काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझको समय (पिक आवर) मा लोडसेडिङ हुनसक्ने घोषणा गरेको छ । हिउँदमा खोला–नदीको बहाब घटेसँगै आन्तरिक उत्पादन घट्ने तथा भारतबाट समय विद्युत् आयात गर्न नसक्दा औद्योगिक क्षेत्रमा केही समय लोडसेडिङ (विद्युत् कटौती) गर्नुपर्ने आवश्या आउन सक्ने घोषणा गरेको हो ।
प्राधिकरणका अनुसार हिउँदमा खोला–नदीको बहाब घट्दा नदी प्रवाहमा आधारित अघिकांश जलविद्यूत् केन्द्रको उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आउने छ । त्यस्तै, चिसोका कारण देशभर तातोका लागि विद्युत्को माग बढ्ने, देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन समेत ठप्प रहेको तथा भारतबाट पिक आवरमा विद्युत् आयातको सुनिश्चिताता नभइसकेकोले साँझ औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति गर्न समस्या हुने देखिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्तिमा भने कटौती गर्नुपर्ने अवस्था नआउने स्पष्ट पारेका छन् ।
असोज ११ र १२ गतेको अविरला वर्षाका कारण माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रका संरचनामा क्षति पु¥याएको थियो । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५) सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रुपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।
तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि ३ चैत २०८१– १६ असार २०८२ (१६ मार्च–३० जुन २०२५) सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।
‘पिक समयको ४ घण्टा भारतबाट विद्युत् आयातको अनुमति पाएका छैनौँ,’ घिसिङले भने, ‘माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नु पर्ने अवस्था छ ।’
गत शुक्रबार बिहान साढे बजेतिर ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिँदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित भएको थियो । उक्त लाइनको मर्मत गरी सोमबार दिउँसोबाट सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ ।
यसैगरी, दर्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने स्थानमा रुख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ । उक्त लाइनको मर्मत भइरहेको छ ।