दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले दोलखाको विगू गाउँपालिका वडा नम्बर–१ लामाबगरमा संरचना रहने गरी अघि बढेका २ जलविद्युत आयोजनाको काम रोकेको छ । जिक्यापले पत्राचार गरेपछि आयोजना स्थलमा अहिले भइरहेको भौतिक कार्य रोकिएको हो ।
जिक्यापको पत्र बुझेसँगै माथिल्लो तामाकोसीको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले अघि बढाएको रोल्वालिङ खोला र नासा हाइड्रो पावर कम्पनीले अघि बढाएको १६० मेगावाटको लाप्चे खोलाको काम २ सातादेखि रोकिएको छ । काम रोकिएपछि अहिले दुवै आयोजना स्थलमा १ सय जना भन्दा बढी कामदार कामबिहनि भएर बसेका छन् ।
जिक्यापले नयाँ प्रमुख आएपछि यी जलविद्युत आयोजनाको काम रोक्न प्रवर्द्धक कम्पनीहरूलाई पत्र काटेको थियो । जिक्याप कार्यालयले गत माग ७ गते लाप्चे खोलाको आयोजना स्थल पुग्ने पहुँच सडक तथा सुरुङ मार्गको काम रोक्न निर्देशन दिँदै पत्र पठाएको थियो ।
यस्तै, गत माघ १७ गते अप्पर तामाकोसीलाई रोल्वालिङ आयोजनाको भौतिक कार्य रोक्न भन्दै पत्र काटेको छ । ‘यस कार्यालयको अनुमति नभएसम्म तत्कालका लागि रोल्वालिङ आयोजनाको भौतिक निर्माण कार्य अगाडि नबढाउन सूचित गरिएको छ’ जिक्याप कार्यालयले अप्पर तामाकोसीलाई लेखेको पत्रमा उल्लेख छ ।
दुवै कम्पनीलाई लेखेको पत्रमा निर्माण कार्य नरोके ‘कानुनबमोजिम कारबाही हुने’ चेतावनी पनि दिइएको छ । जिक्यापले रोल्वालिङको निर्माण कार्य रोक्नुअघि आफुहरूसँग कुनै संवाद तथा छलफल नगरेको कम्पनीका उपप्रबन्धक विमल गुरुङले बताए ।
रोल्वालिङ डाइभर्सनको लागि प्रवेश मार्ग र परीक्षण सुरुङको काम डेढ वर्षदेखि हुँदै आएकोमा अहिले ठप्प हुन पुगेको छ । लामाबगरमा पक्की पुल समेत निर्माण भइरहेकोमा त्यो पनि रोकिएको छ ।
अप्पर तामाकोसीले ४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण गर्नुअघि नै रोल्वालिङको पानी मिसाएर विद्युत उत्पादन गर्ने गरी संरचना निर्माण गर्न डिजाइन तयार गरिएको थियो । सोही डिजाइनअनुसार कम्पनीले विद्युत विकास विभागबाट अनुमतिपत्र लिई वातावरणीय प्रभाव मूल्यांकनसमेत गराई निर्माणअघि गर्नु पर्ने कार्य गर्दै आएको थियो ।
मुख्य संरचनाको निर्माण सुरु गर्नुअघि अप्पर तामाकोसीले घोडेटो बाटो, पक्की पुल, पहुँच मार्ग र सुरुङ (१८० मिटर) परीक्षण कार्य गर्दै आएको गुरुङले बताए । उनका अनुसार रोल्वालिङको पानी माथिल्लो तामाकोसीको जलाशयमा मिसाउँदा अति सुख्खायाममा पनि २.७ घनमिटर प्रतिसेकेण्ड पानी जम्मा हुने र यसबाट थप एक घण्टाको लागि ४५६ मेगावाट नै पिकिङ इनर्जी (अत्यधिक माग भएका बखत आपूर्ति हुने) उत्पादन गर्न सकिनेछ ।
माथिल्लो तामाकोसीको जलाशयभन्दा उपल्लो भागमा रोल्वालिङ खोला छ । रोल्वालिङ खोलाको पानी सुरुङमार्फत फर्काएर माथिल्लो तामाकोसीको जलाशयमा खसाल्दा सुख्खा समयमा १७ करोड युनिट विद्युत थपिनुका साथै २० मेगावाट क्षमताको अर्को आयोजना समेत बन्छ ।
अति सुख्खायाममा यो खोलाबाट प्रतिसेकेण्ड २.७ घनमिटर पानी जलाशयमा आउँछ । ११.८ घनमिटर प्रतिसेकेण्ड पानीलाई टर्बाइनमा हुल्ने गरी यसको डिजाइन गरिएको छ । आयोजनाले ५.३ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नेछ ।
रोल्वालिङ जलविद्युत आयोजनाबाट वार्षिक १०५ गिगावाट घण्टा (१० करोड ५ लाख युनिट) र माथिल्लो तामाकोशीको जलाशयमा मिसिएपछिको पानीबाट सुक्खा याममा ८ महिना २१६ गिगावाट घण्टा (२१ करोड ६० लाख युनिट) थप ऊर्जा उत्पादन हुनेछ । यसबाट मात्र माथिल्लो तामाकोसीले पिकको समयमा थप एक घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्छ ।
तामाकोसीले लामाबगरबाट रिखु गाउँ जाने घोडेटो बाटो बनाइरहेको छ । माथिल्लो लामाबगरमा एउटा पक्की पुल (६० मिटर) पनि बनाउन सुरु गरेको थियो । पक्की पुल निर्माण हुँदा रोल्वालिङ पुग्ने संरचना तयार हुनुका साथै त्यस भेगमा बसोबास गर्ने स्थानीयबासी पनि लाभान्वित हुनेछ भने उत्तर दक्षिण राजमार्ग र लप्ची जानका लागि पनि उपयोग हुनेछ ।
नासा हाइड्रोपावरले पनि १६० मेगावाटको लाप्चे खोला जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गरी पहुँच सडक तथा सुरुङ मार्गको काम सुरु गरेको हो । सरकारले एक दशकदेखि उत्तर–दक्षिण राजमार्ग अन्तर्गत लामाबगर–चीन सिमाना जोड्ने सडक र लामाबगरमा १ किलोमिटर सुरुङमार्ग निर्माणको प्रस्ताव गरे पनि काम नभएपछि जलविद्युत प्रवर्द्धकबाट सरकारकै डिजाइन र आफ्नो इआइए अनुसार सुरुङमार्ग र प्रवेशमार्ग निर्माणको काम थालनी भएको हो ।
सुरुङमार्ग ७० मिटर पूरा भएको छ भने प्रवेशमार्ग २० किलोमिटर मध्ये ३ किलोमिटरको ट्रयाक खोलिएको छ । लाप्चे खोलामा मात्र निजी क्षेत्रका लाप्चे खोला, माथिल्लो लाप्चे, जुम खोला सहित ३ सय मेगावाट बढीका आधा दर्जन जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । यी आयोजनाले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिइसकेको अवस्थामा पनि प्रवेश मार्ग तयार हुन नसकेकाले अहिलेसम्म संरचना निर्माणको काम अघि बढ्न सकेको छैन ।
जिक्याप प्रमुख मधु क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा रोक लगाउने प्रावधान भएको ऐन तथा नियमावली तथा निर्देशिकालाई उद्धृत गरिएको छैन । उनले आफ्नो संरक्षण क्षेत्र भित्र रहेका सबै आयोजनालाई आफ्नो प्रगति विवरण सहित कागजात दिएर सम्पर्कमा आउन आग्रह गरेको बताए । सहजीकरणका लागि पत्र पठाए पनि आफु आयोजनाको कामै रोक्ने गरी विकास विरोधी नभएको उनले बताए ।
पत्रचार गरेर जलविद्युत आयोजनाको काममा रोक्ने जिक्याप कालिञ्चोकमा सिन्धुपाल्चोक क्षेत्रबाट व्यापक वन फडानी गरी पहिरो चल्ने गरी सडक निर्माण गर्दा भने रमिते बनेको छ । बागमति प्रदेशको पूर्वाधार कार्यालय र स्थानीय तहले जंगलमा ३० किलोमिटर बढी जंगलमा डोजर लगाउँदा स्थानीयले विरोध गर्न थालेपछि झारा टार्ने खालको पत्र पठाएर पन्छिन खोजेको छ ।
घोर्थलीदेखि कालिञ्चोकसम्मको सडकको वातावरणीय अध्ययन समेत भएको छैन । यसबाट जिक्यापले जलविद्युत आयोजनालाई अप्ठेरो पार्ने, असहयोग गर्ने नीति लिएको देखिन्छ ।
उसले गत मंसिर १४ गते पनि माथिल्लो तामाकोसीलाई पत्र लेखी आर्थिक वर्ष २०७४ देखि २०७६/७७ सम्मको नदीजन्य पदार्थ उपयोगबापतको पैसा गौरीशंकर आयोजना कार्यालयमा दाखिला गरे/नगरेको विवरण माग गरेको थियो । माथिल्लो तामाकोसीले तत्कालीन जिल्ला विकास समितिसँग स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५(१) बमोजिम सम्झौता गरी आव २०७३/७४ सम्म वार्षिक ५० लाख रुपैयाँ भुक्तानी गरेको थियो ।