विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बहुप्रतिक्षित चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको काम पूरा भएको सार्वजनिक गरे पनि त्यो सञ्चालनमा आउन अझै एक साता लाग्ने भएको छ । केही खण्डको काम अझै बाँकी रहेको र ‘नो लोड’ चार्जमा समय लाग्ने हुँदा ढिलो सञ्चालनमा आउने देखिएको हो ।

प्राधिकरणले गत सोमबार (कात्तिक १९ गते) प्रसारण लाइनको सम्पूर्ण काम पूरा भएको र केही दिनभित्र १ सय ११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेनको बिजुली जोडिने कुरा सार्वजनिक गरेको थियो । यद्यपि, उक्त प्रसारण लाइन सञ्चालनमा आउन वा बिजुली प्रवाह हुने गरी पूर्णतः पूरा भइनसकेको प्राधिकरणकै उच्च अधिकारीहरूले बताएका छन् ।

यसबारे प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापासँग जानकारी लिँदा उनले केही खण्डमा मसिना काम बाँकी रहेको तर त्यो एक–दुई दिनमा पूरा गरी प्रसारण लाइन सञ्चालनमा ल्याउन सकिने बताए । ‘लाइन तयार भएपछि ४८ घन्टा ट्रान्सफर्मर नो लोडमा चार्ज गर्नुपर्छ, त्यो चार्ज गर्न निरन्तर ४८ घण्टा नै चार्ज गर्न सकिँदैन, बीच–बीचमा रोक्नुपर्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘नो लोडको काम ७२ घण्टा पनि लाग्न सक्छ, त्यसपछि मात्र रसुवागढी वा सान्जेनलाई ब्याक चार्ज दिन सकिन्छ ।’

सञ्चालनमा आउने गरी प्रसारण लाइनको काम सकिएको कुरा सार्वजनिक गरियो । यो गलत जानकारी भएन र भन्ने प्रश्नको जवाफमा थापाले भने, ‘काम सकिएकै हो, गलत जानकारी भन्न मिल्दैन तर केही सामान्य काम बाँकी छन् । ३–४ दिनभित्र त्यो पूरा गरेर हामी ती आयोजनाका लागि ब्याक चार्ज दिन सक्छौँ ।

यदि, एक साताभित्र प्रसारण लाइनको ‘नो लोड चार्ज’ पूरा भई रसुवागढी वा सान्जेनका लागि ‘ब्याक चार्ज’ दिने अवस्था बनेको खण्डमा पनि ती आयोजनाबाट बिजुली उत्पादनको चरणमा पुग्न कम्तीमा १५ दिन लाग्ने देखिन्छ । यसको आधारमा रसुवागढी र सान्जेनबाट विद्युत् उत्पादन शुरू हुन अझै एक महिना कुर्नपर्ने देखिएको छ ।

उता, रसुवागढीले सम्पूर्ण काम पूरा गरेर विगत ९ महिनादेखि ‘ब्याक चार्ज’का लागि पर्खेर बसेको छ । इलेक्ट्रो–मेकानिकल उपकरणको परीक्षणका लागि प्राधिकरणले चिलिमे हब सबस्टेसनमार्फत २०८० माघ २१ गतेदेखि नै १३२ केभी लाइनबाट विद्युत् (ब्याक चार्ज) उपलब्ध गराउनुपर्ने ठेक्का सम्झौता र ग्रीड कनेक्सन एग्रिमेन्टको शर्त थियो तर ९ महिना बितिसक्दा समेत विद्युत् उपलब्ध नहुँदा परीक्षणको काम अलपत्र परेको ठेकेदारले गुनासो गर्दै आएको छ ।

आयोजनाको सिभिल संरचनाको सम्पूर्ण परीक्षण सकेर २०८० माघ २१ गते नै इलेक्ट्रो मेकानिक परीक्षणका लागि ‘मेन इन्लेट भल्ब’मा ‘फुल हेड’ पानी उपलब्ध गराइएको थियो । त्यतिबेलै विद्युत् पाएको भए आयोजनाको इलेक्ट्रो मेकानिकल संरचनाको परीक्षणसमेत सकिने थियो तर ती उपकरणको आंशिक परीक्षण भए पनि पूर्ण परीक्षण भने विद्युत् अभावका कारण लामो समयदेखि अलपत्र परेको आयोजनाले गुनासो गर्दै आएको छ ।

‘पटक–पटक प्रसारण लाइन पूरा हुने भनी हामीलाई गलत जानकारी दिइयो तर उहाँहरूले भने अनुसार कहिल्यै काम हुन सकेन,’ रसुवागढीका एक इन्जिनियरले भने, ‘अहिले कर्मचारी, प्राविधिक तथा श्रमिक खेर गएको र समय बढेकोले लागत समेत बढ्ने भन्दै ठेकेदार कम्पनीले थप रकम र समयको माग दाबी गरेको छ ।’

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणले अहिलेको अवस्थासम्म आइपुग्न करिब ७ वर्ष समय व्यतित गरिसकेको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणको काम चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का भई सोही वर्षको पुसदेखि काम शुरू भएको थियो । यसको आधारमा ६ वर्ष १० महिनामा निर्माण पूरा भएको देखिन्छ । यसको दूरी रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीस्थित त्रिशूली–थ्री ‘बी’ हब सबस्टेसनसम्म २८ किलोमिटर रहेको छ ।

यस प्रसारण लाइनअन्तर्गत  चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । यद्यपि, प्राधिकरणले भने जस्तै मल्टी सर्किटको काम पूरा भएकै छैन । यो लाइन कोरियन कम्पनीहरूको अगुवाईमा निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ का लागि आवश्यक रहेको र यसका लागि अझै २–३ वर्ष समय रहेको थापाले बताए ।

थापाले माथिल्लो त्रिशूली–१, पूरा हुन २–३ वर्ष लाग्ने बताए पनि अबको डेढ वर्षभित्र यो आयोजनाका सबै काम सकिने कोरियन अधिकारीहरूले जानकारी दिएका छन् । माथिल्लो त्रिशूली–१ ले  मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने उल्लेख छ ।

चिलिमे–त्रिशूली प्रसारण लाइनको अनुमानित लागत ३ अर्ब  ६२ करोड ८९ लाख अमेरिकी डलर रहेकोमा यसमा सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी) को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३