काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट विद्युत्को अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिई कार्बन व्यापारमा अघि बढ्न आवश्यक एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
इपानका अध्यक्ष गणेश कार्की र सिंगारपुरमा प्रधान कार्यालय भई नवीकरणीय ऊर्जा र कार्बन व्यापारमा सघाइरहेकाे कम्पनी प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कविनकुमार कन्दासामीले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
इपानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको २ हजार ७ सय मेगावाट विद्युत् मध्ये पहिलो चरणमा २ हजार मेगावाट विद्युत् कार्बन ट्रेडका लागि योग्य बनाइने छ । यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले वर्षेनी करिब १ अर्ब रुपैयाँ बराबरको कार्बन व्यापार गर्न सक्ने इपानका अध्यक्ष गणेश कार्कीले बताए ।
प्रोक्लाइमका सिइओ कन्दासामीले भारत, भुटान र श्रीलंकाले कार्बन व्यापारबाट फाइदा लिइरहेकोले नेपालले पनि अब यो अवसर सदुपयोग गर्न गइरहेको बताए ।
अन्तर्राष्ट्रिय हाइड्रोपावर एसोसिएसन (आइएचए) का उपाध्यक्ष सुशील पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरू सस्टेनेबल डेभलपमेन्टका मापदण्ड पूरा गरेर बनिरहेको भन्दै नेपाली आयोजनाले पनि अब छिट्टै कार्बन ट्रेडबाट पैसा पाउने बताए ।
नेपालका लागि आइरिक्स क्याल्कुलेटरको शुभारम्भ
कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नेपालका लागि डिजाइन गरिएको आइरिक्स क्याल्कुलेटरको शुभारम्भ गरे । यो क्याल्कुलेटरले कति मेगावाट विद्युत् उत्पादन हुँदा त्यसबाट वार्षिक कति रुपैयाँ बराबरको कार्बन व्यापारका लागि योग्य हुन्छ भन्ने कुरा देखाउँछ ।
जस्तो नेपाली निजी क्षेत्रले उत्पादन गरेको २६०० मेगावाट विद्युत्लाई कार्बन ट्रेडसँग जोड्दा यसले वार्षिक करिब १ अर्ब रुपैयाँ बराबरको लाभ पाउनुपर्छ ।
विश्व बजारमा कार्बन ट्रेड भइरहे पनि नेपालले लाभ लिन नसकेको भन्दै अध्यक्ष धितालले जलविद्युत्को प्रचुर सम्भावना रहेको र ३ हजार मेगावाट भन्दा बढी जलविद्युत मात्रै उत्पादन भइरहेको नेपालले अब कार्बन ट्रेडबाट पनि लाभ लिन सक्नुपर्नेमा जोड दिए ।
वन तथा वातावरण मन्त्रालयका सह-सचिव डा. महेश्वर ढकालले नेपालले वनजंगलबाट सानो स्केलमा कार्बन बिसर्जन वापतको रकम लिए पनि जलविद्युत् आयोजनाले त्यो अहिलेसम्म लाभ लिन नसकेको बताए ।
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले क्षेत्रीय बजारमा विद्युत् निर्यात गरिरहेको नेपालले अब छिट्टै कार्बन ट्रेडबाट पनि राम्रो आम्दानी गर्नसक्ने विश्वास व्यक्त गरे ।
ग्लोबल कार्बन काउन्सिलका प्रबन्धक अशोक के चन्देल र ग्लोबल रिन्युएबल अलाइन्सका एरिक सोल्हिमले पनि कार्यक्रमलाई सम्बोधन गर्दै चीन र भारत जस्ता शक्तिराष्ट्र र बढी कार्बन उत्सर्जन गर्ने देशहरूको बीचमा रहेको नेपालले कार्बन ट्रेडबाट लाभ लिनुपर्ने बताएका थिए ।