिङले सो निर्देशन पालना गरेनन् ।
६. अनधिकृत रूपमा विदेश भ्रमण तथा बिदा लिने प्रवृत्ति
नेपाल विद्युत् प्राधिकरणको विनियमावली २०६१ को विनियम १८ र ३२ अनुसार कार्यकारी निर्देशकले सञ्चालक समितिको स्वीकृतिबिना विदेश भ्रमण गर्न पाइँदैन । कुलमान घिसिङले पटक–पटक स्वीकृतिबिना विदेश भ्रमण गरेका थिए ।
७. सञ्चालक समितिका निर्णयहरूको कार्यान्वयन नगर्नु
प्राधिकरणको सञ्चालक समितिले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेका थिए तर कुलमान घिसिङले ती निर्णयहरू कार्यान्वयन गर्न आलटाल गरे । जसले गर्दा संस्थागत सुधारका पहलहरूमा अवरोध पुगेको थियो ।
८. सञ्चारमाध्यममा गोप्य दस्तावेज सार्वजनिक गर्नु
मन्त्रिपरिषद्ले २०८१ फागुन २१ मा कुलमान घिसिङलाई आफ्नो बचाउका लागि सफाइ पेश गर्न निर्देशन दिएको थियो तर उनले मन्त्रिपरिषद्मा विधिवत् रूपमा सफाइ पेश गर्नुअघि नै सञ्चारमाध्यममा आफ्नो पक्षको धारणा सार्वजनिक गरे । यसले उनको पदको दुरूपयोग देखिएको छ ।
९. विद्युत् प्राधिकरणभित्र गुटबन्दी सिर्जना गर्नु
विद्युत् प्राधिकरणमा कर्मचारीहरूबीच गुटबन्दी खडा गरी समग्र कार्यसम्पादनमा ह्रास ल्याएको आरोप उनीमाथि लागेको छ । यसको प्रत्यक्ष असर संस्थाको सञ्चालनमा परेको देखिन्छ ।
१०. संघीय संसद र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु
एक सरकारी संस्थाका प्रमुखका रूपमा रहँदा उनले पटक–पटक संघीय संसद तथा नेपाल सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए । जसले संस्थागत मर्यादा र पदको गरिमामा आँच पुर्याएको थियो ।
कुलमान घिसिङले कार्यसम्पादन सम्झौताको उल्लंघन, अनधिकृत निर्णय, सरकारी निर्देशनको अवज्ञा, तथा प्रशासनिक कमजोरी देखाएपछि मन्त्रिपरिषद्ले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारको प्रष्टोक्ति छ । सरकारले प्राधिकरणको नेतृत्वलाई स्वच्छ, पारदर्शी र उत्तरदायी बनाउन सो कदम चालेको जनाएको छ ।