विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बर्खामा बढी हुने बिजुली भारतमा बेच्ने उद्देश्यले प्रतिस्पर्धामा सहभागी भए पनि नेपाल विद्युत् प्राधिकरण यसबाट बाहिरिएको छ । भारतीय बजारमा उपलब्ध दर रेटको तुलनामा नेपाल (प्राधिकरण) ले प्रस्ताव गरेको विद्युत् बिक्री दर महँगो भएपछि प्रतिस्पर्धाबाट बाहिरिनुपरेको हो ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन (डिएम लाइन) बाट प्रतियुनिट भारु ४.१८ (६.६८८ रुपैयाँ) मा बिजुली किनिरहेको छ । बेच्न पनि सोही दरलाई मानक मानेर प्रतिस्पर्धामा भाग लिएको थियो । तर, दर महँगो भएपछि प्रतिस्पर्धाबाट बाहिरिनुपरेको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

दिल्लीस्थित डिआरपिएल नामको विद्युत् व्यापार कम्पनीले २५ मेगावाटदेखि ७०० मेगावाटसम्म बिजुली बेच्न इच्छुक कम्पनीबाट प्रस्ताव माग्दै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । यही बोलपत्रका आधारमा एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) लिमिटेडमार्फत २५ मेगावाट बेच्न प्राधिकरणले प्रतिस्पर्धामा भाग लिएको थियो ।

‘हाम्रो दर महँगो भएकै कारण प्रतिस्पर्धामा सफल हुन सकिएन, हामी डिएम लाइनबाट आयात गरेको दरभन्दा बढ्न सक्ने अवस्थामा थिएनौं,’ शाक्यले बिहीबार ऊर्जा खबरसँग भने, ‘पहिलो पटक प्रतिस्पर्धामा भाग लिएको हुँदा बिजुली बेच्ने प्रक्रियाबारे थाहा भयो । अझै २–३ पटकसम्म भाग लिइयो भने सफल हुन सकिएला ।’

दिल्लीको कम्पनीले माग गरेको बिजुलीको परिमाण उपलब्ध गराउन प्रतियुनिट भारु ३ देखि ३.२५ सम्मको मूल्य प्रस्ताव गर्ने कम्पनी छनोट भएको प्राधिकरणले जानकारी दियो । प्राधिकरणले डिएम लाइनकै दरमा प्रस्ताव गरे पनि त्यहाँबाट दिल्लीसम्मको लाइन चुहावट, ह्विलिङ चार्ज (प्रसारण लाइनको भाडा) र दलाल कम्पनीको कमिसनसमेत बेहोर्नुपर्थ्याे ।

‘यी सबै शुल्क जोडेर दिल्लीको बजारसम्म पुर्याउँदा हाम्रो बिजुलीको मूल्य प्रतियुनिट भारु ५ रुपैयाँभन्दा कम नहुने देखियो,’ प्रधिकरणका एक उच्च अधिकारीले भने, ‘प्रतियुनिट भारु ३ वा ३.२५ को दरमै सहभागी भएर हामी छनोट भएको भए पनि त्यसमा ६० देखि ६७ पैसा भारु घट्ने देखिन्छ ।’

यसले नेपालको बिजुली सजिलै भारतीय बजारमा बेच्न सकिने सम्भावना न्यून रहेको औंल्याएको छ । पहिलो, महँगो जलविद्युत् लागत, भारतीय बजारमा दैनिक घट्दै गएको बिजुलीको दर तथा त्यहाँसम्म पुर्याउँदा लाग्ने लागत (प्रसारण शुल्क, चुहावट र दलाल कमिसन) का कारण पनि नेपालको बिजुली थप महँगिने देखिन्छ ।

प्राधिकरणले प्रयासकै लागि भए पनि पहिलो पटक बिजुली बेच्न प्रतिस्पर्धामा भाग लियो । जुन सकारात्मक थियो, यसबाट नेपालको बिजुलीले अन्तर्राष्ट्रिय बजारमा कति मूल्य पाउँदो रहेछ भन्ने प्रस्ट भएको छ । यसो हुँदा भविष्यमा भारत वा अन्तर्राष्ट्रिय बजारमा बिजुली बेचेर धनी हुने सपना ‘आकासको फल’ जस्तै देखिन्छ ।

३ लाख मेगावाट जडित क्षमता पुगेको भारतमा सोलार बिजुलीको मूल्य प्रतियुनिट भारु १.९० सम्म झरेको छ । त्यहाँ सस्तो दरको बिजुलीबीच प्रतिस्पर्धा भइरहँदा नेपालको महँगो जलविद्युत् जान सक्ने बाटो खुकुलो हुने आशा ज्यादै न्यून देखिन्छ । यद्यपि, बर्खामा बढी हुने वा खेर जाने बिजुली पठाउनैपर्ने बाध्यता आइलागे भारतले दयाले तोकेको दर रेट नै हामीले स्वीकार्नुपर्छ ।

कामु कार्यकारी निर्देशक शाक्य भने दोस्रो वा तेस्रो पटकसम्म प्रतिस्पर्धामा भाग लिँदा अनुभव बढ्दै जाने र यताको बिजुली उता बेच्न वा निर्यात गर्न सकिने दाबी गर्छन् । ‘हामीलाई विद्युत् नियमन आयोगले पनि हतारमा स्वीकृति दियो, अर्को पटक उसले पनि यसमा थप अध्ययन गर्ला,’ उनले भने, ‘बिजुली बेच्ने सन्दर्भमा हामीले बुझ्नेमात्र होइन, हाम्रा नियामक निकायहरूलाई पनि बुझाउँदै जानुपर्छ ।’

पहिलो र असफल प्रयास भए पनि यसबाट नेपाल (प्राधिकरण) ले नयाँ ज्ञान वा अनुभव हासिल गरेको छ, हाम्रो बिजुली अन्तर्राष्ट्रिय बजारमा सजिलै जान सम्भव रहेनछ भन्ने । यसबाट अर्को पाठ पनि सिक्न जरुरी छ कि हामीले उत्पादन गरेको बिजुली देशमै खपत गर्नु वा बढाउनुको विकल्प छैन । यसकारण, आजैदेखि सरकार तथा प्राधिकरण र सरोकारवाला निकायको तत्काल ध्यान जान जरुरी छ ।

स्वदेशी उद्योगधन्दामा अहिले पर्याप्त बिजुली पुर्याउन सकिएको छैन । यता प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले देशका औद्योगिक क्षेत्रमा कहाँ कति माग रहेको भन्नेबारे अध्ययन गरी विवरण संकलन गरिरहेको छ । अहिले उद्योगमा करिब ३ सय मेगावाट लोड (माग) रहेको प्राधिकरणले उल्लेख गर्दै आएको छ ।

हालको ३ सय मेगावाट र विभिन्न उद्योगमा करिब ५ सय मेगावाट माग रहे पनि आपूर्ति पुर्याउन नसकिएको बताइएको छ । यत्ति परिमाणमात्र विद्युत् औद्योगिक क्षेत्रमा खपत बढाउन सके आउँदो बर्खाको बिजुली बढी हुने समस्याको समाधान निकाल्न सकिन्थ्यो ।

याे पनि पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३