काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले ११ वटा प्रसारण लाइन आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाएको छ । ती आयोजना निर्माणाधीन, अध्ययन तथा डिजाइनको चरणमा छन् ।
आरपिजिसिएलका अनुसार अगाडि बढेका आयोजनामा ३ वटा निर्माणाधीन, ३ वटा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रारूपमा निर्माण अघि बढाइको, २ वटाको अध्ययन सम्पन्न भएको र ३ वटा अध्ययनका क्रममा रहेका छन् । कम्पनी स्थापना भएको १० वर्षसम्म पुग्दा बल्ल नतिजामुखी कामले गति लिएको देखिन्छ ।
ती प्रसारण लाइनहरू निजी क्षेत्र तथा सरकारले निर्माण गर्ने जलविद्युत् आयोजना क्षेत्र तथा नदी कोरिडोरलाई लक्षित गरी अगाडि बढाइएको आरपिजिसिएलले जानकारी दिएको छ । थप ८ प्रसारण लाइनको अनुमतिपत्र लिने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले बताए । अनेक चुनौतीका बाबजुत पनि आफ्नो कार्यकालमा संस्थाको व्यावसायिक छबि नयाँ उचाइमा पुर्याउने उनको भनाइ छ ।
निर्माण प्रक्रियामा अगाडि बढेका प्रसारण लाइन आयोजनाहरू
| क्र.सं. | आयोजना | सुरु (आ.व.) | समापन (आ.व.) | कुल लागत (रु. अर्ब) |
| १ | कर्णाली काेरिडाेर ४०० केभी | २०७३/७४ | २०८५/८६ | २१.५५ |
| २ | मेवा काेरिडोर १३२ केभी | २०७५/७६ | २०८३/८४ | १.४ |
| ३ | दरौँदी कोरिडेर १३२ केभी | २०७६/७७ | २०८३/८४ | १.७३ |
| ४ | पश्चिम सेती कोरिडोर ४०० केभी | २०७४/७५ | २०८८/८९ | २७.५६ |
| ५ | भेरी काेरिडाेर ४०० केभी | २०७५/७६ | २०८६/८९ | २१.९६ |
| ६ | हाइटार–शितलपाटी ४०० केभी | २०७५/७६ | २०८७/८८ | ९.४ |
| ७ | तमोर कोरिडोर २२० केभी | २०७५/७६ | २०८७/८८ | २.४८ |
| ८ | लामाबगर–बाह्रबीसे २२० केभी | २०७५/७६ | २०८७/८८ | ३.८८ |
| ९ | शीतलपाटी–ढुङ्गेसाँघु २२० केभी | २०७९/८० | २०८७/८८ | २.२२ |
| १० | हुम्ला–फुकोट ४०० केभी | २०८१/८२ | २०८८/८९ | १८.७२ |
| ११ | साँफेबगर–बस्ती–बेतन १३२ केभी | २०८२/८३ | २०८७/८८ | २.३९ |
| जम्मा | ११३.२९ |
स्रोतः आरपिजिसिएल
आयाेजनाहरूको संक्षिप्त विवरण
कर्णाली काेरिडाेर ४०० केभी : कर्णाली तथा सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी १२० किलोमिटर कर्णाली काेरिडाेर ४०० केभी प्रसारण लाइन निर्माणाधीन रहेको छ । यसबाट २ हजार ५०० मेगावाट विद्युत् प्रवाह हुने अध्ययनले देखाएकाे छ । जसमा फुकोट कर्णाली (४८० मेगावाट), बेतान–कर्णाली (६८८ मेगावाट), तीला –१ (४४० मेगावाट) र तीला–२ (४२० मेगावाट) बाट उत्पादन हुने विद्युत् फुकोट, बेतन र दोदोधारा सबस्टेसनमा जोडिने छ । ती सबस्टेसनको क्षमता क्रमशः १६० एमभिए, १६० एमभिए र १००० एमभिए रहेको छ । आव २०८५/८६ भित्र सम्पन्न हुने आयोजनाको लागत २० करोड अमेरिकी डलर अनुमान गरिएको छ । यस प्रसारण लाइनले कालिकोट, अछाम, सुर्खेत र कैलालीलाई छुुने छ । आयोजनाको इन्जिनियरिङ डिजाइनको काम अन्तिम चरण रहेको तथा चेक सर्भे सम्पन्न गरी टावरहरूको २२ वटा फाउन्डेसन पूरा भई ६ वटा फाउन्डेसन बनाउने काम भइरहेको छ ।
मेवा काेरिडोर १३२ केभी : ताप्लेजुङ जिल्लामा निर्माण हुने २० किलोमिटर लामो मेवा कारिडोर (मेवा-चाँगे, ढुङ्गेसाँघु) १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा रहेको छ । १५४.३६ मेगावाट विद्युत् प्रवाह हुने यो प्रसारण लाइन मेवा सबस्टेसनमा जोडिने छ, जसको क्षमता ३० एमभिए रहेको छ । उक्त प्रसारण लाइनमार्फत प्रवाह हुने विद्युत् आयोजनाहरूमा अप्पर मेवा–ए (३१.९२ मेगावाट), पालुन खोला–१ (३० मेगावाट), युनियन मेवा (२३ मेगावाट),पालुन खोला सानो (२१ मेगावाट) र साना खोला (९ मेगावाट) रहेका छन् । आव २०८३/८४ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको लागत १ कराेड ३ लाख अमेरिकी डलर अनुमान गरिएकाे छ । आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण कार्य सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइएको छ । आरपिजिसिएलका अनुसार आयोजनाको विस्तृत सर्भे एवम् वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ ।
दरौँदी कोरिडेर १३२ केभी : गोरखा र तनहुँ जिल्लामा निर्माण हुने ३२ किलोमिटर लामो दरौँदी कोरिडेर १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा रहेको छ । १२० मेगावाट विद्युत् प्रवाह हुने प्रसारण लाइन केराबारी सबस्टेसनमा जोडिने छ, यसको क्षमता ३० एमभिए क्षमता रहेको छ । आव २०८३/८४ भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको आयोजनाको लागत १ कराेड २८ लाख अमेरिकी डलर लागत अनुमान गरिएकाे छ । आयोजनाको प्रारम्भिक चरणमा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण पूरा भइसकेको जनाइएको छ । आयोजनाका लागि निर्माण हुने १०७ वटा टावरमध्ये ४५ वटाको संरचना निर्माण सम्पन्न भइसकेको छ भने १० वटाको जग निर्माण सम्पन्न भइसकेको छ । समग्र प्रगतिलाई मूल्याङ्कन गर्दा हालसम्म भौतिक प्रगति करिब ६६.३ प्रतिशत र वित्तीय प्रगति करिब ५०.८८ प्रतिशत पुगेको छ ।
तमोर कोरिडोर २२० केभी : ताप्लेजुङ जिल्लामा निर्माण हुने ३२ किलोमिटर तमोर कोरिडोर २२० केभी प्रसारण लाइन निर्माण गर्न एसपिभी (स्पेसियल प्रपस भेहिकल) कम्पनी स्थापना गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । ७०० मेगावाट विद्युत् प्रवाह हुने यो प्रसारण लाइन तमोर सबस्टेसनमा जोडिने छ, जसको क्षमता ३१५ एमभिए रहेको छ । यहाँ घुन्सा खोला (७७.५ मेगावाट), सुपर तमोर (६६ मेगावाट), सिंबुवा खोला (७०.३० मेगावाट) बाट उत्पादन हुने विद्युत् जोडिने छ । आव २०८७/८८ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको अनुमतिपत्र प्राप्तिको काम सम्पन्न भइसकेको छ ।
हाइटार-शीतलपाटी ४०० केभी : संखुवासभा जिल्लामा निर्माण हुने ३५ किलोमिटर लामो अरुण कोरिडोर हाइटार–शितलपाटी ४०० केभी प्रसारण लाइन निर्माण गर्न सार्वजनिक निजी साझेदारी अन्तर्गत वित्तीय स्रोत जुटाउने प्रक्रिया थालिएको छ । २ हजार २ सय ६० मेगावाट विद्युत् प्रसारण गर्ने उक्त प्रसारण लाइन हाइटार–शितलपाटी सबस्टेसनमा पुगेर टुङ्गिन्छ, जसको क्षामता ३०० र ६३० एमभिए रहेको छ । ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् सो सबस्टेसनमा जोडिने छ । आव २०८७/८८ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस प्रसारण लाइनको लागत ६ कराेड ९६ लाख ५० हजार अमेरिकी डलर अनुमान रहेको छ । अध्ययन चरणमा रहेको यस प्रसारण लाइनको विस्तृत सर्वेक्षण तथा डिजाइन सम्पन्न भइसकेको छ ।
लामाबगर–बाह्रबिसे २२० केभी : दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माण हुने ४३ किलोमिटर लामो लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइनको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययन सम्पन्न भएको छ । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्ने गरी अहिले एसपिभी कम्पनी स्थापनाको क्रममा रहेको छ । १ हजार २४० मेगावाट विद्युत् प्रवाह हुने उक्त प्रसारण लाइन लामाबगर सबस्टेसनमा पुगेर टुङ्गिन्छ, जसको क्षमता ३१५ एमभिए रहेको छ । ५ वटा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् साे सबस्टेसनमा जोडिने छ । आव २०८७/८८ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस प्रसारण लाइनको लागत २ कराेड ८७ लाख ८० हजार अमेरिकी डलर अनुमान गरिएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको माथिल्लो क्षेत्रमा स्वतन्त्र ऊर्जा उत्पादकहरूद्वारा प्रस्तावित करिब ४२३ मेगावाट जलविद्युत् प्रवाह हुने प्रक्षेपण गरिएको छ ।
भेरी काेरिडाेर ४०० केभी : कर्णाली प्रदेशमा भेरी कोरिडोर ९३ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माणका लागि तयार वित्तीय स्रोतको लागि पहल भइरहेको छ । २ हजार ४०० मेगावाट विद्युत् प्रसारण हुने उक्त प्रसारण लाइन नलगाड सबस्टेसनमा पुगेर टुङ्गिन्छ, जसको क्षमता १६० र ३१५ एमभिए रहेको छ । ३ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् साे सबस्टेसनमा जोडिने छ । आयोजनाबाट जाजरकोट, पश्चिम रुकुम, सल्यान र सुर्खेत क्षेत्रहरू प्रभावित हुने छन् । आव २०८६/८७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस प्रसारण लाइनको लागत १ कराेड ६० लाख अमेरिकी डलर रहने छ । आयोजनाको नलगाड–मैनताडा खण्डको प्रसारण लाइनको डिटेल इन्जिनियरिङ डिजाइन सम्पन्न भएको छ । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको अध्ययन सम्पन्न भई सबस्टेसनका लागि जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ ।
पश्चिम सेती कोरिडोर ४०० केभी : सुदूरपश्चिम प्रदेशमा २१३ किलोमिटर लामो पश्चिम सेती कोरिडोर ४०० केभी प्रसारण लाइन पिपिपी मोडेलमा निर्माण गर्न सैद्धान्तिक सहमति जुटेको छ । २ हजार ५०० मेगावाट विद्युत् प्रवाह हुने यो प्रसारण लाइन बझाङ पश्चिम सेती सबस्टेसनमा पुगेर टुङ्गिन्छ, जसको क्षमता ३१५ र १६० एमभिए रहेको छ । ४ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् साे सबस्टेसनमा जोडिने छ । आयोजनाबाट बझाङ, डोटी,डडेलधुरा, कञ्चनपुर र कैलाली क्षेत्रहरू प्रभावित हुने छन् । आव २०८८/८९ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना सम्पन्न गर्न २० कराेड ४२ लाख ७० हजार अमेरिकी डलर लागत अनुमान गरिएको छ । प्रसारण लाइनको विस्तृत इन्जिनियरिङ डिजाइन सम्पन्न भएको छ भने प्रारम्भिक वातावरणीय परीक्षण पनि सम्पन्न भइसकेको छ । चैनपुर र बनलेक सबस्टेसनको लागि जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ । साथै, बनलेकको जग्गा काँडेतार निर्माण सम्पन्न भइसकेको छ ।
हुम्ला–फुकोट ४०० केभी : कर्णाली जिल्लामा निर्माण हुने ८५ किलोमिटर लामो हुम्ला–फुकोट ४०० केभी प्रसारण लाइनको विस्तृत सर्भेक्षण कार्य सुरु भइरहेको छ । २ हजार २५० मेगावाट विद्युत् प्रसारण हुने उक्त प्रसारण लाइन हुम्ला सबस्टेसनमा जोडिन्छ, त्यसको क्षमता ६३० एमभिए रहेको छ । ६ वटा आयोजनाबाट उत्पादन हुने विद्युत् उक्त सबस्टेसनमा लगेर जोडिने छ । आयोजनाबाट हुम्ला, बाजुरा र कालीकोट क्षेत्रहरू प्रभावित हुने छन् । आव २०८८/८९ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको लागत १ कराेड ३८ लाख अमेरिकी डलर रहेको छ । यस प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सर्केगाड गाँउपालिकामा ४००/१३२ केभीको हुम्ला सबस्टेसन निर्माण गर्न करिब ११० रोपनी जग्गा अधिग्रहणको प्रक्रियमा रहेको छ भने फुकोट सबस्टेसनको जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ ।
साँफेबगर–बस्ती–बेतन १३२ केभी : सुदूरपश्चिम प्रदेशमा ४८ किलोमिटर लामो साँफेबगर–बस्ती–बेतन १३२ केभी प्रसारण लाइनको विस्तृत सर्भेक्षण कार्य सुरु भइरहेको छ । यस प्रसारण लाइन तथा सबस्टेसनमा २० मेगावाटको बूढीगङ्गा सहित त्यस क्षेत्रमा उत्पादन हुने करिब १०० मेगावाट विद्युत् साँफेबगर बेतन सबस्टेसनमा जोडिने छ । आयोजनाबाट सुर्खेत र अक्षामका क्षेत्रहरू प्रभावित रहने छन् । आव २०८७/८८ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको लागत २ कराेड २२ लाख अमेरिकी डलर रहको छ । यस प्रसारण लाइनको सर्वे सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययन भइरहेको छ ।
शीतलपाटी–ढुङ्गेसाँघु २२० केभी : ताप्लेजुङ र संखुवासभा प्रभावित क्षेत्र पर्ने ४८ किलोमिटरको यो प्रसारण लाइनको विस्तृत इन्जिनियरिङ सम्पन्न भई र वातावरणीय अध्ययन भइरहेको छ । यस क्षेत्रमा उत्पादन हुने विद्युत् शीतलपाटी तथा ढुङ्गेसाँघु बे एक्सटेन्सनमार्फत केन्द्रीय प्रणालीमा प्रवाह हुने छ, जहाँबाट ६०० मेगावाट विद्युत् प्रवाह हुने प्रक्षेपण गरिएको छ । आव २०८७/८८ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको लागत १ कराेड ७१ लाख ४० हजार अमेरिकी डलर अनुमान गरिएकाे छ । यस प्रसारण लाइनको सर्वेक्षण र विस्तृत डिजाइन सम्पन्न भइसकेको छ भने हाल विस्तृत अध्ययनको चरणमा रहेको छ । आयोजनाको वातावरणीय स्वीकृति प्राप्त गर्न तथा प्रभावकारी योजना र सफल कार्यान्वयन सुनिश्चितका लागि यसै आवमा प्रारम्भिक वातावरणीय परीक्षण सुरु गर्ने प्रक्रिया अघि बढाइएको छ ।