काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नेपालगञ्ज–नानपारा १३२ केभी अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । बाँकेको जानकी गाउँपालिका–५ मा निर्माणाधीन न्यू–नेपालगञ्ज १३२/३३ केभी सबस्टेशनदेखि नेपाल–भारत सीमा (दशगजा क्षेत्र) सम्म १६.३८ किलोमिटर डबल सर्किट प्रसारण लाइन तथा पुरानो नेपालगञ्ज–९ मा रहेको ३३/११ केभी सबस्टेशनसम्म ६.१५ किलोमिटर मल्टी सर्किट गरी कुल २२.५३ किलोमिटर लामो प्रसारण लाईन निर्माण गरिने भएको हो । साथै, प्राधिकरणले पुरानो नेपालगञ्जमा १३२/३३ केभी सबस्टेशनसमेत निर्माण गर्ने भएको छ ।
यसका लागि अनुमति माग्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । कुल ८३ वटा टावरहरू निर्माण गरिने प्रसारण लाइनअन्तर्गत एसिएसआर ‘बिइएआर कन्डक्टर’ जडान गरिने छ । प्रसारण लाइनअन्तर्गतका टावरहरूको उचाई ३० देखि ४९.५ मिटरसम्म रहने छन् भने दुई टावरबीचको दूरी ११८.७४ देखि ४३१.५७ मिटरसम्म रहने छन् ।
प्रसारण लाइन आयोजना निर्माण गर्दा उल्लेखनीय असर पर्ने भए ३५ दिनभित्र आफ्नो लिखित राय तथा प्रतिक्रिया दिन सरोकारवाला सबैमा आह्वान गर्दै विद्युत् विकास विभागले बिहीबार सूचना जारी गरेको छ ।