काठमाडौँ । रसुवाकाे गोसाईकुण्ड गाउँपालिका–५ स्यफ्रुबेसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको निर्माण ९५ प्रतिशत पूरा भएको छ । आयोजनाको बाँकी निर्माण कार्यसमेत तीव्र गतिमा अघि बढिरहेकोले आगामी वैशाखभित्रै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले राखेको छ । आयोजनाका संरचनाको सामान्य फिनिसिङ कार्य र अडिट गेट क्लोजिङको काम मात्र बाँकी रहेको आयोजना प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका इन्जिनियर नारायण सुवेदीले बताए ।
‘अनेकौँ चुनौतीका कारण आयोजनाबाट विद्युत् उत्पादन गर्न ढिलो भइरहेको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘बाढीका कारण केही समय ढिला भए पनि अब नयाँ वर्षको अवसर पारेर विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छौँ ।’ उनका अनुसार गत असोज ११ र १२ गते आएको भिषण बाढीले आयोजनाको निर्माण सामाग्री राखेको ठाउँ तथा सुरूङमा लेदो पसेको थियो । त्यस्तै, बाढीले बाँध, आवास गृह र पहुँचमार्गमा ठूलो क्षति पुर्याएको थियो ।
कुल ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बाढीले क्षति पुर्याउँदा लागत थप १२ करोड रूपैयाँ थप हुन पुगेको छ । ‘संरचनाहरूमा पनि बढी क्षति भएको र निर्माण लम्बिएका कारण लागत बढेको छ,’ सुवेदीले भने । उनका अनुसार आयोजनामा कुल लागतको २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी छ । आयोजनामा सनराइज बैंककोे अगुवाईमा ३ वटा बैंकले ऋण लगानी गरेका छन् ।
लाङटाङ निकुञ्ज क्षेत्रभित्रकाे दोमने भन्ने स्थानमा बाँध संरचना तथा स्याफ्रुबेसीमा विद्युत्गृह रहेकाे यस आयोजनाकाे निर्माण २०७८ जेठदेखि आयोजनाको निर्माण सुरु गरेको थियो । सुरुमा २६ महिनाभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनामा बाढीलगायतका अनेक चुनौती थपिँदा निर्माण सम्पन्न हुन ढिलो भएको हो ।
आयोजनाको सिभिल संरचनाको काम नेपालकै वाइबा कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति तथा जडान कार्यसमेत वाइबा कन्स्ट्रक्सनले नै गरिरहेको छ । पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो तर कोरोना (कोभिड–१९) महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि ठेक्का तोडेर नेपाली कम्पनीलाई नै निर्माणको जिम्मा दिएको हो । कोभिड–१९ का कारण पहिलाबाट नै ढिलो हुँदै आएको यस आयोजनामा गत असोजमा आएको बाढीले क्षति पुर्याउँदा निर्माण अवधि लम्बिएको हो ।
आयोजनाबाट वार्षिक १३३.३ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् चिलिमे हब सबस्टेसनमा लगेर जोडिने छ । यसका लागि प्रसारण लाइन निर्माणको काम समेत तीव्र गतिमा चलिरहेको छ । आयोजनाको विद्युत्गृहदेखि सबस्टेसनसम्म आावश्यक साढे ४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरिरहेकाे छ ।
कम्पनीले सुरूवातमा १० मेगावाटको मात्र इआईए प्रतिवेदन तयार गरेको थियो तर पछि आयोजनाले १० मेगावाट थप गर्ने निर्णय लिएपछि पूरक इआईए तयार गरी आयोजना निर्माण अघि बढाइएको थियो ।