विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी कोसी कोरिडोर प्रसारण लाइन आयोजना निर्माणमा धरान उप–महानगरपालिकाका स्थानीयले अवरोध गरेपछि काम अगाडि बढ्न सकेको छैन । लामो समयदेखि  ऐलानी जग्गाको समेत मुआब्जा मागेपछि काम रोकिएको हो ।

उप–महानगरपालिकाको विष्णुपादुकामा एपी ५६÷१ नम्बर टावरमा पर्ने ठाउँमा ऐलानी जग्गाको मुआब्जा माग गर्दै लामो समयदेखि अवरोध भइरहेको आयोजना प्रमुख राजन ढकालले बताए । संखुवासभाको त्रिशूलेमा पनि स्थानीयले असन्तुष्टि जनाउँदै टावर खडा गर्न र तार तान्न दिएका छैनन् । त्रिशूलेमा एक हप्ताको मात्र काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

‘ऐलानी जग्गाको मुआब्जाका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको छ, ‘ढकालले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी नै छ । यसपछि काम अगाडि बढाउन सकिएला ।’

निर्माणको अन्तिम चरणमा पुगेको प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्डमा ३२२ वटा टावरको जग खन्ने काम (९८.७७ प्रतिशत) पूरा भइसकेको छ । आयोजनाका अनुसार ३१९ वटा टावर खडा भइसकेका छन् । तार तान्ने काम भने ९३.५८ प्रतिशत पूरा भएको ढकालले बताए ।

सोही खण्डअन्तर्गत निर्माणाधीन ३ वटा सबस्टेसनको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । तुम्लिङटार र बानेश्वर सबस्टेसनको निर्माण पूरा भई परीक्षणको चरणमा छन् । उता वसन्तपुर सबस्टेसनको ५० प्रतिशत सिभिल संरचनाको काम सकिएको छ । यो खण्डको काम ३ महिनाभित्र पूरा गर्ने आयोजनाको लक्ष्य छ ।

यस खण्डमा कोरोना (कोभिड–१९) महामारीको असरले कामदार अभावका कारण कामले लक्ष्यअनुसार गति लिन नसकेको उनले बताए । ‘प्रसारण लाइनको कामका लागि नेपालमा दक्ष कामदार नभएकाले भारतबाट ल्याउनुपर्ने बाध्यता हुँदा निर्माण अवधि लम्बिएको हो,’ उनले भने ।

कोरिडोरको दोस्रो खण्ड ढुंगेसाँघु–वसन्तपुर क्षेत्रमा ८५ वटा टावरको जग तयार भइसकेको छ । यस खण्डमा १३२ वटा टावर निर्माण हुनेछन् । ढुंगेसाँघु सबस्टेसनको पनि ५० प्रतिशत काम पूूरा भएको छ । ढकालका अनुसार ३५ किलोमिटर लामो यस खण्डमा कोरोना महामारीको बढी असर परेको छ ।

भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि कोसी कोरिडोर निर्माण अगाडि बढाइएको हो । आयोजनामा भारतीय एक्जिम बैकको सहुलियत ऋणमा छ ।

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसके आयोजनाबाट उत्पादित विद्युत खेर जानेछ ।

२०७४ कात्तिकबाट निर्माण सुरु भएको प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड १०५ किलोमिटर र ढुङ्गेसाँघु–वसन्तपुर ३५ किलोमिटर लामो छ । यस प्रसारण लाइनमार्फत २ हजार मेगावाट विद्युत् प्रणालीमा जोड्न सकिने अनुमान गरिएको छ । प्रसारण लाइन तथा सबस्टेसन पूरा गर्न ९ करोड अमेरिकी डलर (करिब ९ अर्ब ७२ करोड रुपैयाँ ) खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit