विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि परेको आवेदनको अहिले मूल्यांकन भइरहेको छ । मूल्यांकनको गति हेर्दा अझै कम्तीमा १५ दिन कुनै निर्णय हुने सम्भावना देखिएको छैन ।

मूल्यांकनका क्रममा कागजात नपुगेका आवेदकको ५ दिन तोकेर विवरण मगाइएको छ । आवेदकका पूर्ण विवरण प्राप्त भएर मूल्यांकन भइसक्दा कम्तीमा १५ दिन र बढीमा एक महिना जाने देखिन्छ । सत्ता समिकरण र राजनीतिक अस्थिरताले पनि सिइओ नियुक्तिको समय लम्बिने देखिन्छ ।

कम्पनीको अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा लोक सेवा आयोगका सहसचिव तोयनारायण सुवेदी, अर्थ मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक विनोदकुमार विष्ट र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भवानीशंकर आचार्य सम्मिलित समितिले मूल्यांकन गरिरहेको जनाइएको छ ।

सिइओमा आवेदन दिन अन्तिम दिन फागुन २० गतेसम्म ९ जनाको आवेदन परेको थियो । निवर्तमान सिइओ छबिराज पोखरेलको ४ वर्षे कार्यकाल पूरा भएपछि नयाँका लागि प्रक्रिया सुरु गरिएको हो । आवेदन दिनेमा क्षेत्रगत विधामा अनुभव हासिल गरेका व्यावसायिक व्यक्तिभन्दा राजनीतिक पार्टीप्रति झुकाव राख्नेको बाहुल्यता देखिन्छ ।

आवेदन दिनेहरूमा पूर्व सिइओ छबिराज पोखरेल, संस्थाकै प्राविधिक विभागका उपमहाप्रबन्धक अरुण रजौरिया, रामहरि ढकाल, सुरज लामिछाने, डा. भेषराज थापा, विनोद देवकोटा छन् । यस्तै, अन्य आवेदकमा रुग्ण जलविद्युत् आयोजनाको संयोजक रहेका सूर्यप्रसाद अधिकारी, अर्जुन गौतम र सुधिर ज्ञवाली छन् ।

एकातिर, मूल्यांकन समितिले आवेदकहरूको प्रस्ताव मूल्यांकन गरिरहेको छ । अर्कोतिर, आवेदकहरू राजनीति पार्टी तथा नेताको घरदैलो चाहार्ने काम गरिरहेका छन् । यसैले नै देखाइरहेको छ कि संस्थामा जलविद्युत् क्षेत्र बुझेको अर्थात् यस क्षेत्रमा विज्ञता हासिल गरेको भन्दा नेताको आर्शिवाद पाएको व्यक्ति अगाडि हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले विद्युत् उत्पादन कम्पनीमा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक अनन्त घिमिरेलाई नियुक्त गरेसँगै एचआइडिसिएलमा पनि क्षेत्रगत विधाका व्यक्ति आउने सम्भावना न्यून देखिएको छ । यद्यपि, वर्तमान राजनीतिक अवस्था र सत्ता परिवर्तन हुन सक्ने सम्भावना रहेको हुँदा कतिपय कुरा यसमा समेत भर पर्नेछ ।

आवेदकहरूको प्रस्ताव तथा विवरण केलाउँदा निकै कमको मात्र जलविद्युत् क्षेत्रमा लामो समय काम गरेको अनुभव देखिन्छ । कोही विश्वविद्यालयका प्राध्यापक, कोही परामर्शदाता, कोही बैंकर त कोही विश्वविद्यालयका पूर्णकालीन लेक्चर छन् । केही व्यक्तिसँग त सिइओका लागि तोकिएको योग्यता नै कम देखिन्छ ।

यदि, कमजोर अनुभवका वा राजनीतिक दलको छाता ओढेर नेताको आशिर्वाद पाएका व्यक्ति संस्थामा आए पनि अहिलेसम्म भएको एचआइडिसिएलको गरिमा धराशायी हुने देखिन्छ । जसरी विद्युत् उत्पादन कम्पनीमा क्षेत्रगतभन्दा बाहिरको व्यक्ति नियुक्ति गरेर त्यसको अस्तित्व संकटमा पार्न खोजिँदैछ त्यसरी नै एचआइडिसिएल कमजोेर हुने अवस्थालाई नकार्न सकिँदैन ।

सिइओका लागि योग्यता

सिइओका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट जनप्रशासन वा व्यवस्थापन वा व्यापार वा वित्त वा अर्थशास्त्र वा इन्जिनियरिङ वा कानुनमा वाणिज्य वा कम्पनी कानुन विषय लिई प्रथम श्रेणीमा स्नातकोत्तर गरेको र बैकिङ वा वित्तीय वा कोष व्यवस्थापन वा इन्जिनियरिङका क्षेत्रमा कम्तीमा अधिकृत द्वित्तीय वा वरिष्ठ प्रबन्धक तहमा वा नेपाल सरकारको राजपत्रांकित द्वित्तीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

यसैगरी, उल्लेखित शैक्षिक योग्यता तथा अनुभव वा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातक उपाधि हासिल गरी चार्टर्ड एकाउन्टेन्सी उर्तीण गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरेको र नेपाल सरकारको वा संगठित संस्थाको अधिकृतस्तरको पदमा चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । ३५ वर्ष उमेर पूरा भई ५५ वर्ष ननाघेको योग्य व्यक्तिले आवेदन दिनुपर्ने पनि सूचनामा खुलाइएको छ ।

कुन आवेदकको अनुभव कस्तो ?

छबिराज पोखरेल : प्युठान स्थायी घर भएका पोखरेल हाल नेपाल इन्जिनियर्स एसोसियसन (एनइए) का महासचवि हुन् । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट सिभिल इन्जिनियरिङ सकेका उनले एचआइडिसिएलमा ४ वर्ष सिइओको जिम्मेवारी पूरा गरिसकेका छन् ।

पुल्चोकबाटै एमएस्सी पूरा गरेका उनी यसअघि गरिबी निवारण कोषमा कार्यकारी निर्देशक र एक नेदरल्यान्ड संस्था ‘वास’का सल्लाहाकार रहिसकेका छन् । तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माको पालामा एचआइडिसिएलको नेतृत्व सम्हाल्न पुगेका पोखरेलका लागि अहिलेको राजनीतिक समिकरण भने त्यति सुखद देखिँदैन ।

उनी पूर्वमाओवादी निकट मानिए पनि नरम स्वभाव र जिम्मेवारीमा खटेर काम गर्न सक्ने व्यक्तिका रूपमा चिनिन्छन् । राजनीतिक समिकरणले चित्तलाई चित्त बुझाए वा स्वीकार गरे उनी एचआइडिसिएलमा दोहोरिने सम्भावना देखिन्छ । अघिल्लो ४ वर्षमा आफूले गरेका काम टुंगोमा पुर्याउने उद्देश्यअनुसार उनी पुनः संस्थामा दोहोरिन चाहेका छन् ।

अरुण रजौरिया : दाङका स्थायी बासिन्दा रजौरिया जलविद्युत् क्षेत्रका एक अनुभवी इन्जिनियरका रूपमा परिचित छन् । जलविद्युत्सम्बन्धी योजना, डिजाइन, निर्माण तथा वित्तीय व्यवस्थापनमा करिब २० वर्षको अनुभव रहेको उनको प्रस्तावमा उल्लेख छ ।

सरकारले संस्थामा व्यावसायिक र क्षेत्रगत विधामा विज्ञता हासिल गरेको व्यक्तिलाई नियुक्ति गर्ने हो भने रजौरिया उपयुक्त पात्र हुन् । डेड दशकभन्दा बढी निजी जलविद्युत् क्षेत्रमा काम गरेर उनी सरकारी सेवामा प्रवेश गरेका हुन् । निजी क्षेत्रमा पनि उनी योग्य, निष्ठावान र क्षमतावान इन्जिनियरका रूपमा परिचित छन् ।

नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट जलविद्युत् विकासमा एमएससी गरेका रजौरिया भारतको सरदार बल्लभ भाइ रिजनल कलेज अफ इन्जिनियरिका बिई गोल्ड मेडलिस्ट पनि हुन् । उनले लामो समय भारतीय कम्पनी जिएमआर र इसार पावर लिमिटेडमा काम गरेका थिए ।

नेपालभित्रै हिमाल पावर एन्ड जेनेरल कन्स्ट्रक्सन कम्पनीमा पनि रजौरियाले साढे दुई वर्ष काम गरेका थिए । उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा संलग्न रहेर ५ सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाको अध्ययन, डिजाइन, निर्माण, योजना र वित्तीय व्यवस्थापनको जिम्मेवारी सम्हालेको अनुभव छ । यो सँगै प्रसारण लाइनको डिजाइन तथा निर्माणमा समेत उनको योगदान देखिन्छ ।

सूर्यप्रसाद अधिकारी : चितवनका स्थायी बासिन्दा अधिकारी निजी जलविद्युत् प्रवद्र्धक हुन् । यस क्षेत्रमा आफ्नो करिब २७ वर्षको अनुभव पेश गरेका उनले बागलुङमा १.५ मेगावाटको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेका छन् ।

इलेक्ट्रिक सिस्टम एन्ड इन्जिनियरिङ म्यानेजमेन्टमा एमएस्सी प्रथम श्रेणीमा उर्तीण गरेका अधिकारीले यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) मा समेत उमेद्वारी दिएका थिए । इपानमा कृष्णप्रसाद आचार्य र उनको समूह निर्वाचनमा जाने निर्णय गरेको थियो । तर, अन्त्यमा सहमतिमा पदाधिकारी छनोट हुने भएपछि उनी इपानबाट बाहिरिएका थिए ।

क्षेत्रगत विधामा अब्बल देखिए पनि उनमा नेतृत्व हाँक्ने क्षमता कमजोर देखिन्छ । पछिल्लो समय उनले हाइड्रोलोजीका कारण लक्षित ऊर्जा उत्पादन गर्न नसकेका १० मेगावाटभन्दा साना आयोजनालाई सहुलियत दिनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् ।

क्षेत्रगत विधामा निकै राम्रो दख्खल रहेका अधिकारी सानो र सीमित स्वार्थका व्यक्तिको घेराभित्र रमाउने भन्दै आलोचना हुने गर्छ । यो घेरा तोड्न सके पछिल्लो समय निजी क्षेत्रमा प्राविधिक दृष्टिकोणले योग्य अरू व्यक्ति देखिँदैन । तर, साँधुरो सोचाइका कारण निजी क्षेत्र तथा सरकारी निकायमै उनको चरित्रको आलोचना हुने गर्छ ।

रामहरि ढकाल : इन्जिनियरिङ टेक्नोलोजीमा एमएस्सी गरेका ढकालसँग कन्ट्र्याक्ट इन्जिनियरिङको बढी अनुभव देखिन्छ । हाल कान्तिपुर इन्जिनियरिङ कलेज (केइसी) का लेक्चरर रहेका उनी सोही कलेजको प्रोजेक्ट सुपरभाइजर पनि हुन् । यससँगै स्मेक नेपालका आवासीय इन्जिनियरका रूपमा काम गर्दै आएका छन् । उनलाई विभिन्न ठाउँमा छोटो अवधि काम गर्दै छोड्दै हिँड्ने व्यक्तिका रूपमा चित्रित गर्ने गरिन्छ ।

डा. भेषराज थापा : उनले सिइओको आवेदनमा बिई, एग्रिकल्चर इन्जिनियरिङ र जलस्रोतमा एमएस्सी भनेर खुलाएका छन् । साथै, आइडब्लूएमआई नामक संस्थामा इरिगेसन इन्जिनियरका रूपमा काम गर्दै आएको समेत उल्लेख गरेका छन् । उनको जलविद्युत् तथा यसको वित्तीय व्यवस्थापनमा काम गरेको अनुभव देखिँदैन । कृषि पढेको व्यक्तिले जलविद्युत् क्षेत्र हाँक्न खोज्नुलाई पनि गज्जबको रहर मान्नुपर्छ ।

सुरज लामिछाने : चितवन भरतपुरबासी लामिछाने यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक थिए । त्यहाँ रहँदा उनी केही ठेक्कापट्टाको काममा विवादित पनि भएका थिए । उनी हाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा पूर्णकालीन लेक्चरर हुन् । पुल्चोकबाटै एमएस्सी पूरा गरेका उनले जापानबाट विद्यावारिधी पनि गरेका छन् । यद्यपि, यो बाहेक जलविद्युत् क्षेत्रमा काम गरेको उनको थप अनुभव भेटिँदैन ।

विनोद देवकोटा : गोरखा स्थायी घर भएका देवकोटा पूर्वमाओवादी नेता देवेन्द्र पराजुलीका साडु भाई हुन् । उनले सन् २००८÷०९ देखि जलविद्युत् क्षेत्रमा काम गरेको देखिन्छ । उनले लमजुङमा निर्माण भएको ५ मेगावाटको सिउरी खोला, फावा खोला, थापा खोला लगायत करिब आधा दर्जन आयोजनामा काम गरेको अनुभव पेश गरेका छन् । सिभिल इन्जिनियर उनी पार्टीगत निकटताका कारण मात्र सिइओमा आउन चाहेको देखिन्छ ।

सुधिर ज्ञवाली : सन् २००५ देखि २०१५ सम्म ग्लोबल आइएमई बैंकमा काम गरेका ज्ञवाली रजिष्टर्ड अडिटर (लेखापरीक्षक) हुन् । व्यवस्थापनमा एमबिए गरेका उनीसँग बैंकिङ क्षेत्रको अनुभव भए पनि जलविद्युत् क्षेत्रमा काम गरेको देखिँदैन । उनी एचआइडिसिएलका पूर्व सञ्चालक पनि हुन् ।

अर्जुन गौतम : कर्मचारी सञ्चय कोषको मुख्य व्यवस्थापकको रूपमा कार्यरत गौतमले जनप्रशासनमा एमफिल गरेका छन् । कोषमा कार्यरतबाहेक गौतमसँग वित्तीय र जलविद्युत् दुवै क्षेत्रमा काम गरेको अनुभव देखिँदैन ।

...

हरेक क्षेत्र तथा संस्थामा राजनीतिक पार्टीको झन्डा बोक्ने व्यक्तिलाई नियुक्ति गर्दै आएको केपी शर्मा ओलीको सरकारले एचआइडिसिएलमा कस्तो अनुहार ल्याउँछ त्यो हेर्न बाँकी छ । यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीको समेत स्वार्थ हुने हुँदा उनले आफ्नो कार्यकालमा परिणाम देखाउन पनि एचआइडिसिएलमा योग्य, क्षमतावान र व्यावसायिक व्यक्तिलाई मौका दिनुपर्ने हुन्छ ।

२०६८ असार २७ गते तत्कालीन ऊर्जा मन्त्री गोकर्ण विष्टले स्थापना गरेको कम्पनी करिब २ वर्ष तदर्थ समितिबाट सञ्चालन भएको थियो । प्रतिस्पर्धाबाट छनोट भई सुरुका ४ वर्ष कर्मचारी सञ्चय कोषका वरिष्ठ अधिकृत दीपक रौनियरले ४ वर्ष जिम्मेवारी सम्हालेका थिए । त्यसपछिका ४ वर्ष पोखरेल प्रमुख कार्यकारी अधिकृत रहे ।

कम्पनीले अहिले दुई सहायक रेमिट हाइड्रो कम्पनी र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड स्थापना गरी ताप्लेजुङमा ७७.५ मेगावाट घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवा खोलाको निर्माण अगाडि बढाएको छ । योसँगै रोल्पाको माडीमा १५६ मेगावाटको माडी र ताप्लेजुङ, पाँचथर र तेह्रथुममा ७५६ मेगावाटको तमोर निर्माण गर्न चिनियाँ कम्पनी पावर चाइनासँग समझदारी गरेको छ ।

एचआइडिसिएल आफैंले जलविद्युत् विकास गर्नु भन्दा ठूला तथा जलाशय आयोजनाका लागि स्वदेश तथा विदेशबाट लगानी व्यवस्थापन गर्ने, जलविद्युत्मा स्वपुँजी लगानी बढाउने र लगानी नपाएका निजी क्षेत्रका लागि समेत स्वपुँजी व्यवस्थापन गर्नुपर्ने चुनौती छ । विगतमा यी काम केही हदसम्म हुँदै आए पनि कम्पनी आयोजना निर्माण गर्ने दिशामा एकोरिरहेको देखिन्छ । यी दुई पक्षलाई आगामी दिनमा सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३