काठमाडौँ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ऊर्जा मन्त्री दीपक खड्काको उपस्थितिमा कम्पनीका अध्यक्षसमेत रहेका ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई शपथ ग्रहण गराएका हुन् ।
कम्पनीले प्रतिस्पर्धाका आधारमा संक्षिप्त सूची (सर्ट लिस्ट) मा परेका उम्मेदवारहरू मध्येबाट छनोट समितिको सिफारिसका आधारमा उनलाई बिहीबार (साउन २२ गते) सिइओ नियुक्त गरेकाे थियो ।
समारोहमा ऊर्जा मन्त्री खड्काले नवनियुक्त सिइओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको स्पष्ट कार्ययोजनासहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए । गाेरखा र धादिङकाे सिमानामा १२०० मेगावाट क्षमताको बूढीगण्डकी बहुउद्देश्यीय आयोजना विकास गर्न कम्पनी स्थापना गरिएकाे थियाे ।
शपथ ग्रहण समारोहमा मन्त्रालयकी सिँचाइ सचिव सरिता दवाडी, सहसचिवहरू, मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
याे पनि : बूढीगण्डकी जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अरुण रजौरिया