विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ चैत ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विद्युतीय चुलो प्रवर्द्धन प्रादेशिक कार्यशाला

विराटनगर (मोरङ) । विद्युतीय चुलोको प्रयोग, प्रवर्द्धन तथा विस्तार गर्न गुणस्तरीय विद्युत् उपलब्ध हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले सोमबार विराटनगरमा आयोजना गरेको ‘विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशाला’ गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीले त्यसमा जोड दिएका हुन् ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विद्युतीय चुलोको दिगो प्रयोगलाई व्यापक बनाउन गुणस्तरीय विद्युत् वितरण प्रणाली अपरिहार्य रहेको बताए । ‘भात पकाउँदा पकाउँदै लाइन गयो भने आधा पाकेको भात लिएर कहाँ जाने,’ उनले प्रश्न गरे, ‘यसको प्रयोग बढाउन विद्युत् महसुल पनि सस्तो बनाउँदै लैजानुपर्छ ।’

दुर्गम क्षेत्रमा दुःख गरेर बिजुलीको पहुँच पुर्‍याइए पनि मानिस बसाइँ सरेर गएपछि त्यस्तो क्षेत्रमा बिजुली पुर्‍याउन गरिएको लगानी खेर गएको उनले अनुभव सुनाए । अतः मध्यम आर्थिक हैसियतका परिवारलाई विद्युतीय चुलो वितरण त्यति लाभकारी नदेखिएको पनि मन्त्री मगरको भनाइ थियो ।

‘तल्लो वर्गको समुदायसम्म यस्तो चुलो विस्तार गर्नका लागि संघ, प्रदेश तथा स्थानीय सरकार र सरोकारवाला निकायले चुलोमा सहुलियत दिनुपर्ने देखिन्छ, यो पनि विकासकै एउटा अंश हो,’ उनले थपे, ‘बाटो खन्ने मात्र विकास होइन, विद्युतीय चुलो किनेर प्रयोग बढाउनु र नागरिकको स्वास्थ्यमा सुधार ल्याउनु पनि विकासकै अंश हो ।’

कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका डा. दिलनाथ फुयाँलले विद्युतीय चुलोको प्रयोग बढाउन यसको तत्काल मर्मत गर्ने वर्कसप तथा जशक्तिको समेत विकास हुनुपर्ने बताए । ‘चुलो बिग्रिएको बेला बनाउने ठाउँ र पर्याप्त प्राविधिक उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘चुलोको प्रवर्द्धन गर्न पालिकास्तरबाट छुट तथा अनुदानको व्यवस्थाको पनि उतिकै खाँचो छ ।’ विभिन्न आर्थिक छुटका नीतिले प्रोत्साहन दिन सके विद्युतीय चुलो विस्तारमा सहजता आउने उनको भनाइ थियो ।

प्राक्टिल एक्सनका कार्यक्रम प्रबन्धक बासुदेव उपाध्यायले विद्युतीय चुलो प्रर्वद्धनका क्षेत्रमा गरेको कामको प्रस्तुतिकरण गर्दै यसलाई जनस्तरमा पुर्‍याउनुपर्ने खाँचो औंल्याएका थिए । यस अभियानमा प्रदेश तथा संघीय सरकार तथा नागरिकस्तरमा कार्यरत संघ संस्थाको भूमिका महत्त्वपूर्ण रहेको पनि बताए ।

प्रस्तुतिकरणपछि चलेको अन्तरक्रिया सत्रमा कोशी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव प्रदीप वान्तवाले संघीय सरकारसँगको समन्वयमा विद्युतीय चुलो विस्तारलगायत अन्य दीर्घकालीन योजनाका काम भइरहेको बताए । देशमै उत्पादित विद्युत्‌को बढीभन्दा बढी खपत बढाउन प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा समेत विभिन्न कार्यक्रम राखेको उनले जानकारी दिए ।

अन्तरक्रियाकै क्रममा नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार साहले यस क्षेत्रमा अधिकांश विद्युतीकरण भइसकेको र अब गुणस्तरीय आपूर्तिमा जोड दिइएको बताए । विद्युतीय चुलोको उपयोग तथा प्रवर्द्धन गर्ने हेतुले वितरण लाइन सुधार, ट्रान्सफर्मर, कन्डक्टर लगायत संरचनाको स्तरोन्नति बढाइरहेको जानकारी दिए ।

त्यस्तै, कार्यक्रमकी वक्ता सुनसरी जिल्ला गडी गाउँपालिकाकी उपाध्यक्ष अनिता साहले महासंघसँगको सहकार्यमा पालिकाले विद्युतीय चुलो खरिद तथा प्रवर्द्धन गरिरहेको बताइन् । स्थानीयबासीलाई सचेत र जागरुक बनाउँदै आगामी दिनमा यसलाई अझ व्यापक बनाउन आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाइ थियो ।

उपभोक्ताको तहमा विद्युतीय चुलो प्रयोगको प्रभावकारिताका विषयमा साना किसान कृषि सहकारीकी दीपतारा थामसुहाङ अनुभव सुनाएकी थिइन् । उनले विद्युतीय चुलो प्रयोग गर्दा पटक–पटक बत्ती जाने समस्या रहेको र बिग्रिँदा मर्मत गर्ने ठाउँको अभाव देखिएको औंल्याएकी थिइन् ।

कार्यक्रममा नेपाली काँग्रेसकी कोशी प्रदेशसभा सांसद शोभा चेमजोङले ‘लो भोल्टेजको समस्या समाधान गरी विद्युत् आपूर्तिको गुणस्तर बढाउन सके विद्युतीय चुलोको प्रयोग विस्तार गर्न सकिने धारणा राखिन् । ‘विद्युतीय चुलो प्रयोगले नागरिकको जीवनस्तरमा सुधार ल्याउने मात्र नभई जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्नेछ,’ उनले भनिन् ।

कार्यक्रममा धुवाँरहित खाना पकाउने प्रविधि तथा विद्युतीय चुलोको प्रभाव, खाना पकाउने विद्युतीय चुलोको प्रवर्द्धन, नवीकरणीय ऊर्जा, अनुदान, नीतिगत सुधार, विद्युतीय स्थिरता, ग्रिड क्षमता, लोड व्यवस्थापन र आपूर्ति जस्ता विषयमा छलफल भएको थियो । यस्तो चुलो प्रयोगका सन्दर्भमा साझा दृष्टिकोण तथा बुझाइ अत्यावश्यक रहेकोमा समेत जोड दिइएको थियो ।

गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरणको संरचनामा सुधार गर्दै ग्रामीण क्षेत्रमा रहेका लघु जलविद्युत् आयोजनाको पुनरुत्थानमा समेत जोड दिनुपर्ने सहभागीहरूले बताएका थिए । कार्यक्रममा महासंघका अध्यक्ष नारायण ज्ञवाली तथा महासचिव गोविन्द पौडेलले विद्युतीय चुलोलाई अभियानका साथै गाउँगाउँमा पुर्‍याउने पहल भइरहेको बताएका थिए ।

सरकारले आन्तरिक विद्युत् उत्पादन बढेसँगै यसको खपत बढाउन विद्युतीय चुलो प्रवर्द्धनलाई प्राथमिकता दिएको छ । सरकारको नीति तथा कार्यक्रमकै आधारमा महासंघले कोसी र गण्डकी प्रदेशमा नागरिकस्तरमा यो अभियान अगाडि बढाएको छ । जर्मन सहयोग संस्था (जिआईजेड), प्राक्टिकल एक्सनजस्ता विदेशी गैरसरकारी संस्थासँगको सहकार्य तथा समन्वयमा सहरदेखि गाउँसम्म महासंघले विद्युतीय चुलो प्रवर्द्धन तथा सचेतनाका कार्यक्रम गर्दै गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३