काठमाडाैं । दोलखा जिल्ला, विगु गाउँपालिका १, लामाबगधरको सुन्दर बस्तीमा निर्माणको अन्तिम चरणमा पुगी विद्युत् उत्पादन हुनै लागेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको एवं राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजना हो । आयोजनाबाट जति चाँडो सकिन्छ त्यति नै चाँडो विद्युत् उत्पादन गर्न कसरत भइरहेको देखिन्छ । विविध कारणले निर्माणमा केही ढिलाइ भएको महसुस भए पनि पछिल्लो समयमा अझ केही महिनामा सकिने काम एकै महिनामा सम्पन्न भएको अनुभूति भएको छ ।
कर्मचारीको दौडधूप, ठेकेदार कम्पनीको सक्रियता एवं आयोजनाको बाँधस्थल एवम् बालुवा थिग्रयाउने पोखरी तथा यसमा जडान गरिएका गेट, स्टपलगलगायत साना ठूला सिभिल संरचनाहरू एवं हाइड्रोमेकानिकल उपकरणहरूको सफलतापूर्वक परीक्षण भइरहँदा आम नेपालीमा आयोजनाबाट अब चाँडै नै विजुली निक्लने कुरामा ढुक्क हुने वातावरण बनेको छ ।
यो आयोजना सम्पन्न हुँदै गर्दा लगानीकर्ता, सेयरधनी एवं सम्पूर्ण नेपालीमा उत्साह थपिएको छ । पछिल्लो समयमा आम नेपालीले लोडसेडिङबाट केही मुक्त भएको महसुस गरे तापनि देशको परिस्थतिले कोल्टो फेर्दै जाँदा त्यो अवस्था नआउला भन्न सकिन्न । तर माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि नेपालमा जस्तोसुकै परिस्थितिमा पनि लोडसेडिङ हुनेछैन भन्ने कुरामा सबैले ढुक्क हुन सकिनेछ ।
यो आयोजनाले राष्ट्रिय गौरव मात्र बोकेको छैन । आयोजनामा काम गर्ने हरेक कर्मचारी, लगानीकर्ता एवं नेपालीको खुसी, सद्भावसमेत बोकेको छ । यसले प्रभावित क्षेत्रका स्थानीयलाई विभिन्न अवसर दिएको छ । यसले आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । यसले विद्युत् उत्पादन एवं वितरण मात्र गर्दैन कि समाजमा धेरै सक्रिय युवालाई रोजगारी दिएर सामाजिक जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान गरेको छ । एकातिर ठेकेदार कम्पनीमा आवश्यक परेको दक्ष एवं अर्धदक्ष सबै प्रकारका व्यक्तिहरूले श्रम गरेर आफ्नो आर्थिक उन्नति गर्ने अवसर पाएका छन् भने अर्कोतिर यहाँ भएका सामूदायिक एवं सामाजिक उत्तरदायित्वअन्तर्गत खानेपानी, विद्युत्, सडक निर्माण, तालिमलगायतका कार्यक्रमहरू भएका छन् ।
हाल आयोजनाको अन्तिम चरणमा हुने फिनिसिङ र सरसफाइको काम सकेर सुरुङ मार्ग तथा पेनस्टक पाइपमा पानी हाली सिभिल एवम् इलेक्ट्रोमेकानिकल संरचना र उपकरणहरूको परीक्षण भइरहेको छ । राष्ट्रिय बजेटको ठूलै हिस्सा आगटेको हुँदा चाँडै विद्युत् निकाल्ने नाममा गुणस्तरमा ध्यान नदिई काम गर्दा दीर्घकालीन असर पर्न सक्ने हुनाले यसको सबै संरचनाहरूको दक्षतापूर्वक परीक्षण गर्नुपर्छ । करिब १० वर्षदेखि निर्माणाधीन यो आयोजनाको निर्माण ढिलो भएको भन्ने जनगुनासो आए पनि यसको ड्यामसाइट, पानी हाल्ने सुरुङ मार्ग, विद्युत गृह, पेनस्टक पाइपको वेल्डिङ, सर्ज टनेल, पानी निकास हुने टलेरेस तथा विभिन्न संरचनाहरूको निर्माण द्रुतगतिमै भएको महसुस गर्न सकिन्छ ।
आयोजना बन्छ कि बन्दैन भन्ने द्विविधा भइरहेको अवस्था गुजार्दै आज निर्माण सम्पन्न भई विद्युत् निकाल्न तम्तयार भएको अवस्था हेर्दा यसलाई एक सफल आयोजनाको रूपमा लिनुपर्छ । वि.सं. २०७२ को भूकम्पले गर्दा करिब डेढ वर्ष निर्माणले गति लिन सकेन । त्यस्तै अघोषित नाकाबन्दी, खाडीचौर चरिकोट सडकखण्डको समस्या तथा इन्धनको अभावले समेत आयोजनालाई मार पारेकै थियो । विभिन्न आरोह अवरोह पार गर्दै आयोजनाले अन्तिम रूप लिएको छ ।
नेपालका जलविद्युत् आयोजनाहरूमध्ये यो हालसम्मकै नेपालको सबैभन्दा ठूलो, प्रभावकारी एवं गौरवशाली आयोजना हो । नेपाल विद्युत् प्राविधकरणको भगिनी संस्थाले यो आयोजनाको निर्माण गरेको हुँदा आयोजनाको दीर्घकालीन व्यवस्थापन र प्रबन्धनमा प्राधिकरणलाई समेत चुनौती थपिएको छ । बाँधस्थल, बालुवा थिग्रयाउने पोखरी एवं विद्युत् गृहमा जडान गरिएका अत्याधुनिक मेसिनरी संरचनाहरूको संरक्षण, सम्वर्द्धन तथा दिगोपन दिन सानोतिनो प्रयास एवं निम्न दक्ष जनशक्तिले सम्भव हुँदैन । उच्च तथा अनुभवी दक्ष जनशक्तिको आवश्यकता पर्छ । आयोजना सकिँदै जाँदा यसको दीर्घकाकालीन व्यवस्थापनलाई कसरी प्रभावकारी पार्न सकिन्छ भन्ने विषयमा छलफल तथा विचार विमर्श गरिहाल्नुपर्ने देखिएको छ ।
४५६ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि छ वटा टर्वाइन जडान गरिएका छन् । एउटा टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ । नेपालमा रहेका अन्य विद्युत् गृह, जडान भएका टर्वाइन तथा उत्पादन क्षमता हेर्दा यस आयोजनाका टर्वाइनहरू अत्यन्तै ठूला एवं उच्च क्षमताका छन् । यसको दीर्घकालीन व्यवस्थापनका लागि उच्चकोट्टीको दक्षता भएका व्यवस्थापकहरूको आवश्यकता पर्छ ।
प्राधिकरणले यसको प्रबन्धक एवं व्यवस्थापकको निश्चित मापदण्ड तथा योग्यता तोक्नुपर्छ । यसका लागि खुला प्रतिस्पर्धा गरेर अनुभवी र सक्षम व्यवस्थापक भर्ना गर्नुपर्छ । अनुभवहीन, राजनीतिक भनसुन तथा चिनेजानेको भरमा यस्तो महत्त्वपूर्ण संरचनाहरूको व्यवस्थापन जिम्मा दिनु हुँदैन । राज्यको ठूलै धनराशि परेको यो आयोजनामा आम नेपालीको लगाव र सद्भाव छ । अथक प्रयास र तपस्याबाट बनेको यो आयोजनाको दीर्घकालीन व्यवस्थापनका सम्बन्धमा सम्बन्धित निकायले तत्कालैदेखि सोच्नुपर्छ ।
(लेखक माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत छन्)
मित्रमणि पाेखरेल नेपाल विद्युत् प्राधिकरणका वरिष्ठ अधिकृत हुन् ।