विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभर कोरोना (कोभिड–१९) संक्रमित तथा मृत्यु हुनेको दर बढेपछि बैशाख १६ गतेपछि मुलुकका ७० भन्दा बढी जिल्लामा निशेधाज्ञा छ । अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुँदा जलविद्युत् क्षेत्र पनि निशेधाज्ञाबाट प्रभावित हुन पुगेको छ । विशेष गरी निर्माणाधीन आयोजना कोरोना महामारीको चपेटामा परेका छन् ।

सरकारले आयोजनाको काम जारी राख्ने अनुमति दिए पनि निर्माण सामग्री ढुवानी समस्याले आंशिक मात्रै काम हुन सकेको छ । केही आयोजनामा कर्मचारी तथा कामदार नै कोरोना संक्रमित हुँदा यसको असर निर्माणमा परेको छ । विद्युत् विकास विभागको आग्रहपछि पछिल्लो समय प्रवद्र्धकहरूले आफ्नो आयोजनामा भएका अक्सिजन सिलिन्डर उपलब्ध गराएर कोरोनाका बिरामीको उपचारमा अप्रत्यक्षरूपमा भए पनि सहयोग गरिरहेका छन् । यिनै विषयमा ऊर्जा खबरले निजी ऊर्जा उत्पादकहरूको धारणा समेट्ने प्रयास गरेको छ ।

‘पहिला सर्वसाधारणको ज्यान बचोस्’

गुरुप्रसाद ढकाल
कार्यकारी निर्देशक, हिमालयन पावर पार्टनर कम्पनी

कोरोना (कोभिड–१९) माहामारीको संक्रमण रोक्न निशेधाज्ञा जारी भएयता लमजुङमा हामीले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दी खोलाको काम ठप्प छ । आयोजनामा हाइड्रो तथा इलेक्ट्रो मेकानिकलको थोरै काम बाँकी थियो । निशेधाज्ञामा निर्माण सामाग्री तथा उपकरण ढुवानीमा समस्या हुँदा काम प्रभावित हुन पुगेको छ । इलेक्ट्रो मेकानिकलको कामका लागि भारतबाट ठेकेदार कम्पनीका प्राविधिक आउन नसक्दा निर्माण रोकिएको छ ।

काम रोकिएकाले हामीले आयोजनासँग भएका ७ वटा अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय लमजुङमा लगेर बुझाइदिएका छौं । कोरोनाको महामारीमा मानवीय धर्म निर्वाह गर्नका लागि आयोजनामा प्रयोग हुँदै आएको अक्सिजन जिल्ला प्रशासनमा बुझाएका हौं । कम्पनीले गरेको सानो योगदानले देशबासी दाजुभाइ दिदीबहिनीको ज्यान जोगाउन सकियोस् भन्ने मेरो कामना छ ।

‘हामीले २० वटा अक्सिजन सिलिन्डर जिल्ला प्रशासनमा दियौं’

पुष्पज्योति ढुंगाना
कार्यकारी अध्यक्ष, सुपर मादी हाइड्रो पावर लिमिटेड

निशेधाज्ञा भए पनि ४४ मेगावाटको सुपर मादीको निर्माण रोकिएको छैन । कर्मचारी तथा कामदार सबै आयोजनास्थलमै रहेकाले काम गर्न समस्या छैन । तर, विष्फोटक पदार्थको अभावमा मुख्य सुरुङको काम भने प्रभावित हुन पुगेको छ । अहिलेसम्ममा सुरुङको काम सम्पन्न गरिसक्ने लक्ष्य हो । तर, बिस्फोटक पदार्थको अभावमा सम्भव हुन सकेन ।  सुरुङको काम अहिले ठप्प जस्तै छ ।

निशेधाज्ञाका कारण सिमेन्ट, फलामलगायत निर्माण सामग्रीको चर्को मूल्यवृद्धि भएको छ । विशेष गरी डण्डीको मूल्य आकाशिएको छ । ‘किन मूल्यवृद्धि भयो’ भनेर व्यापारीलाई सोध्दा अन्तर्राष्ट्रिय बजारमा नै डण्डी महँगो भएकाले नेपालमा मूल्य बढेको जवाफ आउने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा डण्डीको मूल्य बढेको कुरा साँचो हो । तर, व्यापारीले यसैको निहुँ गरेर अधिक मूल्य बढाएका छन् । हामीसँग पहिले नै ढुवानी गरेको निर्माण सामग्री स्टकमा थियो, त्यसैबाट अहिले काम भइरहेको छ ।

अहिले कोरोना महामारीको संक्रमण सबैतिर फैलिएको छ । यस्तो अवस्थामा मानव जीवनको रक्षालाई नै प्राथमिकतामा राखेर हामीले पनि आयोजनामा भएका २० वटा अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएका छौं । हामीले बुझाएको अक्सिजन गम्भीर संक्रमितको उपचारमा प्रयोग भइरहेको छ । विभागले सूचना जारी गरेर अक्सिजन सिलिन्डर दिएर सहयोग गर्न आग्रह गर्नुभन्दा अघि नै हामीले जिल्ला प्रशासनमा बुझाइसकेका थियौं ।

‘जीवन रक्षामा हामीले सक्दो सहयोग गरेका छौं’

सुवर्णदास श्रेष्ठ
सञ्चालक, सानिमा हाइड्रो समूह

सानिमा हाइड्रोले अघि बढाएका ३ वटै आयोजनाको निर्माण आंशिकरूपमा भइरहेको छ । हाम्रा कर्मचारी तथा कामदार पनि कोरोना संक्रमित भएकाले निर्माणलाई गति दिन भने सकिएको छैन । हाम्रा विभिन्न आयोजनामा कार्यरत एक दर्जन बढी कर्मचारी र कामदार कोरोना संक्रमित भई अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

संक्रमण दर उच्च भई अक्सिजनको अभाव हुन थालेपछि सानिमा समूहले मानव जीवन रक्षाका लागि निर्माणाधीन आयोजनामा भएका सिलिन्डर दिएर सहयोग गरिरहेको छ । हामीसँग भएका ३४ वटा अक्सिजन सिलिन्डरमध्ये १७ वटा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाएका छौं । रामेछाप, ताप्लेजुङ र इलाममा अक्सिजन दिएर सहयोग गरिएको छ ।

संक्रमण भएका हाम्रै केही कर्मचारी साथीहरूलाई अक्सिजन दिनुपर्ने अवस्था आयो । भोलि पनि यो अवस्था आउन सक्छ । हामीले बुझाएको अक्सिजनका बारेमा विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा लिखित पत्रमार्फत जानकारी गराएका छौं ।

अहिले हामीसँग बाँकी रहेका सिलिन्डर पनि आवश्यकता अनुसार दिँदै जानेछौं । यो महामारीको घडीमा मानव जीवनको रक्षा गर्नु नै पहिलो जिम्मेवारी हो । बरु आयोजनाको काम वर्ष दिन धकेलिँदा केही हुँदैन । त्यसकारण, अहिले मावन जीवनको रक्षा गर्न सबैले आ–आफ्नो स्थानबाट सकेको सहयोग गर्नु आवश्यक छ ।

‘आयोजनाका सिलिन्डर केन्द्रमा पठाएकाले जिल्लामा दिन सकिएको छैन’

समन मानन्धर
प्रमुख, माथिल्लो सोलु जलविद्युत् आयोजना

अहिले निर्माणाधीन आयोजनाको काम सुचारु राख्न ठूलो चुनौती छ । आयोजनामा कार्यरत कामदार र कर्मचारी संक्रमित हुने क्रम बढेकाले निर्माण प्रभावित हुने अवस्था छ । हाम्रो आयोजनामा कार्यरत कर्मचारी तथा ठेकेदारका कामदार संक्रमित भएका छन् । साढे २ सय जनाको कोराना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ जनाको स्वास्थ्यमा समस्या आएकाले राजधानी ल्याएर उपचार गराइरहेका छौं । अहिले स्वस्थ्यमा सुधार भइरहेको छ । बाँकी सबै आयोजनास्थलमै आइसोलेसनमा बसेका छन् । रिपोर्ट नेगेटिभ आएका कर्मचारी तथा कामदारले काम सुरु गर्नुभएको छ ।

हाम्रो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । २०७८ असोजभित्र सम्पन्न गर्ने गरी काम भइरहेकोमा कोरोना प्रभावले केही महिना धकेलिने अवस्था आएको छ । आयोजनामा रहेका ३ दर्जन अक्सिजन सिलिन्डरमध्ये २८ वटा खाली सिलिन्डर भर्न काठमाडौं ल्याइएको थियो । तर, अक्सिजन उद्योगले सबै सिलिन्डर कोभिड अस्पताललाई दिएको छ ।

विभागले सूचना जारी गर्नुअघिबाटै आयोजनाका अक्सिजन सिलिन्डर कोभिडका विरामीको उपचारमा उपयोग भइरहेका छन् । हाम्रा अक्सिजन सिलिन्डर राजधानीमा प्रयोग भइरहेकाले जिल्ला प्रशासन कार्यालय सोलुले माग्दा सहयोग गर्न सकिएको छैन । कोरोना लागेका हाम्रा कर्मचारी साथीहरूका लागि औषधी र अक्सिजनको जोहो गर्नसमेत अहिले कठिनाई देखिएको छ ।

‘हाम्रो सहयोगले गम्भीर विरामीलाई राहात मिलेको छ’

हिमप्रसाद पाठक
अध्यक्ष, साहस ऊर्जा कम्पनी

कोरोना महामारीको दोस्रो लहरको रोकथामका लागि गरिएको निशेधाज्ञाका बीच ८६ मेगावाटको सोलु–दूधकोसी आयोजनाको निर्माण जारी छ । कामलाई तीव्रता दिन नसके पनि आंशिकरूपमा अघि बढेको छ । अहिलेसम्म हाम्रो आयोजनामा कोही संक्रमित भएका छैनन् । सबै सुरक्षित नै छौं । तर, आयोजना रहेको सोलुखुम्बु जिल्लामा धेरै संक्रमित छन् ।

केहीको अवस्था गम्भीर छ । सरकारले सबै प्रवद्र्धकलाई अक्सिजन सिलिन्डर बुझाउन अपिल गरेपछि हाम्रो आयोजनामा रहेका ५० वटा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बुझाएका छौं । भैपरी आएको अवस्थामा आवश्यक पर्न सक्ने हुँदा केही थान आयोजनामा राखेर सबै प्रशासनमा बुझायौं । हामीले बुझाएका सिलिन्डरको सहयोगमा कोरोनाका गम्भीर विरामीको उपचार भइरहेको छ ।

 

‘अहिलेको परिस्थितिमा मानवजीवन बचाउनु ठूलो धर्म हो’

पुष्प चित्रकार
प्रमुख कार्यकारी अधिकृत, सानिगाड हाइड्रो पावर कम्पनी

कोरोना महामारीको संक्रमण कालंगा बेसिनमा निर्माणाधीन हाम्रा आयोजनासम्म पनि पुगेको छ । अहिले १६ जना कर्मचारी तथा कामदार कोरोना संक्रमित भई स्वास्थ्यलाभ गरिरहेका छन् । एक जनाको ज्यान नै गयो । म आफैं पनि संक्रमित छु । अहिले स्वास्थ्य लाभ गरिरहेको छु । यो अवस्थामा पनि हामीले निर्माण रोकेका छैनौं । सुस्त गतिमा भए पनि काम भइरहेको छ ।

बझाङ जिल्लामा यो वर्ष संक्रमण फैलिएकाले हामीसँग भएका अक्सिजन सिलिन्डर दिएर सहयोग गरेका छौं । हाम्रो आयोजनाका केही अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय बझाङलाई दिएका छौं । केही स्थानीय गाउँपालिकाहरूले लगेका छन् । केही स्थानीय हाम्रो आयोजनाको आइसोलेसनमा आएर अक्सिजन लिइरहनु भएको छ । अहिलेको बिषम परिस्थितीमा मानव जीवन रक्षा गर्नु नै ठूलो धर्म भएकाले बझाङबासीलाई आयोजनाको तर्फबाट सकेको सहयोग गरिरहेका छौं ।

‘दैनिक ८ सय अक्सिजन सिलिन्डर अस्पताललाई दिइरहेको छु’

सीताराम तिमल्सिना
अध्यक्ष, सीता हाइड्रो पावर कम्पनी

मेरो लगानी रहेको आयोजनाको काम भर्खरै सुरु भएकाले त्यहाँ अक्सिजन सिलिन्डर त थिएनन् । पाँचथरको हेवा खोलामा भएका ४ वटा सिलिन्डर फिदिम प्रहरीलाई दिएको छु । जिल्लामा आवश्यक परेपछि प्रहरीले आएर लगेको छ । मेरो आफ्नै अक्सिजन उद्योग पनि छ । यो उद्योगबाट दैनिक ८ सय सिलिन्डर उत्पादन गरेर कोभिडका बिरामीको उपचार हुने अस्पतालहरूमा दिइरहेको छु । सरकारले हरेक दिन अक्सिजन आवश्यक पर्ने अस्पतालको नामको सूची पठाउँछ । त्यसैको आधारमा अस्पतालहरूमा अक्सिजन सिलिन्डर दिने गरेको छु ।

अस्पतालमा प्रतिसिलिन्डर ५ सय रुपैयाँ तथा खुद्रा मूल्यमा सानो ३ सय र ठूलो ७ सय रुपैयाँमा बिक्री गरिरहेको छु । अहिले कोभिडका बिरामीलाई अक्सिजन अत्यावश्यक भएकाले सबै काम छाडेर अक्सिजन उत्पादनमा लागेको छु । केहीले कालो बजारी गरेर बिरामीका परिवारबाट प्रतिसिलिन्डर १० हजार रुपैयाँसम्म असुलिरहेको भन्ने सुन्नमा आएको छ । यो गलत हो । यस्तो अवस्थामा पनि कारोबजारी गर्नेलाई कानुनी दायरामा ल्याएर सरकारले कारबाही गरोस् ।

‘भएका सिलिन्डर स्थानीय प्रशासनलाई दिइसकेका छौं’

बलराम खतिवडा
कार्यकारी निर्देशक, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी

हाम्रो कम्पनीले प्रवद्र्धन गरेको ५ मेगावाटको तल्लो दादी खोला निर्माणको अन्तिम चरणमा छ । अबको १ महिनामा विद्युत् उत्पादन सुरु गर्ने तालिका छ । तर, कोरोनामा महामारीले निर्माणलाई गति दिन नसक्दा उत्पादन धकेलिने देखिएको छ ।

अहिले आयोजनाको काम सुस्त गतिमा मात्रै भइरहेको छ । इलेक्ट्रो मेकानिकल उपकरणहरू भारतबाट ल्याउनुपर्ने हुँदा निशेधाज्ञाका कारण ढुवानीमा समस्या भइरहेको छ । इलेक्ट्रो मेकानिकलको काम गर्ने प्राविधिक आउन नसक्दा पनि काम प्रभावित हुन पुगेको छ । आयोजनास्थलमा भएका कर्मचारी तथा कामदारबाट निर्माण जारी राखेका छौं । गेट हाल्ने काम भइरहेको छ । पेनस्टक पाइपको काम बाँकी छ ।

हाम्रो आयोजनामा काम गर्ने ४ जनालाई कोरोना लाग्यो । तर, अहिले सबै कोरोनामुक्त भएर काममा फर्किसक्नु भएको छ । नुवाकोटमा पनि कोरोना संक्रमितको संख्या बढेको छ । हामीले आयोजनामा भएको अक्सिजन सिलिन्डर स्थानीय तहलाई दिएर सहयोग गरेका छौं । कोरोनाका बिरामीको उपचारका लागि तादी गाउँपालिकाले ७ र दुप्चेश्वर गाउँपालिकाले ३ वटा अक्सिजल सिलिन्डर लगेका छन् । थप १६ वटा सिलिन्डर काठमाडौंमै अक्सिजन उद्योगलाई दिएका छौं । विभागको सूचना जारी हुनुभन्दा अगाडि नै अक्सिजन उद्योगले यी सिलिन्डर लगिसकेको थियो । अहिले उद्योगले नै विभिन्न अस्पतालमा यी सिलिन्डरमा अक्सिजन भरेर दिने गरेको छ ।

‘अहिलेसम्म निर्माणस्थलमा कोरोनाको संक्रमण छैन’

इशा श्रेष्ठ
सञ्चालक, निलगिरि खोला हाइड्रो पावर कम्पनी

निशेधाज्ञाले म्याग्दीमा निर्माणाधीन निलगिरि खोला–१ र निलगिरि खोला–२को निर्माणमा आंशिक असर परेको छ । सबैभन्दा बढी समस्या निर्माण सामाग्री ढुवानीमा भइरहेको छ । जसले गर्दा आयोजनाको कामलाई गति दिन सकिएको छैन । निशेधाज्ञाअघि तीव्र गतिमा काम अघि बढेकोमा अहिले कामको गति ५० प्रतिशत घटेको छ ।

सबै कर्मचारी तथा कामदार आयोजनास्थलमै भएकाले यस पटक कामदारको अभाव छैन । कोरोनाबाट सुरक्षित हुन सबै नियमको पालना गरेर काम गरिरहेकाले अहिलेसम्म हाम्रो आयोजनामा कोरोनाको संक्रमण पुगेको छैन । निलगिरि समूहकै लगानीका माथिल्लो राहुघाट र राहुघाट मंगलेको काम भने अहिले रोकिएको अवस्था छ । स्थानीयबासीले कोरोनाको जोखिम उच्च रहेको भन्दै अवरोध गरेकाले निर्माण बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit