विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपालमा हाइड्रोजन ऊर्जा विकास र प्रयोगको अभियान

काठमाडौँ । हरित हाइड्रोजन विकास तथा प्रयोगका क्षेत्रमा अभियानका साथ काम गर्दै आएको नेपालले हाइब्रिड कार निर्माणको सफल परीक्षण गरी यसलाई सञ्चालन तहसम्म पुर्‍याएको छ । रिन्यूजेन रिसोसेज नेपाल (आरजीआर नेपाल) प्रालिको अग्रसरताको पहल तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक सहयोगमा उक्त काम सफल भएको हो ।

हाइड्रोजन र पेट्रोल दुवैबाट सञ्चालन हुने यो कार सोमबार भौतिक पूवाधार तथा यातायत मन्त्री देवेन्द्र दाहालले चढेर शुभारम्भ गरेका छन् । विश्वमा यस्तो प्रकारको सवारी निर्माण तथा सञ्चालनमा आइसके पनि नेपालमा शुरूवात गर्ने आरजीआर नेपाल पहिलो बनेको छ । यसलाई बेलायतको एक विश्वविद्यालयको प्राविधिक सहयोगसमेत रहेको आरजीआर नेपालका अध्यक्ष डा. प्रमोद टन्डनले बताए ।

परीक्षण सफल भएको कार मन्त्री दाहालसँगै प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरे, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत चढेका थिए । त्यस क्रममा भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरको समेत उपस्थिति थियो ।

सोही क्रममा पुल्चोक क्याम्पसको मेकानिकल इन्जिनियरिङ विभागमा भएको एक कार्यक्रममा मन्त्री दाहालले यस्ता खाले सवारी उत्पादन, प्रवद्र्धन र प्रयोगलाई सहज बनाउन यातायात नीतिमा आवश्यक परिमार्जनको प्रयास गरिने बताए । ‘उत्पादन लागत नै महँगो हुने बुझिएकोले यस्तो सवारी सोचेजस्तो किफायती हुने देखिँदैन,’ उनले भने, ‘सर्वसाधारणको पहुँचसम्म पुग्ने गरी उत्पादन गर्न सरकारले त्यही अनुसारको कानुन बनाउँदै जानेछ ।’

यसैगरी, मन्त्रालयका सचिव शर्माले पनि यस्ता सवारी सर्वसाधारणले समेत प्रयोग गर्ने तहसम्म पुर्‍याउन स्वीकारयोग्य बनाउनुपर्ने बताए । ‘हाइड्रोजन आफैँ बल्ने ग्यास भएको हुँदा यसको सुरक्षा नीति अपनाउनु पनि उतिकै चुनौती देखिन्छ,’ उनले भने, ‘लागतका हिसाबले पनि सस्तो बनाउन र सुरक्षित छ भनेर प्रमाणीत गर्न समय–समयमा यस्ता परीक्षण र प्रयोग गरिरहनुपर्छ । साथै, नीति निर्माणमा मन्त्रालयले सहयोग गर्नेछ ।’

पुल्चोक क्याम्पसका डिन प्रा.डा. विनोदकुमार भट्टराईले पनि यस्ता नयाँ–नयाँ प्रविधिको विकास, परीक्षण तथा उपयोग गर्दै जानुपर्ने बताए । ‘कति अनुसन्धानका प्रतिवेदन यसै थन्किएर बसेका छन्, विश्वविद्यालय र यस क्षेत्रमा काम गर्ने निकायबीच सहकार्य नहुँदा त्यो समस्या देखिएको छ,’ उनले भने, ‘यस क्षेत्रमा कार्यरत निकाय र शैक्षिक संस्थाहरूबीच यसरी नै समन्वय गरेर काम गर्नुपर्ने छ ।’

उता, आरजीआर नेपालका अध्यक्ष टन्डनले यसमा सरकारको सहयोग भएको खण्डमा यसको प्रयोगलाई व्यापक बनाउन सकिने बताए । यस्तै, कम्पनीका महाप्रबन्धक युवराज ढकालले पनि यस्ता सवारीलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने खाँचो रहेको हुँदा सरकारले उचित नीति नियम ल्याउनुपर्ने बताए । चल्न नसक्ने अवस्थाका सवारीलाई हाइब्रिड प्रविधिमा रूपान्तरण गरियो भने सरकारलाई नै सहयोग पुग्ने उनको भनाइ थियो ।

आरजीआर नेपालले बनाएको यो कारमा ४० प्रतिशत हाइड्रोजन र ६० प्रतिशत पेट्रोलबाट चल्ने विकल्पसहितको उपकरण जडान गरिएको निर्माणमा आवद्ध डा. प्रकाश थापाले जानकारी दिए । उनका अनुसार हाल नेपालमा ४/५ हजार गाडी चल्न नसक्ने गरी थन्किएको र तिनलाई मर्मत गरी पुनःप्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । यसरी एउटा कारलाई हाइब्रिड प्रविधिमा रूपान्तरण गर्दा ४–५ लाख रुपैयाँ लाग्ने उनले जानकारी दिए ।

हाल पेट्रोलबाट सञ्चालन भइरहेका कारमा हाइड्रोजन फ्यूल ट्याङ्क थपेर हाइब्रिडमा रूपान्तरण गर्ने कामलाई तीव्रता दिनुपर्ने यस क्षेत्रका अभियन्ता नेत्र कार्कीले बताए । ‘विकसित देश तथा भारत नै पनि यो क्षेत्रमा निकै अगाडि बढिसकेको हुँदा सरकारले छिटोभन्दा छिटो हाइब्रिड कार रूपान्तरणको प्रणालीलाई यतायात नीतिमा समेटेर लैजानुपर्छ,’ उनले भने, ‘यसले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको शून्य कार्बन उत्सर्जनमा ठूलो सहयोग पुर्‍याउने छ ।’

आरजीआर नेपालले हाइब्रिड कार निर्माण गरिरहँदा उता काठमाडौँ विश्वविद्यालयले भने कोरियाबाट हाइड्रोजन कार नै किनेर ल्याई त्यसको सञ्चालनको परीक्षण गरेको छ । उसले हालै हाइड्रोजन रि–फ्यूलिङ स्टेसन (भर्ने ठाउँ) समेत बनाएको छ ।

आरजीआर नेपाल र पुल्चोक क्याम्पसले अब ठूला बस तथा ट्रकमा पनि यस्तो प्रविधिको परीक्षण गर्ने जनाएका छन् । नेपालमा केही समययता हरित हाइड्रोजन ऊर्जाको विकास तथा परीक्षणमा एकपछि अर्को सफलता प्राप्त हुँदै जानु राष्ट्रकै लागि खुशीको विषय भएको अभियन्ता कार्कीको भनाइ थियो ।

झन्डै एक वर्षअघि केयू र नेपाल इनर्जी फाउन्डेसन (एनईएफ) ले संयुक्तरूपमा अध्ययन गरी केयूकै हाइड्रोजन ल्याबमा हरित हाइड्रोजन ऊर्जाले चल्ने चुलोमा चाउचाउ उमालेर खाने कार्यको परीक्षण सफल भएको थियो । त्यसपछि, केयूले आफ्नै पहलमा हाइड्रोजन रिफ्यूलिङ स्टेसन निर्माण गरी त्यहाँबाट कारमा भरेर हाइड्रोजन कार चलाउने कार्यको सफल परीक्षण गर्‍यो । एनईएफकै पहलमा बागलुङको बडिगाड गाउँपालिकामा हाइड्रोजनबाट खाना पकाउने कार्यको पनि परीक्षण सफल भएको छ ।

शून्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्ने विश्वव्यापी मुद्दालाई पच्छ्याउँदै विश्वमै हाइड्रोजन ऊर्जाको उत्पादन र प्रयोगलाई तीव्रता दिइएको छ । निकट भविष्यको ऊर्जाको रूपमा हेरिएको हाइड्रोजनको उत्पादन र सहज प्रयोगबारे खोजकर्ताले सहज हुने अनेक प्रविधिको खोजमा दिनरात मेहनत गरिरहेका छन् । नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन, व्यापार र प्रयोगका लागि हाइड्रोजन नीति, २०८० निर्माण गरिएको भए पनि यससम्बन्धी ऐन तथा निर्देशिका अझै बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३