काठमाडौँ । ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४०० केभीको सेती कोरिडोरमा प्रवाह गर्नका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडले प्रसारण लाइन आरक्षित (बुक) गरेको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडसँग समझदारी (एमओयू) गरी एनएचपिसीले उक्त कार्य सम्पन्न गरेको हो ।
प्रसारण ग्रिड कम्पनी र एनएचपिसीबीच सोमबार (बैशाख ३१ गते) कनेक्सन एग्रिमेन्ट सम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, भारतीय दूतावासका फस्ट सेक्रेटरी (उपसचिव) सुमन शेखर एवम् एनएचपिसीका नेपाल प्रमुख सन्दिप मित्तलको उपस्थितिमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र पश्चिम सेती आयाेजनाका महाप्रबन्धक पिसी उपाध्यायले एमओयूमा हस्ताक्षर गरे ।
कार्यक्रममा सचिव तिवारीले यस समझदारीले नेपालमा उत्पादित विद्युत् प्रवाह तथा भारतीय बजारसम्म पुर्याउन कोसेढुंगाको काम गर्ने बताए । ‘पश्चिम सेतीको विद्युत् प्रवाह गर्नका लागि अलग्गै प्रसारण लाइन निर्माण गर्नुपर्ने झन्झटबाट एनएचपिसी मुक्त भएको छ, यो उसका लागि पनि ठूलो उपलब्धि हो,’ उनले भने, ‘भारत र नेपालको सहकार्यबाटै यहाँको प्रचुर जलविद्युत् उत्पादन गरी भारतीय बजारसम्म पुर्याउन सकिन्छ ।’
ग्रिड कम्पनीले निर्माण गर्ने सेती कोरिडोर प्रसारण लाइनका लागि भारतीय दूतावासबाट प्रवाह हुने ‘लाइन अफ क्रेडिट (एलओसी)’ उपलब्ध गराउन पनि तिवारीले अनुरोध गरेका थिए । यो लाइन निर्माणमा भारतीय एक्जिम बैंकबाट आर्थिक सहयोग प्राप्त गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
यसैगरी, कार्यक्रममा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस एमओयूले एनएचपिसीलाई विद्युत् प्रवाहका सम्बन्धमा ढुक्कको वातावरण बनाएको बताए । ‘प्रसारण लाइन निर्माणमा भारतीय एक्जिम बैंकबाटै सहयोग उपलब्ध हुनेमा हामी विश्वस्त छौँ,’ उनले भने, ‘थप कुनै झन्झटबिना नै पश्चिम सेतीको विद्युत् प्रवाह हुने हुँदा लाइन निर्माणमा उसको समेत सहयोगको अपेक्षा राखिएको छ ।’
एनएचपिसीका नेपाल प्रमुख मित्तलले कम्पनीको संक्षिप्त विवरण प्रस्तुत गर्दै यस सम्झौताले दुवै देशबीच दीर्घकालीन विद्युत् व्यापार तथा आदानप्रदानलाई फराकिलो बनाएको बताए । यस्तै, पश्चिम सेती आयोजनाका महाप्रबन्धक पिसी उपाध्यायले आयोजनाको विद्युत् प्रवाह गर्ने सन्दर्भमा यो एमओयू अति नै महत्त्वपूर्ण रहेको बताए ।
निर्माणाधीन सेती कोरिडोरको प्रगति
सेती कोरिडोर अन्तर्गत बझाङ जिल्लाको प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटीको पश्चिम सेती सबस्टेसन र त्यहाँबाट कैलालीको दोदोधारा सबस्टेसनसम्म ४०० केभी १४५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य रहेको छ । यस्तै, पश्चिम सेती सबस्टेसनदेखि कन्चनपुरको दैजीस्थित प्रस्तावित न्यू अत्तरिया सबस्टेसनसम्म (६८ किलोमिटर) गरी कूल २१३ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना छ ।
ग्रिड कम्पनीका अनुसार दोदोधारासम्म निर्माण हुने १४५ किलोमिटर प्रसारण लाइन र सबस्टेसनको लागत करिब २० अर्ब रुपैयाँ अनुमान गरिएको छ । हालसम्म विस्तृत आयोजना प्रतिवेत (डिपिआर) र प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) को काम पूरा भइसकेको डबल सर्किट प्रसारण लाइन (एन माइनस १, ल(ज्ञ) मार्फत २१०० मेगावाट विद्युत् प्रवाह हुने प्रक्षेपण गरिएको छ । यस प्रसारण लाइनमा प्रवाह गर्ने लक्ष्यका साथ अहिलेसम्म करिब १००० मेगावाट विद्युत्का लागि प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेको ग्रिड कम्पनीले जनाएको छ ।
सेती कोरिडोरमा विद्युत् प्रवाह हुने प्रक्षेपित आयोजनाहरू
यस प्रसारण लाइन अन्तर्गत बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित कैलाशमा चैनपुर सबस्टेसन र डोटीको शिखर न.पा.–१० स्थित बनलेकमा पश्चिम सेती सबस्टेसन निर्माण हुनेछन् । यसअन्तर्गत निर्माण हुने चैनपुर सबस्टेसनमा चैनपुर सेती (२१० मे.वा.), बझाङ्ग अप्पर सेती (२१६ मे.वा.), सेती नदी–३ (८६ मे.वा.), सुनिगाड (२५ मे.वा.), सन स्टार (४६ मे.वा.), बडीमालिका (६० मे.वा.), न्यादी (६० मे.वा.) र मालुमेला सेती नदी पिआरओआर (६४ मे.वा.) जोडिने छ ।
यसैगरी, पश्चिम सेती सबस्टेसनमा पश्चिम सेती (७५० मे.वा.) र दार्चुला जिल्लाको बलाँच हबमा (३०० मे.वा.) विद्युत उत्पादन जम्मा भई दोदोधारा सबस्टेसनमा कुल १८२७ मेगावाट विद्युत् जम्मा हुनेछ ।
सेती कोरिडोर तथा सबस्टेसनको उपलब्धि
ग्रिड कम्पनीले सुदूरपश्चिममा उच्च क्षमताको एक प्रसारण लाइनसँगै दुई सबस्टेसनहरूको निर्माण हुनेछ । जसमा, पश्चिम सेती ४०० के.भी प्रसारण लाइन तथा चैनपुर र पश्चिम सेती सबस्टेसन रहेका छन् ।
चैनपुर सबस्टेसनः कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका– कैलाशमा प्रस्तावित चैनपुर सबस्टेसन निर्माणका लागि क्षेत्रफल १,४३,७२ (२८२–८–०–३ रोपनी) जग्गा अधिग्रहण गरिएको छ ।
पश्चिम सेती सबस्टेननः डोटीको शिखर नगरपालिका–१० स्थित बनलेकमा प्रस्तावित पश्चिम सेती सबस्टेसन निर्माणका लागि जम्मा क्षेत्रफल ७०,४२५ वर्गमिटर (१३८ रोपनी ६ आना ३ पैसा २ दाम) जग्गा अधिग्रहण गरिएको छ ।
यी सबै आयोजना आर्थिक वर्ष (आव) २०८०/८१ सम्म अध्ययन सम्पन्न गरी आव २०८१/८२ मा निर्माणको ठेक्का प्रक्रियामा जाने र आव २०८६/८७ सम्म निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।