तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने ८ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ । यहाँ भने ९० दिनपछि लाइन काटिएको हो ।
लाइन काटिएका ८ सय ८८ ग्राहकबाट ४२ लाख ४२ हजार १९९ रूपैयाँ उठाउन बाँकी छ । यीबाहेक १ हजार ७ सय ३३ ग्राहकबाट ३ करोड १३ लाख ९२ हजार ३ सय ३६ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र प्रमुख गोशलीले जानकारी दिए । यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ ।
माघ मसान्तसम्म ८ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट ७ करोड ५९ लाख ५३१ राजश्व संकलन भएको छ । अग्रिम विद्युत् महसुल पनि उठ्ने गरेको छ ।
चालु आर्थिक वर्षको हालसम्म १३ लाख ९ हजार ४ सय ९८ रुपैयाँ अग्रिम भुक्तानी हुने गरेको छ । हाल अनलाइनबाट विद्युत् महसुल बुझाउने व्यवस्था छ तर हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन् ।